arrow

आतंकवादको नाममा कतारमाथि लगाइएको प्रतिबन्धले २२ मा हुने बिश्वकपमा असर पार्ला ?

logo
कल्की अवतार, 
प्रकाशित २०७४ असार १ बिहिबार
qatar.jpg

काठमाडौं। अहिले कतारमाथि साउदी अरेबिया, इजिप्ट, बहराइन र संयुक्त अरब इमिरेट्सले कतारमाथि प्रतिबन्ध लगाइरहेका छन्। एक साताअघि गरिएको यो निर्णयमा थप तीन मुलुकहरुले पनि समर्थन जनाएका थिए। पछिल्लो समय आर्थिक हिसाबमा उल्लेख्य सुधार गर्न सफल रहेको मुलुकमाथि आतंकवादलाई सहयोग गरेको आरोपमा उनीहरुले  प्रतिबन्धको निर्णय गरेका हुन्।

प्रतिबन्ध लगाइएपछि कतारले यो प्रतिबन्धलाई कुनै आधारमा रहेर लगाइएको प्रतिबनध नरहेको बताएको छ र आफूले आतंकवाद विस्तारको लागि कुनै सहयोग नगरेको स्पष्टीकरण दिइसकेको छ। तर कतारमाथि लगाइएको प्रतिबन्ध भने जारी रहने बताइएको छ । कतारमाथि प्रतिबन्ध लगाउने मध्येको प्रमुख मुलुक साउदी अरेबिया हो । साउदी अरेबियाको कतारमाथिको प्रतिबन्ध अन्य मुलुकहरुले लगाएको प्रतिब्न्ध भन्दा केही प्रभावकारी हुने भएकोले उसले कतारमाथि सबैजसो आर्थिक क्षेत्रमा प्रतिबन्ध लगाएको छ। कतारको खाद्यान्न आयातको एक महत्वपूर्ण स्रोत रहेको साउदी अरेबियाले कतार निर्यात हुने सबै खाद्यान्न निर्यातमा रोक लगाएको छ भने आफ्नो जमिन, पानी र हवाई क्षेत्रको प्रयोगमा पनि प्रतिबन्ध लगाएको छ।

साउदी अरेबियाले लगाएको प्रतिबन्धको कारण कतारको कम्पनी कतार एयरवेज पनि समस्यामा पर्नसक्ने बताइएको छ । अरेबियाको प्रतिबन्धको कारण कतारको संरचना निर्माणमा पनि समस्या पर्नसक्ने देखिएको छ । साउदीले कतार निर्यात हुने संरचनाका सानमग्रीहरुमा पनि प्रतिबन्ध लगाइएको कारण कतारले निर्माण गर्दै गरेको १६ रंगशालाको काम प्रभावित हुनसक्ने देखिएको छ ।

कतारका मानिसहरुलाई आफ्नो मुलुकमा कसोबास गर्न र आफ्ना नागरिकहरुलाई कतारमा बस्नका लागि पनि साउदीले प्रतिबन्ध लगाएको थियो तर पछिल्लो समय भने उसले आफ्ना नागरिकहरुलाई कतारमा बस्ने अनुमति प्रदान गर्ने विषयमा साउदी केही लचिलो देखिएको छ। यसैगरी अन्य मुलुकहरुले पनि यसै किसिमको प्रतिबन्धको निर्णय गरेका छन् तर इजिप्टले भने आफ्ना कतारमा काम गरिरहेका मानिसहरुमाथि भने प्रतिबन्ध लगाएको छैन।

कतारमाथि लगाइएको प्रतिबन्धको एक कारण आतंकवादलाई सहयोग गरेको रहेको बताइएको छ। कतारले तालिबान र अलकायदाजस्ता संगठनहरुलाई सहयोग गरेको बताइएको छ। साथै कतारको इरानसँगको राम्रो सम्बन्धको कारण पनि कतारमाथि प्रतिबन्ध लगाउने निर्णय गरिएको बताइएको छ। त्यसबाहेकका अन्य केही गौण कारणहरु पनि रहेका छन् । यसअघि कतारी राजा इरानको भ्रमणमा जाँदा इजिप्टका राष्ट्रप्रमुखलाई अपमान हुने किसिमको व्यवहार गरेको कारण पनि इजिप्ट कतारसँग रुष्ट रहेको बताइएको छ। यद्यपि कतारी राजाले यसमा आफ्नो कुनै बदनियत नरहेको स्पष्टीकरण दिइसकेका छन्।

कतारमाथिको अर्को महत्वपूर्ण कारणको रुपमा विश्वकप आयोजनाको तयारी रहेको छ । कतारले सन् २०२२ मा विश्वकप फुटकल आयोजना गर्ने तयारी गरिरहेको छ । जसको लागि अहिले कतार १६ ओटा रंगशाला निर्माणमा तीव्र गतिमा अघि बढिरहेको छ । यसको साथै होटल, मनोरन्जन स्थल, बाटो  लगायतमा ठुलो लगानी गर्दै कतारले आफ्नो स्वरुप नै बदल्दै लगेको छ । बिश्वपकलाई यस क्षेत्रको प्रतिष्ठाको रुपमा लिएको र अरबौ डलर कारोबार हुने हुदा यो सफल भएमा छिमेकी देशहरुलाई उछिन्ने भय पनि रहेको कतिपय मिडियाले लेख्दै आएका छन्।

बिश्वपकलाई प्रभावित पार्नका लागि पनि साउदी अरेबियाले कतारमाथि प्रतिबन्धको निर्णय गरेको हो। साउदी अरेबियाले कतारमा विश्वकप आयोजना गर्ने विषयमा यसअघि पनि फरक धारणा राख्दै आएको थियो। विश्वकप आयोजना गर्न नदिनको लागि साउदी अरेबियाले पछिल्लो समय यस किसिमको कदम चालेको हो। बिश्वकप गर्न दिने या नदिने भन्नेमा पश्चिमा कतिपय राष्ट्रहरु बिचमा समेत मतभेद कायम नै रहेको छ। त्यस्तो कुनै अप्रिय निर्णय नभए पनि यो कार्यले फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता बिश्वकप आयोजना गर्ने कतारको यो गौरवशाली अवसरमा केही न केही ठेस नलाग्ला भन्न सकिन्न।

अर्को तर्फ बिश्वको सबैभन्दा शक्तिशाली देश अमेरिकाले यो बियषमा ढुलमुले नीति लिएको छ। उसले साउदी अरवलाई हतियार बेच्ने र कतारलाई लडाकु बिमान बेच्ने कुराले यो ठाउँमा अमेरिका शान्ति चाहदैन भन्ने प्रष्ट भएको छ।

कतार, मध्यपूर्वको एक सानो मुलुक अहिले विश्वको सबैभन्दा बढी प्रतिव्यक्ति आय भएको मुलुक बन्न पुगेको छ। एसिया र युरोपको एक ट्रान्जिट प्वाइन्ट दोहा बन्न पुगेको छ भने विश्वका ठूला कम्पनीहरु दोहामा आफ्नो व्यापार विस्तारका लागि लालायित हुने गर्छन्। केही समयअघि सम्म तेलको व्यापार नै कतारको सबैभन्दा महत्वपूर्ण व्यापार रहेको थियो तर अहिले तेल तथा ग्यासको व्यापार कमजोर भए पनि उसको समग्र अर्थतन्त्रमा भने खासै असर नगर्ने भएको कारण तेलको मूल्यमा आएको गिरावटसँगै कमजोर बनेको साउदी अरेबिया कतारप्रति ईष्र्या उत्पन्न भएको हुनसक्छ। अहिले विश्वकप पनि सफलरुपमा आयोजना गर्न सकेको खण्डमा उसलाई रोक्न नसकिने स्पष्ट रहेको कारण विश्वकप नै आयोजना गर्न नदिने योजना अरब मुलुकहरुको रहेको हो भन्ने कुरालाई नकार्न सकिन्न।

त्यसका साथै अहिले कतारमाथि प्रतिबन्ध लगाउने मुलुकहरुमा साउदी अरेबियाका सहयोगी मुलुकहरु रहेका छन्। साउदी अरेबिया सबै अरब मुलुकहरुमा आफ्नो प्रभुत्व स्थापना होस् भन्ने चाहन्छ। प्रतिबन्ध लगाउने अन्य मुलुकहरु पनि साउदीसँग सम्बन्ध बिगार्न चाहँदैनन्। यस्तोमा कतारले साउदीको इच्छाविपरीत विश्वकप आयोजना गर्ने र अन्य मुलुकसँग सम्बन्ध विस्तारको योजना ल्याएपछि साउदी रुष्ट भएको हो। यसअघि पनि साउदी धेरैजसो मामिलामा इरानको विपक्षमा उभिने गरेको छ। यस्तोमा इरानसँग कतारले सम्बन्ध विस्तार गरेको रोष प्रतिबन्धमार्फत् प्रकट गरेको हो।

प्रतिबन्ध आफैंमा नराम्रो कुरा हो । सामान्यतया आर्थिक प्रतिबन्ध तथा पूर्ण प्रतिबन्ध कुनै गम्भीर गल्ती गरेको हुनुपर्छ । तर अहिलेको प्रतिबन्धको लागि लगाइएको आरोपको प्रमाण भने अहिलेसम्म भेटिएको छैन  र कतारले पनि यो आरोप स्वीकार गरेको छैन । प्रतिबन्ध लगाउने निर्णय गरेको एक साताभन्दा बढी समय भइरहेको अवस्थामा कतारले प्रतिबन्धको निर्णयले खासै ठूलो असर नगर्ने र त्यसबाट पर्नसक्ने प्रभावको लागि अहिले कतारले आफ्नो तर्फबाट काम गरिरहेको बताएको छ।

अहिले कतारमा लामो समयसम्मका लागि पुग्ने खाद्यान्न भण्डारण रहेको बताएको कतारका लागि इरान र टर्कीले उल्लेख्य मात्रामा खाद्यान्न निर्यात गरेर सहयोग गरिरहेका छन्। यसैबीच कतारमा दुग्ध उत्पादनको समस्या नआओस् भन्नका लागि हवाई विमानबाट चार हजार गाईहरु ल्याउने तयारी पनि भइरहेको छ। यसले पनि कतारले साम, दाम दण्ड, भेद लगाएर प्रतिबन्धको सामना गर्ने रणनीति लिएको स्पष्ट देखिन्छ।

कतारमाथि प्रतिबन्ध लगाएसँगै साउदीले आफ्नो खाद्यान्न कतार निर्यातमा प्रतिबन्ध लगाएको अवस्थामा इरान र टर्कीले कतारलाई महत्वपूर्ण सहयोग गर्नुले साउदीको अर्थतन्त्रमा पनि त्यसको नकारात्मक असर पर्नसक्ने देखिन्छ । यसले साउदीको व्यापारघाटा बढाउनसक्ने र यसले आर्थिक क्षेत्र थप कमजोर हुनसक्ने देखिन्छ।

यदि कतारलाई पनि नेपालसँग तुलना गर्ने हो भने साउदी कतारको लागि भारत जस्तो मुलुक हो। भारत आफ्नो स्वार्थ पूरा गर्नको लागि नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्नेदेखि लिएर नाकाबन्दी लगाउनेसम्मको हर्कत गर्ने गर्छ। त्यस्तै स्वभाव साउदीको पनि देखिन्छ। साउदीको लागि अहिले कतारमाथि प्रतिबन्ध लगाउनु भन्दा पनि उसबाट पाठ सिकेर आफ्नो अर्थतन्त्रमा पनि सुधार गर्नु साउदीको लागि राम्रो हुने देखिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ