arrow

आत्मनिर्भर हुन्छौं कसरी ?

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
737074239.jpeg
राजु पौडेल । समस्त मानव जातिको वाल्य एवं यौवनास्था प्रिय अनि अविस्मरणीय हुँदोरहेछ । कर्मको शिलशिलामा देश विदेशमा सयर गर्दा समेत यी दुई काल घरीघरी वल्झिन्थे  । राष्ट्रिय राजनीतिमा उतारचढाव आउँदा समेत यीनै काल सजीव बन्छन् । छिमेकी मित्र राष्ट्र भारतले यसभन्दा पहिला लगाएको घोषित नाकाबन्दीको समयावधीमा हामी वाल्यकालको उत्तर्राधमा थियौं । राजनीतिक परिवर्तनको सन्दर्भ गाउँगाउँसम्म पुगेको थियो । बाँसको ढुंग्रोको एकापट्टी पातलो प्लास्टिक लगाउन्थ्यौँ । जसको अर्कोपट्टीबाट बोल्दा आवाज तुलनात्मक रुपमा चर्को सुनिन्थ्यो । त्यो समयमा त्यहिँ हाम्रो माईक । गाउँघरमा बर–पीपलका प्रशस्तै चौपारी हुन्थे । 
 
चौपारीमा जान्थ्यौं र पालैपालो प्रजातन्त्र पुनः स्थापनाको पक्षमा वकालत गथ्र्यौँ । गाउँघरमा सुन्ने मान्छे पाउन गाह्रो हुन्थ्यो । सवै अ–आफ्नो काममा केटाकेटीको भाषण सुन्ने कसलाई फुर्सद ? पालैपालो आफै नेता आफै कार्यकर्ता ! अहिले जस्तै त्यतिखेर पनि बेलुका पौने नौ बजे वीवीसी नेपाली सेवाको समाचार प्रशारण हुन्थ्यो । तत्कालिन समयमा समेत वीवीसीको विश्वसनीयता उच्च थियो । वीवीसी पछिको विश्लेषणमा अग्रजले भन्थे, ‘ ईन्डियाले नाकाबन्दी लगाईदियो अव पंचायतले घुँडा टेक्छ’ ।
 
नाकाबन्दी शब्दसँग त्यति परिचित नभएपनि पंचायत बहिर्गमनको खबरले हामी प्रशन्न हुन्थ्यौं । गाउँघरमा छ महिना वर्षदिनलाई पुग्ने नुन–मट्टीतेल मौजाद हुन्थ्यो । दैनिक गुजाराका लागि अन्न–वाली खेतबारीमा फल्थे । मोटरबाटो पुगेको थिएन । घोडालाई खुवाउने दाना घरमै उत्पादन हुन्थ्यो । अक्सर सितलगेडी र पापडी किन्न आवश्यक पर्ने सिमित पैसा ईण्डियाबाट छुट्टीमा फर्केका आफन्त वा अभिभावकले दिन्थे । प्याकेटको तयारी खाजा–खाना खाने प्रचलन थिएन । विधालय छुट्टीको दिनमा पशु–चौपायाँ चरी–चरनको रखेलो बनेर बन–जंगल वा खर्कमा जानुपपथ्र्यो । दिनभर बारीमा फलेका शखरखण्ड, पिडालुँ र तरुल जस्ता कन्दमुल खोज्थ्यौं । चौपायाँको सुकेको गोबरबाट बनेका गुईँठा जम्मा गथ्र्यौँ ।
 
सुकेको घाँस वा खरसँगै ती गुईँठामा आगो झोस्ता ती कन्दमुल पाक पुगेर पोलिन्थे । ठाउँठाउँमा पाइने तिर्तिरे धारा पिऊने पानीको समस्या कल्पनाभन्दा वाहिरको कुरा ! कुनै पनि महिनामा गोठाले जीवन भोकैतिर्खै  फर्किनु नपर्ने नेपाली माटोको विशेषता हो । त्यहिँ कन्दमुल दिने माटोले काक्रा, अम्बा, निऊवा जस्ता फलफुल पनि दिन्थे । बच्चाबच्चीले खाएको दोष हुँदैन भन्ने प्रचलन थियो । नाकाबन्दी लागोस् नलागोस् तर, पंचायत ढलोस् ! हामीलाई पंचायती राज्य व्यवस्थासँग किन त्यति विधि प्रतिशोध ? फेरि वाल्यकाल सम्झनामा आउँछ । 
 
अहिले समय परिवर्तन भएको छ । समाज पनि मिश्रित छ । बाँसको ढुंग्रोलाई माईकको प्रयोजनमा परिमार्जन गर्नेपर्ने पुस्ता विज्ञानको पछिल्लो उत्पादन मोबाईल सेटमा सामाजिक संजाल प्रयोगकर्ता भएका छन् । अ–आफ्ना धारणा त्यहिँबाट सार्वजनिक  हुन्छन् । अव्यस्थित वस्ती विकासले खुल्ला चौर वा चौपारा मासिएका छन् । मान्छे अचेल चिया–चमेनागृह वा क्याफेमा जम्मा हुन्छन् । ढुंगा–माटोमा संघर्ष गरेर उत्पादन गर्ने निम्नाकोटिको कर्म हो भन्ने भ्रम परेको छ । पशु–चौपायाँ पाल्दा दुःख हुन्छ । यदाकदा पालिने घरका बच्चाबच्चीलाई प्याकेटको चाउचाउ र प्लास्टिकको बोतलमा पानी राखेर ल बाबुनानी दिउँसो खाजा खाए ! भनेर चौपायाँ पछि लाग्न प्रेरित गरिन्छ ।
 
अचेल खेतबारीमा कन्दमुल र फलफुल फलाउने पौरखी हातहरु मध्यपुर्व र मलेशीयाको समून्न्तीमा लखेटिएका छन् । हामीले देशका झन्डै ४० लाख युवालाई अन्तर्राष्ट्रिय श्रम बजारमा निर्यात गरेका छौं । त्यो उत्पादन क्षमता तीनै प्रवासी नेपालीसँग छ । ती युवाले गएको आर्थिक वर्षमा सात सय अर्व रेमिट्यान्स पठाए । राज्यले त्यहि रेमिट्यान्सले आयात धानेको छ । हामी आत्मनिर्भर हुन्छौं कसरी ? हामीले हाम्रो ब्यापार–पारवहनको सिमितता र धरातलीय विविधतालाई विर्सिदै गएका छौं । पाइला पाइलामा आफ्नो अभिष्ट पुरा गर्न चहाने छिमेकीले यी कमजोरीमा घरीघरी हैरानी दिन्छन् । हामी शाब्दिक आलोचनामा समय खर्चिन्छौँ । 
 
जवजव राजनीतिक तरलता मुलुकमा उत्पन्न हुन्छ तवतव छिमेकी प्रतिरोध प्रकट हुन्छ । प्रजातन्त्र पुनः स्थापनाको उत्कर्षमा लगाइएको नाकाबन्दी राजसंस्था र मरिचमानको मात्र समस्या हो भन्ने बुझाईलाई नेपाल र नेपालीले उहिल्यै संशोधन गर्न सकेका भए सायदै यी दिनको पुनरागमन हुनेथियो । ०३ असोजमा जारी भएको नेपालको पहिलो मौलिक संबिधानमा नेपाली जनताले भारतीय अनुरोधलाई अस्वीकार गरिदिए । प्रतिरोध जारी छ ! प्रतिरोध त्यतिन्जायल शान्त हुँदैन जतिखेर छिमेकी पहुँच खोजेरोजेको ठाउँसम्म विस्तारित हुदैन । भारतको यो नाकाबन्दी पहिलो होईन नत अन्तिम नै हुनेछ । चन्द्र र सुर्य अंकित झण्डलाई हामीले ओडेर हिड्दासम्म यी समस्याहरु दोहोरिरहने छन् ।
 
देशको कुल ब्यापार घाटा मध्य दूईतिहाई घाटा यसैसँग छ । यत्रो भारतीय निर्भरताको उचित लाभबाट हिन्दुस्तान कहिल्यै पनि सन्तुष्ट छैन । उसले खोजेको अनुचित लाभ नेपाल राज्य र नेपाली जनताको स्वाभिमानसँगको अन्योन्याश्रित सम्बन्धमा छ । ईन्धन र ठुल्ठुला मेशिनरी पार्टपुर्जा वाहेक त्यहाँबाट आयात हुने अन्य वस्तु तत्काल हामीले नै उत्पादन गर्न सक्ने क्षमता छ । चौपायाँको गोबरबाट बन्ने गुईँठालाई ग्याँसको विकल्पमा प्रस्तुत गर्ने मौलिक प्रविधि हामीले किन विकसित गर्न सकेनौं ? भन्दा चस्माको डण्डी उचाली उचाली उदारीकरण र खुल्ला बजार अर्थनीतिको वकालत गर्ने अनि छिमेकीले ईन्धनवाहक ट्रकलाई भन्सारमा रोकिदियो भने त्यसको भोलिपल्ट जोर–बिजोर नम्वरका गाडी चलाऊ भनेर नागरिकलाई उर्दी जारी गर्ने ? यस्तो एकदिन पनि नटिक्ने अर्थतन्त्र नेपाली माटो सुहाँउदो अर्थतन्त्र होईन । यस्तो आर्थिक अभ्यासले  राज्यका नागरिकलाई दिन बिराएर खानपिन गर्नुपर्ने अवस्थामा पुर्‍याउनेछ । अनि बल्ल आत्मनिर्भरताको खोजि हुनेछ । बाँझा जमिन खोस्रिईने छन् । प्रशस्त अन्नवाली र कन्दमुल उत्पादन हुनेछन् । गुईँठाबाट बाल्ने आधुनिक चुल्होको निर्माण गरि पाक पुग्नेगरी पकाएर खाईनेछ  । त्यहि हो आत्मनिर्भरताको प्रारम्भिक अभ्यास । त्यहिँ अभ्यासले छिट्टै खानीको उत्खनन् गरि नेपाली भु–गर्भमा विधमान प्राकृतिक श्रोतको उपयोग गर्ने सामथ्र्य राख्नेछ  ।  
 
विश्वमा मुद्राको आविष्कार भयो, दास प्रथाको उन्मुलन भयो । नेपाल जस्तो भूपरिवेष्ठित राष्ट्र दास नै नभएपनि छिमेकीको ईच्चाधीन मुलुक रहदै आएको छ । सोनिया गान्धी हिन्दुस्तानमा अंगिकृत नागरिकता वाहक भएका कारण मुलुकको कार्यकारी प्रमुख हुने अवसरबाट बन्चित भईन । नेपाल लगायत उसका छिमेकीले आन्तरिक मामलामा हस्तक्षेप गरेनन् । मनमोहन सिंहले प्रधानमन्त्रीको रुपमा नेपालको बधाई सबभन्दा पहिला ग्रहण गरे । २०२८ साल यता नेपालको अंगिकृत नागरिकता लिएका नागरिकलाई प्रमुख पदमा ल्याउन मिल्नेगरि संविधानमा व्यवस्था गर्नुपर्ने कुटनैतिक अभ्यास असफल भएपछि चाडबाडको पूर्वसन्ध्यामा छिमेकीले भन्सार नाका छेकिदिए । यी हरफ तयार गर्दासम्म नयाँ संबिधान अनुसार बन्नुपर्ने मुलुकको कार्यकारी प्रमुखमा यहिँ मुद्दाले नाटकीय प्रवेश पाएको छ । छिनोफानो हुन्छ नै ! संबिधान कार्यान्वयनमा किचलो झिक्ने गतिलो अस्त्र नेताकै कमजोरीमा भेटिन्छ भन्ने बुझेकाले निसाना ताकी ताकी अस्त्र प्रहार गरिरहेका छन् । निसाना कसको हितमा परिलक्षित छ ? प्रभावित समस्त नेपाली हुन्छन् ।
 
आजका दिनसम्म आत्मनिर्भरताको मुल मुद्दा अविचलित दिल्लि मोहको ओझेलमा परेको छ । जसलाई ठेगानमा ल्याउने सार्वभौम भनिएका नेपाली नागारिक हुन् जुन मूलतः चुनावको समयमा दिग्दभ्रमित हुन्छन् । नेपालवादको मौलिक आदर्शले राज्यका तल्लो तहबाट काम गर्दै आएको सच्चा नेपाली नागरिकलाई  नेतृत्वमा नपु¥याएसम्म यो समस्याको पारो झन्झन् चढ्ने छ ।
 
नेपालका सवै नदिनाला दक्षिणतर्फ बग्दछन् । हामी जलश्रोतमा आत्मनिर्भर छौं । परनिर्भर हुनुपर्ने शिर्षकमा यो श्रोतलाई सम्झौताको रुपमा तेर्सायाउन किन नसक्ने ? तिमीले जतिदिन नाकाबन्दी गर्छौं त्यति नै दिन कोशी ब्यारेजका ५६ वटै ढोका थुनेर एकैपटक खोलिदिन्छौँ भनेर धम्क्याउने हाम्रो सामथ्र्य खोई ? यो सामथ्र्य बटुलौं त ! त्यहि ईण्डिया हाम्रो  ईच्चाधीन राष्ट्र बन्छ  । आत्मनिर्भर बन्ने दर्जनौँ उपाय छन् , त्यसको पहिचान भएको छ परिचालनमा राजनीतिक ईच्चाशक्ति दुर्वल छ । सधैँ नेताको अह्रन खटनमा राजनीतिक स्वतन्त्रताको लडाइँ लडेका हामीलाई आत्मनिर्भरताको स्वतस्फुर्त लडाइँमा पराजयको भय उत्पन्न हुनुहुदैन  ।  
 



नयाँ