निगमले खरिद गरेका जग्गाको संसदीय समितिले स्थलगत अध्ययन गर्ने
प्रकाशित २०७४ साउन २२ आइतबार
1.1k
Shares
काठमाडौँ । व्यवस्थापिका–संसद्को उद्योग वाणिज्य तथा उपभोक्ताहित सम्बन्ध समितिले नेपाल आयल निगमले पेट्रोलियम पदार्थ भण्डारणका लागि चार जिल्लामा खरिद गरेको जग्गाको स्थलगत अनुगमन गर्ने भएको छ । जग्गा खरिद गरेको जिल्लाका निर्वाचित सांसदहरुको समूह छनोट गरेर अनुगमनमा पठाइने समितिका सभापति भीष्मराज आङ्देम्बेले आजको बैठकमा जानकारी दिए । केही दिनमै सांसदको समूह स्थलगत अध्ययनका लागि झापा, सर्लाही, चितवन र रुपन्देही जाने तयारी गरिएको उनले बताए ।
“समूहले सम्बन्धित जिल्लाका जिल्लास्थित सरोकार भएका कार्यालयका प्रतिनिधि, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र जग्गा किनिएको स्थानका बासिन्दासँग छलफल गरी वास्तविक तथ्यांक संकलन गर्नेछ”– उनले भने ।
समितिले २०७३ असार २१ गते एलपी ग्यास र पेट्रोलियम पदार्थको भण्डारण क्षमता कम्तीमा तीन महिनालाई पुग्नेगरी बढाउन निर्देशन दिएको थियो । यसैगरी विसं २०७३ फागुन ११ गते भण्डारण क्षमता बढाउन यथासम्भव सार्वजनिक जग्गाप्राप्ति गर्नेतर्फ पहल गर्न निगमलाई निर्देशन दिएको थियो ।
गत साउन ४ गते समितिले आपूर्ति मन्त्रालयलाई निगमको भण्डारण क्षमता बढाउनका लागि सरकारी जग्गा प्राप्त गर्न गरेको प्रयाससम्बन्धी सम्पूर्ण पत्राचार र निर्णयको प्रतिलिपि उपलब्ध गराउन एवं बोलपत्रका माध्यमबाट जग्गा खरिद गरिएका कागजात उपलब्ध गराउन निर्देशन दिएको थियो । रासस