arrow

आयल निगमको जग्गा खरिदमा कुनै घोटाला भएको छैन, कागज हेर्न सकिन्छ–खड्का

कुलमान भन्दा अफ्ठेरो काम गर्दै छु

logo
प्रकाशित २०७४ साउन १९ बिहिबार
gopal_bdr-khadka.jpg

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले जग्गा खरिद गर्दा कुनै पनि अनियमितता नभएको जिकिर गरेका छन् । कार्यकारी निर्देशक खड्काले जग्गा खरिद प्रकरणमा अनियमितता भएको भन्ने समाचारमा सत्यता नरहेको भन्दै खड्काले आपत्ति जनाए ।

खड्का अहिले निगमको भण्डारण केन्द्रका लागि जग्गा खरिद गर्दा आर्थिक हिनामिता गरेको आरोप खेपिरहेका छन् । खड्काले ९० दिनको भण्डारण क्षमता राख्न जग्गा किनिएको प्रष्टीकरण दिँदै भ्रष्टाचारको आरोपको खण्डन गरे ।

पेट्रोलियम पदार्थको भण्डारणको लागि झापा, सर्लाही, चितवन र रुपन्देहीमा गरिएको जग्गा खरिद प्रक्रियामा ठूलो घोटाला भएको संसदीय समितिहरुले समेत शंका गरिरहेका छन् । तर, आयल निगमका कार्यकारी निर्देशक खड्काले आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी जग्गा खरिद प्रक्रियामा घोटाला भयो भनेर अडकालबाजी नगर्न सुझाए ।

खड्काले जग्गा खरिद गर्ने निर्णय विधिसम्मत भएको जिकिर गरे । सरकारले दिएको नीति र निर्देशन, संसदीय समितिहरुले दिएको निर्देशन र निगम सञ्चालन समितिको निर्णय अनुसार जग्गा खरिद गरिएकाले यसमा अनियमितता हुने प्रश्नै नआउने तर्क गरे ।

कार्यकारी निर्देशक खड्काले जग्गा खरिदको विषयमा संसदीय समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालिसकेकाले यसमा मिडियाले अड्कलबाजी गरिरहन नपर्ने पनि उल्लेख गरे । खरिद प्रक्रियालाई पारदर्शी बनाउन टेन्डर आह्वान गरिएको पनि उनले बताए ।

कार्यकारी निर्देशक खड्काले जग्गा खरिद प्रक्रिया आफूहरुको एकल निर्णयमा नगरिएकाले यसमा शंका गरिरहन पर्ने अवस्था नरहेको पनि बताए । उनले पेट्रोलियम पदार्थको संकट हुन नदिन निगमले सरकारकै निर्देशनमा भण्डारण केन्द्र स्थापनाका लागि जग्गा खरिद गरेको पनि स्पष्ट पारे ।

नेपाल आयल निगमले ३ गुणा बढि मूल्यमा जग्गा खरिद गरेर ठूलो आर्थिक घोटाला गरेको शंका गर्दै संसदीय समितिहरुले त्यसको अनुसन्धान प्रक्रिया अघि बढाएका छन् ।

यता, अख्तियार दूरुपयोग अनुन्धान आयोगले पनि निगमको जग्गा खरिदबारे सम्पूर्ण कागजात झिकाएर अनुसन्धानको काम अघि बढाएको छ । पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक खड्काले शंका लागे जग्गा खरिदको सम्पूर्ण कागजात हेर्न सकिने व्यवस्था गरिएको पनि बताए ।
 

कुलमान भन्दा अफ्ठेरो काम गर्दै छु
कार्यकारी निर्देशक खड्काले आफूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भन्दा असजिलो काम गरिरहेको समेत सुनाए ।

पत्रकार सम्मेलनमा उनले अध्याँरो हटाउनभन्दा भारतबाट तेल ल्याएर वितरण गर्न अप्ठेरो भएको जिकिर गरे । उनले भने, ‘सबै अध्याँरो हटाएको भनेर कुलमान ज्युको प्रशंसा गर्छन् । यो काम त त्योभन्दा गाह्रो छ । सडकमार्गबाट तेल र ग्यास ल्याउने विषय सजिलो छैन । अध्याँरो हटाउने भन्दा यो अझ काम कठिन छ ।’ उनले आफुहरुको प्राविधिक टोलीले सही भनेकै जग्गा नै किनेको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ