arrow

'खसीबोका बेचिएझैँ  बेचिन्छन् नेपाली घरेलु कामदारहरु'

logo
प्रकाशित २०७४ साउन २४ मंगलबार

काठमाडौं । खाडीमुलुकमा कति संख्यामा नेपाली कामदार रहेका छन् भन्ने यकिन जानकारी नेपालका कुनै निकायसित छैन । 

खाडीमुलुकमा अवैध ढंगले पुर्याइका घरेलु कामदारमध्ये ६० प्रतिशत नेपालकै विमानस्थल र बाँकी भारत, श्रीलंका, चीन र अन्य अफ्रिकी मुलुक हुँदै खाडी मुलुक पुग्ने गर्दछन् । 

व्यवस्थापिका–संसद्, अन्तरराष्ट्रिय सम्बन्ध तथा श्रम समितिद्वारा गठित उपसमितिले खाडीमुलुकको स्थलगत अनुगमन निरीक्षणपछि तयार पारेको प्रतिवेदनमा सो अवस्था औँल्याउँदै साउदी अरब, कतार, कुवेत र संयुक्त अरब इमिरेट्समा नेपालबाट संगठित रुपमा मानव तस्करी तथा बेचबिखन भइरहेको ठहरसमेत गरेको छ । 

समितिका तत्कालीन सभापति प्रभु साहको नेतृत्वमा २०७३ चैत ५ गतेदेखि १४ गतेसम्म सांसद अशोककुमार मण्डल, प्रेमकिशोर साह तेली, विनोद श्रेष्ठ, राधादेवी तिमल्सिना, राज्यलक्ष्मी श्रेष्ठ (नुवाकोट), ललिताकुमारी रेग्मी रहेको उपसमतिले ती देशमा कार्यरत नेपाली कामदारले भोग्नुपरेका समस्याका बारेमा स्थलगत अध्ययन तथा अनुगमन गरेको थियो । टोलीका सदस्य विनोद श्रेष्ठले मंगलबार समितिसमक्ष अध्ययन अनुगमन प्रतिवेदन प्रस्तुत गर्दै अन्य देशका कामदारभन्दा नेपाली कामदार इमान्दार, मेहनती, अनुशासित हुने भएकाले साउदी अरबमा नेपाली घरेलु कामदारको ठूलो माग भएको बताए । 

उनले वैदेशिक रोजगार व्यवसाय कम्पनीले एकजना घरेलु कामदार खाडी पुर्याउँदा कम्तीमा चारलाख आम्दानी गर्ने र नेपाली घरेलु कामदारको तस्करी व्यापक रुपमा पाइएको जानकारी दिए । प्रतिवेदनमा उच्च राजनीतिक तह तथा सरकारका सम्बन्धित निकायको दृढ इच्छाशक्ति बिना नेपालबाट खाडीमुलुकमा भइरहेको मानव तस्करी र बेचबिखन रोक्न नसकिने उल्लेख छ । 

प्रतिवेदनमा भनिएको छ “नेपाली मानव तस्करले संयुक्त अरब इमिरेट्सको अजमान र कुवेतमा नेपाली घरेलु कामदार आपूर्ति गर्ने कार्यालय नै खोलेर खसी बोका बिक्री गरेझैँ छानीछानी घरेलु कामदार बिक्री गर्ने गरेको कुरा नेपाली राजदूतावासका पदाधिकारी र त्यहाँ रहेका नेपाली समुदायका प्रतिनिधिबाट जानकारी प्राप्त भयो ।” 

अध्ययन प्रतिवेदनमा मानव ओसार र तस्करी नियन्त्रणमा राज्यका निकायको बेवास्ता रहेको जनाउँदै खाडी मुलुकसित द्विपक्षीय श्रम सम्झौता नगरी घरेलु कामदार नपठाउन सरकारलाई सुझावसमेत दिइएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ