arrow

प्राइभेट स्कुलमा नेपाली भाषाको चिन्ता : ‘हप्ताको दुई दिन नेपाली बोल्न दिए हुन्थ्यो’

logo
यमुना भण्डारी,
प्रकाशित २०७४ असार २१ बुधबार
school_new.png

काठमाडौँ । प्राइभेट स्कुल भन्ने वित्तिकै अँग्रेजी माध्यममा पढाइ हुने पाठशाला वा विद्यालय भन्ने बुझिन्छ । यद्यपि, अहिले नेपालीमा भनिने सून्दर शब्द ‘पाठशाला’ वा विद्यालय अधिकांशले उच्चारण गर्दैनन् । सामान्य लेखपढ गर्न जान्नेहरुले पनि विद्यालय भन्दा झट्ट बुझ्दैनन् । बरु, अंग्रजी शब्द ‘स्कुल’ सजिलै बुझ्छन् । र, बरु स्कुल नै उच्चारण गर्दछन् । प्रसंग हो, अंग्रेजी माध्यममा पठनपाठन हुने निजी तथा आवासीय विद्यालयहरुमा नेपाली बोल्दा कडा सजायको भागिदार हुनु ।

नेपालको राष्ट्रिय वा सरकारी कामकाजको भाषा नेपाली नै हो । सामुदायिक विद्यालयहरुमा प्राय नेपाली माध्यममै पढाइ हुन्छ । एकाध ठाउँमा सामुदायिक विद्यालयले नै नेपाली र अंग्रेजी दुवै माध्यममा पठनपाठ गराएर नमुना प्रस्तुत पनि गरेका छन् । ती विद्यालयमा झुक्किएर नेपाली बोल्न पुगे पनि सजाय भोग्नु पर्दैन ।
यद्यपि, निजी विद्यालयमा विद्यार्थीलाई अनिवार्य अंगे्रजी बोल्नु पर्ने नियम छ । जहाँ कसैले झुक्किएर नेपाली बोलीहाले कडा सजायको भागिदार हुनु पर्दछ । अंग्रेजी माध्यममा पढाइ हुने भन्ने वित्तिकै सबै विषय अंग्रेजी माध्यममै पढ्नु पर्ने र कक्षा वा विद्यालयभित्र अंग्रेजीमै सम्वाद गर्नु पर्ने विषय स्वभाविक हो । यद्यपि, झुक्किएर नेपाली बोलेकै आधारमा विद्यार्थीलाई यातना दिन हुन्छ ? भन्ने छलफलको विषय हो ।

राष्ट्र भाषाका संरक्षक एवं चिन्तकहरुले नेपालमा भाषाका लागि संघर्ष भइरहँदा र भाषाकै कारण संसारका विभिन्न मुलुकमा दंगा भइरहँदा नेपाली भाषालाई धक्का पुग्ने गरी बसाउन थालिएको संस्कार खेद जनक रहेको भनेका छन् । उनीहरु भन्छन्, ‘निजी विद्यालयले अंग्रेजी अनिवार्य गर्नु अस्वभाविक होइन । यद्यपि, नेपाली बोल्नै हुँदैन । त्यसको चलनचल्ती विर्सनेगरी शिक्षा आर्जन गर्न लगाउनु अस्वभाविक हो ।’ विद्यालयका नियम र नियन्त्रण हुन्छन् । यद्यपि, राष्ट्रियता र राष्ट्र भाषाप्रति वैमनष्यता ल्याउनु राम्रो नहुने चिन्तकहरुको भनाई छ ।

अंग्रेजी भाषा विश्वव्यापी भएपनि मुलुकै पिच्छे आ–आफ्नो राष्ट्र भाषा छन् । भाषाकै कारण अहिले पनि कयौँ मुलुकमा हतियार उठिरहेका छन् । अर्कोतिर विदेशीहरु नेपाल आएर नेपालको भाषा सिक्न लालाहित छन् । तर, यहाँका निजी स्कुलहरुमा बहुभाषाको ज्ञान आर्जन गर्ने वा व्यवहारिकता सिकाउने परिपाटी बसेको छैन । अंग्रेजी नै सबै थोक हो भन्ने भावना सिर्जना गरिएकोको चिन्तकहरु दुःखी छन् । नेपाल बहुभाषिक र बहुजातीय मुलुक भएकै कारण यहाँको शैक्षिक प्रणाली समेत सोही अनुरुपको छ ।

मुस्लिमको समेत बसोबास भएको नेपालमा मदरसा शिक्षा समेत पढाइ हुँदै आएको छ । यस्तै, वुद्धिज्मको समेत पढाइ हुने गरेको छ । तर, मैथिली, भोजपुरीलगायन अन्य भाषामा विद्यालयस्तरको पढाइ हुन सकेको छैन ।

निजी विद्यालयको वर्तमान शैक्षणिक विधि र उत्पादन छलफलको विषय हो । नेपाली बोलेकै कारण यातना दिइनु अर्को बहसको विषय हो । अंग्रेजी माध्यममा पढ्ने स्टुडेन्टले अंग्रेजी नबोलेर सुकै छैन । यद्यपि, समग्र मानसिकता मै अंग्रेजी ‘सेट’ गराउन खोज्नु र त्यसक्रममा दिइने मानसिक वा शारीरिक यातना स्वीकार्य नहुन सक्छ ।   

काठमाडौं ‘जेभियस इङ्गलिश बोर्डिङ स्कुलका स्टुडेन्ट’–राज खतिवाडा भन्छन्–  ‘एउटा नेपाली विषय पढ्दा मात्रै नेपाली बोल्न पाइन्छ । अन्य समयमा नेपाली बोल्न पाइँदैन । टिफिन टाइममा नेपाली बोल्दा लुकिछिपि बोल्छौँ । कक्षा कोठामा त नेपाली बोल्नै पाइँदैन ।’ ६ कक्षामा अध्ययनरत उनले भने, ‘नेपाली बोले शिक्षकले निकैबेर कराउनु हुन्छ । पmाईन लाग्छ । मेरो कति साथीले पmाईन तिरेका छन् । सजाय पनि पाएका छन् ।’

कक्षाकोठाबाट बाहिर बोलेको थाहा पाए कान समाएर उठबस गर्नुपर्छ । सबैको सुन्ने र बुझ्ने क्षमता एउटै नहुने भन्दै उनले भने,  ‘सबै शब्द अंग्रेजीमा नबुझे चुप लागेर बस्नु पर्छ । बुझिने गरेर पढाउने शिक्षकहरुको समेत कमि छ । कतिपय गुरुहरु झर्किनु हुन्छ ।’  कतिपय शब्द अंग्रेजीमा बुझिँदैनन् । भित्र मनमा नेपालीमा भनिदिए हुन्थ्यो जस्तो लाग्छ । तर, त्यस्तो सोचेर पनि भएन, पढ्न त अंग्रेजीमै पढ्नु पर्ने हो, उनले भने । उनले स्कुलमा सिकाइए जस्तै ‘अहिले अंग्रेजीको जमाना छ, नपढी काम छैन’ पनि भने । यद्यपि, राजको भनाईले अंग्रेजी नपढ्ने बाहेकका विद्यार्थी काम लाग्दैनन् भन्ने नकारात्मक छाप पो बस्दै छ कि भन्ने संकेत दिन्छ । अंग्रेजीमा पढाइ भएकोमा विरोधको कुनै गुन्जायस रहनु हुँदैन । यद्यपि, सिकाइमा र मानसिकतामा सकारात्मक किरणहरु ल्याइनु पर्ने चिन्तकहरुको तर्क छ ।  

स्कुलको गेट छेउ उभिएकी भुजेल भन्छिन्–‘हामीले खाई नखाई पैँसा जम्मा गरेर छोराछोरीको भविष्य राम्रो होस् भनि बोर्डिङ स्कुल पठाउँछौ । अंग्रेजी राम्रो होस् भन्ने चाहाना पनि हुन्छ । तर, भोलि हुँदै जाँदा नेपालीमै पो फेल हुने हो कि भन्ने पिर लागेर आउँछ ।’ अहिलेको एसईई नजिता हेर्दा अधिकांश विद्यार्थीहरु नेपालीमा कमजोर देखिएका छन् । नेपाली विषयको नतिजा गिर्दो अवस्थामा छ । नेपालमा सरकारी कामकाजको भाषा नेपालीमा रहेकाले भोलि नेपालमै रहेर काम गर्नेलाई नेपाली भाषाको समस्या हुने देखिन्छ ।

भुजेलले अगाडि भनेकी छन्, ‘छोराछोरीको भविष्यलाई लिएर हामीलाई दोहोरो डर छ । अंग्रेजी जानेन् भने पछि हामीजस्तो दुःख पाउने पो हुन् की ? भन्ने एउटा डर छ भने, अर्कोतिर नेपाली भाषा नै जान्दैनन् की भन्ने डर छ ।’ हामी सामाजिक रुपमा संगठित भएकाले समेत सामाजिक परम्परा र रिति–थिति नै विग्रन्छ कि भन्ने पिर छ ।

उनको कुरा सफाट छ । निजी वा सामुदायिक विद्यालयको शिक्षा प्रणाली एउटै हुनुपर्दछ । एउटै, भाषालाई मात्र प्राथमिकता दिइनु हुँदैन । इच्छाइएको भाषामा पढाइहुने व्यवस्था गरिनु पर्दछ समेत भन्छिन् उनी । नेपाली बोलेको भनेर सजाय दिइनु हुँदैन । उनले भनिन्, ‘यातनाको विकल्प अरु केही अपनाइनु पर्दछ । विभिन्न मुलुकको रिति–थिति मात्र नभई नेपाली रिति–थितिबारे समेत अंग्रेजी र अन्य भाषामा पनि पढाइ हुनुपर्दछ ।’

नेपाली बोलेकै भरमा विद्यार्थीलाई मानसिक वा शारीरिक यातना दिने नियमप्रति शिक्षक पनि सहमत छैनन् । गुरुमा सरस्वती कुँवर भन्छिन्, ‘बोल्ने कराउने र तर्साउनेसम्म गरिन्छ ।’ आफ्नो विद्यालयको नाम नराख्न भन्दै उनले अगाडि थपिन्, ‘विद्यार्थीले नेपाली होइन अंग्रेजीनै बोल्नु पर्छ भन्ने नियम राखिएको छ । हाम्रो विद्यालयमा चै कुट्पिट गरी हाल्दैनौँ तर, नेपालीलाई पूर्णरुपमा बन्देज गर्ने कुरा उचित होइन कि जस्तो लाग्छ ।’ म शिक्षिका हुँ, उनले भनिन्, ‘नेपाली भाषालाई भूल्नु हुँदैन । हप्तामा दुई दिनसम्म भाषिक सुद्धताका लागि पनि नेपाली बोल्न लगाइनु पर्दछ ।’

बहु भाषाको पढाइ किन नगर्ने ? उनले प्रश्न गरिन् । सिकाई सहज बनाउन र शिक्षक, विद्यार्थीको घनिष्टता बढाउन नेपाली भाषाको पनि भूमिका रहन्छ । विद्यालयका आ–आफ्नै नियम छन्, उनले भनिन्, ‘विद्यार्थीको भविष्यलाई ध्यान दिएर अंग्रेजी नै बोल्नु पर्ने नियम राखिएको हो । यद्यपि, एउटा विषय नेपाली अनिवार्य गरिएको छ । त्यसको नतिजा खस्कँदो छ । त्यसको व्यवहारिक सिकाइ पनि आवश्यक हुन्छ । उनले भोलिको भविष्यलाई हेरेर शिक्षण सिकाइ अवलम्बन गरिएको हुन्छ, यद्यपि, अंग्रेजी माध्यममा पढ्नेले नेपाली भाषा बोल्नै हुँदैन भन्ने हुँदैन । आफ्नो राष्ट्रभाषालाई समेत महत्व दिइनु पर्दछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ