कुमोद अधिकारी, विराटनगर । पूर्वाञ्चलमै पहिलो पटक कम्मर मुनिको जोर्नी प्रत्यारोपण भएको छ । सफल प्रत्यारोपण गरेको न्यूरो अस्पताल प्रालिले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो । हाडजोर्नी विभागका प्रमुख डा. नवीनकुमार कर्ण सहितको विशेषज्ञ टोलीले कम्मरमुनिको भागको सफल शल्यक्रिया गर्न सकेको जानकारी दियो ।
टोलीले धरान नगरपालिका–१५ का ७५ वर्षीय विरबहादुर राइको सिमेन्टेड पद्दतीबाट कम्मर मुनिको हिप जोइन्ट प्रत्यारोपण गर्न सफल भएको जनाएको हो । यसैगरी, गरी २९ वर्षीया मन्दिरा बस्नेतको अनसिमेन्टेड पद्दतीबाट हिप जोइन्टको सफल प्रत्यारोपण भएको छ । सिमेन्टेड प्रत्यारोपण गर्न १ लाख ४५ हजार र अनसिमेन्टेड प्रत्यारोपण गर्न २ लाख २५ हजार लाग्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
सिमेन्टेड पद्दतीबाट हिप जोइन्ट गर्दा १० वर्षसम्म कुनै समस्या नहुने पनि पत्रकार सम्मेलन चिकित्सक टोलीले बतायो । यस्तै, अनसिमेन्टेड प्रत्यारोपणमा २५ देखि ३० वर्षसम्म हिँड्डुल र काम गर्न कुनै समस्या नहुने हाडजोर्नी विभागका प्रमुख डा.नवीनकुमार कर्णले जानकारी दिए । यो शल्यक्रिया पूर्वाञ्चलमा धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र विराटनगरमा न्यूरो अस्पतालमा मात्र रहेको जानकारी गराइयो ।