वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७३-७४ मा १०१ प्रतिशत राजश्व असुली गरेको छ । गत आवमा एक खर्ब सात अर्ब ११ करोड ३१ लाख ६३ हजार राजश्व संकलनको लक्ष्य राखेकामा एक खर्ब आठ अर्ब १० करोड ७७ लाख ८७ हजार राजश्व उठाउन सफल भएको छ ।
कार्यालयले मुख्य रुपमा भन्सार महसुल, मूल्य अभिवृद्धि कर, अन्तः शुल्कतर्फ बढी राजश्व उठाएको कार्यालयका सूचना अधिकारी सन्तोष यादवले बताए । डिजेल र पेट्रोलमा कार्यालयले १० अर्ब राजश्व संकलन गरेको छ । सिमेन्टको कच्चापदार्थ क्लिङ्करमा तीन अर्ब ३८ करोड र एलपी ग्यासमा दुई अर्ब नौ करोड संकलन भएको छ ।
कार्यालयलाई करिब ४० प्रतिशत राजश्व भारतीय गाडीको निकासीबाट आउने गरेको छ । गत आवमा एक लाख १४ हजार थान मोटरसाइकल, आठ हजार थान कार, १७ हजार थान बस र ट्रक र एक हजार ६३३ थान ठूला ट्रक नेपाल भित्रिएका थिए ।
भन्सारले आव २०७१-७२ मा ९१ अर्ब राजश्व उठाउने लक्ष्य राखेकामा ९८ अर्ब संकलन गरेको थियो । आव २०७२÷७३ मा ७१ अर्ब राजश्व असुली गर्ने लक्ष्य लिएकामा ५५ अर्ब मात्र संकलन भएको थियो । रासस