काठमाडौं ।
राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदान किनारा लागिरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीको ‘आधारको भार’ नत्यागेको प्रस्ट्याएका छन् । २९४औं पृथ्वी जयन्तीको पूर्व सन्ध्यामा पूर्व राजा ज्ञानेन्द्रले एकता र सदाशयताको आव्हान गर्दै नेपाली जनताले शासकको दायित्व र भरोसा चाहिसकेको उल्लेख गरेका छन् । पूर्व राजा ज्ञानेन्द्रको तर्फबाट जारी सन्देशमा ‘अब नेपाली जनताले को कसबाट कस्तो दायित्व भुमिका र भरोसा चाहेका छन् खुलस्त हुनु पर्दछ भन्ने पनि समयको माग छ–भन्ने उल्लेख छ । साथै सन्देशमा आफुले दरबारमात्रै छोडेको र नेपाली घरबार नछोडेको जनाइएको छ ।
ज्ञानेन्द्रले सन्देशमा भनेका छन्,‘शाहवंशीय राजाहरुले जनताको इच्छा, चाहना र भावनाको कदर गर्ने परम्परालाई निरन्तरता दिँदै राष्ट्रहित र राष्ट्रवासीको सूख, समृद्धि र आत्मीय सन्तुष्टिका निम्ती जनताको नासो जनतालाई सूम्पेर मैले दरबार छोडेको हूँ ।’ राजावादीहरुले पुस २७ लाई राष्ट्रिय पर्वकै रुपमा मनाउन सरकारसंग बारम्बार आग्रह गर्दै आएका छन् । यद्यपि, पूर्वराजा ज्ञानेन्द्रले राजनीतिक रुपमा पृथ्वीनारायणलाई पहिलो पटक सम्झिएका हुन् ।
राजतन्त्र समाप्त भइसकेको सन्दर्भमा ज्ञानेन्द्रले राजनीतिक रुपमा पृथ्वीनारायणको योगदानलाई हतियार बनाउनु अर्थपूर्ण रहेको विज्ञहरुको भनाई छ । भरखरै जारी संविधानले राजतन्त्रको शब्द–सन्दर्भ पूर्णरुपमा निष्तेज पारिसकेको छ । यसअघि, सत्तामा हुँदा र सत्तात्यागपछी दलहरुसंग भएको भनिएका सम्झौताको पेरिफेरीमा समेत ज्ञानेन्द्र पृथ्वीनारायणको योगदान र दर्शनबारे खासै चाँसो राखेनन् । अहिले अचानक ज्ञानेन्द्रलाई कहाँबाट, कसरी पृथ्वीनारायणको सम्झना आयो ? कौतुहल उब्जिएको छ ।
पूर्वराजा ज्ञानेन्द्रको सन्देशको पूर्णपाठ
पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट २९४औं पृथ्वी जयन्तीका उपलक्षयमा एकता र सदाशयताको आव्हान
(२०७२ पौष २७ गते)
नेपाली भएर सोच्ने, सम्झने दिन पुष २७ हो । यही दिन यहाँको पवित्र भूमिमा जन्मीएका हाम्रा बडामहाराजधिराज पृथ्वीनारायण शाहबाट नै हाम्रो यो आधुनिक राष्ट्रको संरचना भएको हो । पृथ्वी जयन्तीको यस ऐतिहासिक क्षणमा सँधै नै हामीलाई मिलिरहने चेतना र प्रेरणाको कुरा (राष्ट्रिय एकता र सदाशयता) नै हो । हिमाल पहाड र तराईका हामी सबै नेपाली यही फूलवारीमा जति बढी समाहित हुन सक्छौं उतीनै हाम्रो गौरवशाली अस्तित्व तथा स्वाभिमानको नेपालीत्व उचो रहन्छ । यस प्रकारको युग चेतना हुँदै पनि अहिले हामी किन, कुन्नि दिग्म्रमित छौं । सोचनीय कूरा छ (देश भित्र अहिले विधि व्यवस्था, भुरचना र शासन प्रशासनका कुरालाई लिएर जे जस्ता वखेडा भएका छन् यो कदापी राम्रो कुरा होइन । आपसी सद्भाव खल्बलिएर जनसाधारणको जीवन व्यवहारमा जस प्रकार आर्थिक संकट, चरम महंगी, अभाव, अनुत्पादन र बाह्य निर्भरताबाट यतिखेर थप मार परिरहेको छ । नेपाली जनताले अहिले साँझ विहान छाक टार्न र सामान्य रुपले जीवन धान्न पनि धौधौ परिरहेको छ । त्यो गम्भिर चिन्ताको विषय हो ।
अब नेपाली जनताले को कसबाट कस्तो दायित्व भुमिका र भरोसा चाहेका छन् खुलस्त हुनु पर्दछ भन्ने पनि समयको माग छ । त्यसैले शाहवंशीय राजाहरुले जनताको इच्छा, चाहना र भावनाको कदर गर्ने परम्परालाई निरन्तरता दिँदै राष्ट्रिहित र राष्ट्रवासीको सूख, समृद्धि र आत्मीय सन्तुष्टिका निम्ती जनताको नासो जनतालाई सूम्पेर मैले दरबार छोडेको हूँ । तर सबैले विचार गर्नु पर्ने कुरा हो की मैले नेपाली घरवार छोडेको छैन अनी नेपाल र नेपालीको ‘आधारको भार’ पनि परित्याग गरेको छैन ।
जय नेपाल ।