दिगम्बर झा भन्छन् –कसैले केही डिमाण्ड गरेको थिएन एक्कासी आक्रमण भयो
प्रकाशित २०७४ जेठ २९ सोमबार
246
Shares
काठमाडौँ । नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले आफूमाथिको आक्रामण प्रयास आफ्नो सोचभन्दा बाहिरको भएको बताएका छन् ।
हाम्राकुरासंगको कुराकानीमा अध्यक्ष झाले आइतबार साँझ ६ बजे अनामनगरमा अज्ञात समूहले गरेको आक्रमणको प्रयासबारे केही बुझ्नै नसकेको प्रतिक्रिया दिए ।
साँझ ६ बजेतिर कार्यालयबाट घर फर्कँदै गर्दा मदन भण्डारी मेमोरियल कलेज नजिक मोटरसाइकलमा आएका केही युवाले उनी सवार बा ६ च ५६१६ को गाडीमा आक्रमण गरेका थिए ।
अध्यक्ष झाले भने, ‘म मोवाइलमा इन्टरनेट खोलेर समाचारहरु पढ्दै थिएँ, एक्कासी केही युवाले म सवार गाडीमा रडले प्रहार गरे, पहिले त म अलमलमा परें, तर आक्रामण भएको थाहा भएपछि चालकलाई गाडी कुँदाउन लगाएँ ।’
उनले अगाडि थपे, ‘तीन जनाले गाडी तोडफोड गरे, तीन वटा मोटरसाइकलमा पाँच जना आएजस्तो लाग्छ ।’
उनले भने, ‘सवा ६ बजेतिरै प्रहरी आएको थियो, अहिलेसम्म (सोमबार बिहान ८ः१५ सम्म) कसैलाई पक्राउ गरेको केही जानकारी दिएको छैन ।’
उनले दुःखी हुँदै भने, ‘मेरो स्वभाव झगडा गर्दै हिंड्ने होइन, म रुखो पनि बोल्दिन, कसैले केही डिमाण्ड पनि गरेको थिएन, एक्कासी आक्रमण भयो ।’