- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग युरोपेली सङ्घका राजदूत रिन्चे टेरिङबीच मंगलबार शिष्टाचार भेट भएको छ ।
परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा उनीहरुबीच विकास सहायता एवम् आपसी सम्बन्धका विषयमा छलफल भयो । सो अवसरमा परराष्ट्रमन्त्री महराले युरोपेली सङ्घले नेपालको विकासमा पु¥याएको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।
शान्ति प्रक्रियाका कार्यभारहरु पूरा हुने अन्तिम चरणमा रहेको उल्लेख गर्दै उहाँले तीनै तहको निर्वाचन सम्पन्न भएपछि मुलुक आर्थिक विकास र समृद्धिको बाटोमा अगाडि बढ्ने बताए । सो अवसरमा राजदूत रेन्चेले आफ्नो कार्यकालमा नेपालमा महत्वपूर्ण परिवर्तन भएको बताउँदै नयाँ संविधान कार्यान्वयन सकारात्मक तवरले अगाडि बढेको बताए ।
त्यसैगरी परराष्ट्रमन्त्री महरासँग आजै नेपालका लागि इजराइली राजदूत यारोन मायरबीच पनि शिष्टाचार भेट भएको छ । मन्त्रालयमा भएको भेटवार्तामा उनीहरुबीच दुई मुलुकबीच सम्बन्ध आपसी सहयोग, समझदारीका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सो अवसरमा परराष्ट्रमन्त्री महराले नेपाल र इजरायलबीच दुवै मुलुकको कुटनीतिक राहदानी बाहक नागरिकलाई एकअर्काको मुलुकमा प्रवेशाज्ञा दिने विषय प्रक्रियामा रहेको र यसलाई सकारात्मक रुपमा अगाडि बढाइने बताए ।
उनले इजरायल वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्यका रुपमा रहेको र वर्षेनि ४०० जनालाई साना किसानको माध्यमबाट तालिम उपलब्ध गराएको प्रति धन्यवाद दिए ।
राजदूत यारोनले पछिल्लो समयमा नेपाल सही दिशामा अगाडि बढेको उल्लेख गर्दै आर्थिक विकास र समृद्धिको बाटोमा निरन्तर सहयोग गर्ने विश्वास दिलाए ।
त्यस्तै परराष्ट्रमन्त्री महरासँग नेपालका लागि इजिप्टका राजदूत बहेर नब्ल अब्देलफताह हेल्मीबीच पनि शिष्टाचार भेट भएको छ । मन्त्रालयमा भएको भेटवार्तामा उहाँहरुबीच दुई देशबीचको सम्बन्ध तथा आपसी सहयोगका विषयमा छलफल भयो ।
सो अवसरमा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेपाल–इजिप्टबीच घनिष्ट सम्बन्ध रहेको उल्लेख गर्दै आगामी दिनमा सम्बन्धमा अझै विस्तार भएर जाने बताए । उनले शैक्षिक क्षेत्रमा इजिप्टले पु¥याएको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।
राजदूत बहेरले नेपालमा ठूलो परिवर्तन भइरहेको उल्लेख गर्दै दुई देशबीचको कुटनीतिक सम्बन्धलाई अझ विस्तार गर्नुपर्नेमा जोड दिए ।