- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । राजनीतिमा एउटा उक्ति निकै प्रशिद्ध छ, "Not necessarily true only get more votes". अर्थात राम्रा र सत्यले मात्र भोट पाउँछ भन्ने केही छैन । चुनावी राजनीति तथा चुनावी परिस्थितिका कारण उत्पन्न हुने बिबिध परिस्थिति र स्वरुपले नतिजामा व्यापक ठूलो नाफाघाटा हुन सक्छन् । जसले गर्दा राजनीतिमा राम्राले कम भोट र नराम्राले बढि भोट पाउन सक्छ । फेरी हाम्रो जस्तो राजनीतिक शैली विकास नभएको देश तथा अवकशित देशमा त बाहुबलीहरु पनि राजनीतिमा ठूला प्रभाव पार्दछन् । पैसाको आधारमा, शक्तिको आधारमा वा तत्कालिन नाराको आधारमा चुनाव जित्नु वा जित्ने वातावरण बन्नु नेपाल जस्तो देशमा स्वभाविक पक्ष हो ।
नेपालमा हुने निर्वाचनको कतिपय पक्षहरुलाई सुक्ष्म ढंगले हेर्ने हो चुनावी राजनीति हावी देखिने गरेको छ । यद्यपि यसपालाको स्थानीय तह निर्वाचनको चुनावी नतिजाका कतिपय पक्षहरु आकस्मिक मान्न सकिन्छ । यो आकस्मिकता भनेको भोट धेरै अर्थमा सस्ता नारा वा पपुलिस्ट कुरामा बिकेको पाइएन । स्थानीय तहको निर्वाचनमा एमाले र काँग्रेसबीच प्रतिस्पर्धा देखियो भने माओवादीले पनि आफ्नो परीक्षा दिएको थियो । तीनवटै पार्टीले ल्याएको नतिजा आमरुपमा सोचिएको जस्तो मान्न सकिन्न ।
राजनीतिमा धेरै प्रोपोगान्डा गर्नसक्ने एमाले एक डेढ वर्षअघि देखि नै स्थानीय चुनावमा काँग्रेस हाफ र माओवादी पत्तासाफ भन्ने नारा अख्तिायर गरेको थियो । एमाले रणनीतिकरुपमा आफूलाई अब्बल रहेको भनाउन राष्ट्रवादका नारा चुनाव हुनभन्दा निकै अघिदेखि मैदानमा फ्याँकेको थियो । केपि ओली प्रम भएको बेलादेखि नै एमालेको राजनीति देशलाई निकास दिनतिरभन्दा चुनावमुखी राजनीति गर्ने धन्दामा व्यस्त भन्ने आरोप लागेको थियो ।
पहिलो चरणको स्थानीय तह निर्वाचनको केही हप्ताअघि नेका सभापति शेरबहादुर देउवाका नाम तत्कालिन प्रधान न्यायाधिस शुसिला कार्कीलाई महाअभियोग लगाउने भन्ने विषयमा प्रमुख अभियुक्त बनाउने काममा एमाले सफल भएको थियो । साथै चन्द र सिलवाललाई प्रहरी प्रमुख बनाउन विषयमा ओली र देउवा दुवैले एकएकलाई लिएर लविङ गरे पनि एमालेले देउवालाई दोषी बनाउन सफल भएको थियो । जबकी सिलवाललाई बोकेर हिँडेका ओली आफै पनि आलोचनाका भागिदार थिए । चारैतिर काँग्रेसलाई गाली गर्नेहरु बिगबिगी थियो । भारतमा भाजपा र मोदीले काँग्रेसमुक्त भारत भनेजस्तै सामाजिक सँजालभरी देउवा र काँग्रेसका नाममा गाली बेइज्जतीका पोस्टहरु व्यापक थिए । सबैलाई लाग्यो काँग्रेसले यो चुनावमा इतिहासमै कमजोर प्रस्तुति दिनेछ ।
यसरी स्थानीय तहको चुनावमा एमालेले सोचेजस्तै काँग्रेसलाई हाफ र माओवादीलाइ पत्तासाफ पार्ने योजनाको महत्वपूर्ण अवसर बन्न गएको थियो । माओवादीसँग चुनावी अभियानमा जनतालाई देखाउन र बुझाउन सकिने लोडसेडिङ अन्त्यको जबर्जस्त एजेन्डा भए पनि नेपाली काँग्रेससँग भने जनतालाई देखाउने र भन्ने खालको चुनावी र पपुलिस्ट कुरा केही थिएन । प्रचन्ड सरकारमा स्वास्थ्य मन्त्री रहेका गगन थापालगायत एकदुई काँग्रेस मन्त्रीले गरेको कामबाहेक काँग्रेससँग आफ्ना कुरा भन्ने केही थिएन ।
काँग्रेस चोक, गल्ली, चियापसल चारैतिर भारतमुखी, राष्ट्रघातीमात्र नभएर सुशिला कार्की र महानिरीक्षक पदको बारेमा विपक्षीसँग सटिक छलफलसम्म गर्न सक्ने अवस्था थिएन । त्यसमाथि काँग्रेसभित्र झन् असिमित टिकटको आकाँक्षा र वागीको समस्याले उसलाई खोक्रो बनाएको थियो । टिकट बाँड्दा देउवा, पौडेल, सिँह, सिटौला आदि आदिका नाममा विपिको सिद्धान्तलाई चिराचिरा पारेको काँग्रेस आफैमा अकल्पनीय समस्यामा थियो । अन्तर्घात हुने, बागीको समस्या हुने मात्र हैन विपक्षीको प्रश्नको काउन्टर दिन नसक्ने अवस्थामा एमालेले भने जस्तै काँग्रेस हाफ मात्र हैन पत्तासाफको अबस्थामा पुग्ने निश्चित नै थियो । टोलबजारमा काँग्रेसहरु आफै जीतको प्रक्षेपण गरेर हिँड्न सक्ने अबस्थामा थिएनन् ।
पहिलो चरणको निर्वाचन सकियो । एमाले अध्यक्ष ओली आफै चकित पर्ने गरी नेपाली काँग्रेसले सिट ल्यायो । एमालेभन्दा करिब १० प्रतिशत कम सिट ल्याए पनि उसको जीतको आधार हेरेर एमाले चकित पर्यो । हाफ वा पत्तासाफ पार्छु भन्ने एमालेमात्र हैन काँग्रेस आफै पनि चकित रह्यो नतिजाले । कतिपय ठाउमा जहाँ काँग्रेस हार्यो त्यो ठाउँमा कि काँग्रेसले कमजोर उम्मेदवार दिएर हार्यो कि अन्तर्घात भएर हार्यो । जस्तै काठमाडौँ र पोखरा महानगरको उदाहरणको रुपमा लिन सकिन्छ । त्यसमाथि नेका सभापतिले भरतपुरजस्तो जित्न सकिने भनिएको ठाउँमा माओवादीलाई महानगर नै अनावश्यक सुम्पिएका थिए ।
पहिलोचरणको निर्वाचनमा आएका नतिजालाइ बाहिरीरुपमा सोचेभन्दा कम आएको भनेर नेकाका नेताहरुले भने पनि भित्रीरुपमा उनीहरु आफै पनि चकित थिए जनताको माझ काँग्रेसको साख देखेर । पत्तासाफ हुन सक्ने आंकलनका साथ जनताका माझ गएको काँग्रेसको प्रदर्शन आफैमा चमत्कारिक नै देखियो । दोश्रो चरणको चुनावको नतिजा अन्तिम चरण पुग्दा काँग्रेसका सभापति आफै प्रधामन्त्रि भएका छन् । नेपालको इतिहासमा प्रम चयन हुँदा सबैभन्दा आलोचित र कसैले आशा नै नगरेका व्यक्तिको रुपमा देउवा प्रम भएका छन् ।
देउवा प्रम हुँदा नेपाली काँग्रेसलाई फाइदा हुने कतै पनि सन्दर्भ थिएन बरु घाटा नै थियो । तथापि पहिलो चरणको नतिजाबाट उत्साहित थियो काँग्रेस । नेताको काम वा केन्द्रको भूमिकाले भन्दा गहिरिएको रुखको जराले फेरी कमाल देखाएको थियो । आफै प्रधानमन्त्री रहेका शेरबहादुर देउवाको लगातारको कमजोर छवी, चौतर्फि अन्तर्घात र बागीको विगविगीका माझ दोस्रो चरणमा जति सिट काँग्रेसले जितेको छ यो पनि आफैमा कमाल नै हो ।
०१७ सालदेखि प्रत्यक्ष निर्वाचनको राजनीतिमा रहेको नेपाली कांग्रेस लगातार कन्सिस्टेन्ट नतिजाको लागि चिनिन्छ । बहुदलीय प्रतिस्पर्धामा २– ३ पटक दोस्रो भए पनि नेपाली काँग्रेस सदैव पहिलो भएको छ । लामो इतिहास, पूरानो पार्टी र प्रजातान्त्रिक पार्टी भनेर बनेको छविका बीच नेपाली काँग्रेसका नेताहरुले भने आफैमा प्रभावशाली स्वरुप देखाउन खासै कहिल्यै सकेनन् । चुनावमुखी राजनीतिमा काँग्रेस सदैव कमजोर देखिन्छ । आफैले गरेका कामको जससमेत लिन नसक्ने पार्टी, राम्रालाई भन्दा हाम्रालाई चुनावी मैदानमा उठाउने नेपाली काँग्रेस कहिल्यै पपुलिस्ट बन्न नसके पनि चुनावी नतिजामा भने सदैव देखिएको कस्सिस्टेन्सीलाई रुखको फैलिएको जराको रुपमा लिन सकिन्छ ।
जनतामाझ काँग्रेसका लागि देखिएको अपार मायालाई भने काँग्रेसले खासै कहिल्यै सम्बोधन पाइदैन । पहिलो र दोस्रोचरणको स्थानीय तहको यो नतिजाले काँग्रेसलाई पपुलिस्ट बन्न नसके पनि जनता र विकासप्रति जिम्मेवार बनाउन मात्र सके पनि रुखको जरा झन् फैलिने र गहिरिने निश्चित रहेछ भन्ने सबैलाई जानकारी वा पाठ दिएको छ ।