देशमा लगानी गरेर भावी सन्ततिको लागि ढोका खोल्न उद्योगमन्त्री जोशीको अनुरोध
प्रकाशित २०७४ जेठ १२ शुक्रबार
705
Shares
वासिङ्गटन डिसी। उद्योगमन्त्री नविन्द्रराज जोशीले देशमा आर्थिक समृद्धिको संभावनाको ढोका खुलेको भन्दै प्रवासमा रहेका नेपालीहरुले समेत देशमा लगानी गर्न अनुरोध गरेकाछन्। जनसम्पर्क समिति अमेरिकाले वुधवार न्यूयोर्कमा आयोजना गरेको अन्र्तक्रियालाई सम्बोधन गर्दे मन्त्री जोशीले देशसँगको सम्बन्ध स्थापित गर्ने प्रयासमा हातेमालो गर्न प्रवासीहरुलाई अनुरोध गरेका हुन्। मन्त्री जोशीले भने – हामी नेपालमा लगानीको वातावरण बनाउँदैछौं, विदेशमा वस्नेहरुलाई अवसर प्रदान गरेर तपाईहरुलाई सहयात्रामा सहभागी हुनेछ भन्ने विश्वास रहेको छ।
मन्त्री जोशीको भनाई थियो तपाईहरु पहिलो पुस्ताले मेहनत गरेर आर्जन गरेको सीप र पूँजी मातृभूमिमा परिचालन गर्नु भयो भने तपाईहरुको दोश्रो पुस्ताका सन्ततिलाई पनि मातृभूमिसँग जोडने सेतुको रुपमा यसले काम गर्नेछ। मन्त्री जोशीले लगानी सम्मेलनको आयोजना गरेर सवै राजनीतिक दलको प्रतिवद्धतामा देशमा स्वदेशी पूँजीको परिचालन र वैदेशिक लगानीको मार्ग प्रशस्त गर्न सफल भएको बताए।
मन्त्री जोशीले औषधि उद्योगको सञ्चालन गरेर अत्यावश्यक औषधिको उत्पादन थालनी गरेको र आगामी दिनमा कपडा उद्योग पनि सञ्चालन गरेर देशमा औद्योगिक वातावरणको अभियान थाल्न आफूले प्रयास गरेको जानकारी दिए। जनसम्पर्क समिति न्यूयोर्क च्याप्टरका अध्यक्ष रोशन ढुंगानाको सभापतित्वमा भएको कार्यक्रममा जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले राजनीतिक स्थायित्व पछि अव आर्थिक समृद्धमा सवैको सहकार्य आवश्यक रहेको भन्दै आफू त्यसको लागि सदैव तत्पर रहने बताए।