प्यूठान । युवा तथा साना व्यावसायी स्वरोजगार कोष प्यूठानले जिल्लामा बेरोजगार युवाका लागि सहकारीमार्फत रु पाँच करोड ५७ लाख ५० हजार लगानी गरेको छ ।
कोषले लगानी गरेको रकममध्ये हालसम्म रु तीन करोड ९८ लाख ७५ हजार सहकारीमार्फत प्रत्यक्षरुपमा युवाले प्राप्त गरेका छन् । कोषका सचिवालय सदस्य अमर मगरका अनुसार कोषले सेवा र उत्पादनमुलक क्षेत्रमा मात्रै लगानी गरेको छ ।
जिल्लाका नौ वटा स्थानमा लगानी सीमित बनाएको कोषले यस आर्थिक वर्षबाट जिल्लाका ४२ वटा गाविस र नगरपालिकाका सबै वडामा सहकारीमार्फत लगानी गर्ने योजना बनाएको छ । हाल जिल्लामा मरन्ठानामा तीन सहकारी, तोरवाङ, रस्पुरकोट, खुङ, बरौला, लुङ र खैरामा एक÷एक वटा सहकारीमार्फत कोषले ऋण लगानी गरेको छ ।
त्यस्तै बिजुवार र दाखाक्वाडी गरी जिल्लाका नौ स्थानमा ११ वटा सहकारीमार्फत लगानी गरेको छ । कोषको मातहतमा रहने गरी जिल्लाकै पहिलो बैंक गौमुखि विकास बैंकले पनि जिल्लामा रु ३० लाखको लगानी गरेको छ ।
सबै गाविस र नगरक्षेत्रमा सहकारी नहुँदा न्यून लगानी र ढिलो भएको भन्दै सचिवालयले जिल्लाका ४२ वटा गाविस तथा नरपालिकाको १९ वटा वडामा कार्यक्षेत्र विस्तारसँगै लगानी गर्ने तयारी गरेको छ ।
कोषमार्फत २२८ जना महिला र २२२ जना पुरुष स्वरोजगार भएको कोषले जनाएको छ । यस आर्थिक वर्षमा कोषले एक सहकारीका लागि रु एक करोडसम्मको लगानी गर्ने जनाएको छ ।