विद्यासुन्दर विरुद्धको समाचार सेयर गर्ने कर्मचारीलाई महानगरको कारबाही !
प्रकाशित २०७४ असार १५ बिहिबार
919
Shares
काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो बोर्ड बैठकको विषयमा नकारात्मक रुपमा लेखिएको समाचार सामाजिक सञ्जालमा सेयर गर्ने कर्मचारीहरुलाई कारबाही गरेको छ । महानगरपालिकाको गत असार ६ गते बसेको बोर्ड बैठकमा गरिएको निर्णयको आलोचना हुनेगरी लेखिएको समाचार सेयर गर्ने महानगरका ७ कर्मचारीलाई स्पष्टीकरण सोधेर कारबाही गरिएको महानगरपालिका निकट स्रोतले जनाएको छ ।
काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य नेतृत्वको बोर्डले त्यो दिन गरेको ८ बुँदे निर्णय मध्ये निर्णय नं ३(ख) मा उल्लेख गरिएको प्रत्येक जनप्रतिनिधिलाई मोवाईल खरीद किन्न प्रतिव्यक्ति ३० ३० हजार दिने निर्णयको बारेमा लेखिएको समाचार सेयर गर्ने महानगरका नायब सुब्बादेखि टेलिफोन अपरेटरसम्मलाई स्पष्टीकरण सोधिएको महानगरपालिका स्रोतले जनाएको हो ।
महानगरप्रशासनले स्थानीय तहका एमाले निकट कर्मचारी संगठनका नेतालाई समेत कारबाही गरेको छ । नेता शम्भु बराल, टेलिफोन अप्रेटर राजन ओझा प्रशासनको रत्नपार्क इकाईका नायबसुब्बा दीनानाथ सापकोटा, महेश्वर भुजेल लगायतका ७ जनालाई स्पष्टीकरण सोधिएको छ ।
यसरी आफू विरुद्धको समाचार लेखेकै आधारमा प्रशासन विभाग प्रमुख ज्ञानेन्द्र कार्की समेतको सक्रियतामा कर्मचारीहरु माथि गरिएको यस्तो हर्कत् आफू विरुद्धको समाचार सेयर कर्मचारीलाई तर्साउन मात्रै भएको कर्मचारीहरुले आरोप लगाएका छन् । कुनैपनि सञ्चारमाध्यममा आएको समाचार पढ्ने र आफूलाई मनलागेको समाचार अरुलाई पनि देखाउने हक मानिसको प्राकृतिक न्यायको सिद्धान्तले नै तोकेको कुरा हो।
तर, आफ्नो व्यक्तिगत स्वार्थपूर्ति गर्नका लागि कर्मचारीमाथि गरिएको यस्तो ज्यादतीले महानगरभित्र भने तानाशाही प्रवृत्तिको विकास भएको आरोप कर्मचारी संगठनहरुले लगाएका छन् ।
मेयर शाक्यकै प्रस्तावमा मोवाईल बाँड्ने निर्णय गरिएको सो बैठकपछि मेयर आफैंले पत्रकारहरुलाई सो बारे जानकारी दिएका थिए । सोही विषयमा समाचार आएपछि उनको व्यापक आलोचना सुरु भयो र अर्काे बैठक बसी सो निर्णय उल्टाईएको थियो । तर, आफैंले गरेको निर्णयको समाचार सेयर गरेको आरोपमा कर्मचारीमाथि कारबाही गरेर महानगरपालिका प्रशासनले बहादुरी देखाएको आरोप कर्मचारीहरुको छ ।