अफगान द्वन्द्वमा विद्रोहीको आक्रमणमा बढी सर्वसाधारणको मृत्युः राष्ट्रसङ्घ
प्रकाशित २०७४ साउन ३ मंगलबार
991
Shares
काबुल (अफगानिस्तान)। सन् २०१७ को पहिलो छ महिनामा अफगानिस्तानमा जारी द्वन्द्वका कारण एक हजार ६६२ जनाको ज्यान गएको र यो अहिलेसम्मकै उच्च भएको संयुक्त राष्ट्रसङ्घद्वारा सोमबार जारी प्रतिवेदनमा जनाइएको छ।
अधिकांश घटनामा विद्रोही आत्मघातीे विष्फोट, केही ठाउँमा सरकार र विद्रोहीबीच भएका झडप, र केही क्षेत्रमा अन्य कारण उनीहरूको ज्यान गएको संयुक्त राष्ट्रसङ्घ मानव अधिकार मामिला हेर्ने निकायका प्रमुख जैयद राद अल हुसैनले बताए।
उनले भने, “ यस बर्षको जनवरीदेखि जुन महिनासम्म द्वन्द्वका कारण मृत्यु हुनेको सङ्ख्या ‘डरलाग्दो’ अर्थात् एक हजार ६६२ पुगेको छ।” अधिकांश घटनामा विद्रोहीले गरेका विष्फोट कारक रहेका छन्, उनले थपे।
अफगानिस्तानमा मानव अधिकारको चरम उल्लङ्घनका घटना बढेको पाइएको छ। प्रतिवेदनमा काबुलमा मे २३ गते भएको ट्रक विस्फोट तालिवान समूहले गराएको र यो अमेरिकी नेतृत्वमा तालिवान समूहमाथि कारबाही चलाइपछिकै सवैभन्दा हृदयविधारक घटना भएको प्रतिवेदनमा उल्लेख छ।
यस बर्ष एक हजार १४१ जना सर्वसाधारण तालिवान समूहको आक्रमणमा परेको र यो तथ्याङ्क गतबर्षको सोही समयको तुलनामा १२ प्रतिशत बढी रहेका हुसैनले बताए। अफगानी रक्षामन्त्रीले विद्रोहीले सर्वसाधारणलाई मानव ढाल बनाएका कारण पनि धेरै सर्वसाधारणको मृत्यु भएको बताए।
तर तालिवानी विद्रोहीले भने उक्त प्रतिवेदनलाई पुर्वाहपूर्ण भएको र यसले सरकारद्वारा विद्रोही प्रभावित क्षेत्रमा गरेको आक्रमणमा मारिएको सर्वसाधारणको तथ्याङ्क नदेखाएको दावी गरेको छ।
तर विद्रोहीले आफ्नो भनाईलाई पुष्टि गर्न सरकारद्वारा मारिएका भनिएका सर्वसाधारणको तथ्याङ्क भने दिएका छैनन्। रासस-एपी