चन्द्र धामी, काठमाडौं । एसियाली फुटबल महासंघ एएफसीको तथ्याङ्कमा दक्षिण एसियामा फुटबल लहरमा नेपाल सबैभन्दा अघि छ । नतिजा, उमेर समूह बाहेक शून्य प्रायः छ । उमेर समूहमा नेपालले धेरै पछि –साफ यु–१९ को उपाधि जितेर इतिहास रच्यो । राष्ट्रिय टोलीको प्रदर्शन र स्तरवृद्धि हुन सकेको छैन । अखिल नेपाल फुटबलसंघ एन्फा र राज्यले फुटबलमा आवश्यक ध्यान दिन सकेको छैन ।
हाल सम्म देशका ४५ जिल्लामा मात्र फुटबलसंघ गठन भएका छन् । कतिपय जिल्लामा सांगठनिक संरचनामात्रै छ । खेलकुद संरचना र खेलकुदको विकासका लागि ठोस गतिविधि हुँदैनन् । कतिपय स्थानमा खेल र फुटबल औपचारिक जस्तै भएको छ । फुटबललाई अनिवार्य गर्ने महत्वपूर्ण विकास लक्ष्यमा राज्यको ध्यान जान सकेको छैन । सरकारको नीति तथा कार्यक्रममा प्रत्येक जिल्लामा १ निर्वाचन क्षेत्र एक क्रिकेट मैदानको अवधारणा आएपनि सोही अनुसार फुटबलका लागि खेल संरचना निर्माणमा पहल हुन सकेको छैन ।
क्रिकेटको भविष्यसंग–संगै राज्य र नेपाली समाजले फुटबलको भविष्य पनि देख्न थाल्नु पर्दछ । फुटबलमा समेत साविककै लगानी हुनु पर्दछ । यी विषय इलाम जिल्ला फुटबलसंघका अध्यक्ष निरोज खड्गीसंगको कुराकानीबीच छलफलमा आए । हाम्रा कुराको कार्यालयमै आएर खड्गीले नेपाली फुटबल र मोफसल फुटबलबारेको सम्वादमा निकै समय खर्चिए । मोफसलमा आफुहरुको प्रतियोगिता नमुना बनिरहेको खड्गीले बताए ।
दशैं पछिको ठूलो चाड
इलाममा फुटबल खेल दशैं पछिको ठूलो चाड नै हो । खड्गीले भने,‘स्थानीयको फुटबल मोहनै हाम्रो साहस हो ।’ इलाममा फुटबल हेर्नेको बेहरी नै छ । चन्दा संकलन गरेर भएपनि फुटबल प्रतियोगिता आयोजना हुनुपर्ने माग कायम छ । म्याइभ्याली गोल्ड कपकै गत वर्षको संस्करणमा टिकटबाट मात्रै १९ लाख संकलन भएको खड्गीले सुनाए । इलाममा टिकट लिएर फुटबल हेर्ने परम्परा छ ।
आकर्षणमा म्याइभ्याली गोल्डकप
जिल्ला भरी गाउँस्तरीय, नगर स्तरिय र जिल्ला स्तरीय थुप्रै फुटबल प्रतियोगिता हुन्छन् । ठूला तथा शीर्ष तहका मंगलबारे गोल्ड कप र माइभ्याली गोल्डकपको बढी चर्चा छ । अझ म्याइभ्यालीले देश भरकै एडिभिजन प्रतियोगितामा आफ्नो छवि बनाएको छ । माइभ्याली गएको वर्ष देशभरबाट सर्वोउत्कृष्ठ प्रतियोगितामा परेको छ । प्रायोजन गर्नेहरुको आकर्षण निकै बढेको छ । माइभ्याली सरकारको रातो किताबमा समेत परेको छ ।
माइभ्यालीको सुरुवात
आज भन्दा २० वर्ष अघि अर्थात् २०५२ मा भूकम्प पीडित स्मृति फुटबल प्रतियोगिता खेलाउने तत्कालिन माइभ्याली स्पोर्टिङ क्लब माइभ्याली फुटबल क्लबमा रुपान्तरण भएसंगै प्रतियोगिताको नाम समेत परिवर्तन भयो । भूकम्प पीडित स्मृति फुटबल प्रतियोगिता २०५२ देखि २०५४ सम्म लगातार तीन वर्ष चल्यो । तीनै प्रतियोगिताको उपाधि नेपाल पुलिसले कब्जा गरेको थियो । पछि माओवादी सशस्त्र द्वन्द्वले संचालन हुन सकेन । १७ वर्ष पछि गत वर्ष पहिलो पटक माइभ्याली फुटबल क्लब र जिल्ला फुटबलसंघको संयुक्त पहलमा म्याइभ्याली गोल्डकपका रुपमा प्रतियोगिता संचालन भयो । गएको माघ १५ देखि २४ सम्म चलेको प्रतियोगिता देशभरकै मोफसल प्रतियोगिता मध्ये उत्कृष्ठ ठहरियो । ४५ लाख खर्च भएकामा ६५ लाख संकलन भयो । जसमा २२ लाख बचत भयो । २०५२–२०५३ ताका थोरै फुटबल क्लब सहभागि हुने गरेकामा अहिले सहभागि टोलीको संख्या बढेको छ । पहिले नेपाल पुलिस, त्रिभुवन आर्मी, थ्रीस्टार, झापा, दार्जिलिङ र मोरङ लगायतका केही क्लबहरुमात्रै सहभागि हुन्थे । गत वर्ष देखि प्रतियोगितामा एडिभिजन, विभागिय, मोफसल र देश बाहिरका गरी १० टोली सहभागि हुन थालेका छन् । यसपटक पनि मनाङ मस्र्याङदी, त्रिभुवन आर्मी, एपीएफ, सरस्वती, रुपन्देही–११, साहारा फुटबल क्लब पोखरा, झापा–११, कोलकाता–११, आसाम र आयोजक माइभ्याली फुटबल क्लब सहभागि हुने खड्गीले बताए ।
पुरस्कार राशि
विजेता : ३ लाख रुपैंया
उपविजेता : १ लाख ५० हजार
म्यान अफ द म्याच घोषित प्रत्येकलाई : ५ हजार
खेल मैदानको समस्या
खेल मैदान कडा छ । माटो र बालुवा मिसाएर तयार पार्नु पर्दछ । त्यो पनि खेलकुद समिति अर्थात् जिल्ला फुटबलसंघको मैदान होइन । सेनाको मैदान प्रयोग गर्नु पर्दछ । इलाम नगरपालिका अर्थात् सदरमुकाममै छुट्टै खेल मैदान छैन । सेनासंग समन्वय गरेर प्रतियोगिता संचालन हुन्छ । बाँसका अस्थाई प्यारापिट बनाइन्छ । फुटबलसंघ अध्यक्ष खड्गीले भविष्यमा खेल मैदान बन्न सक्ने बताए । जिल्ल विकास समिति, नगरपालिकालाई गुहार्नुपर्ने स्थिति इलाममा समेत रहेको खड्गीको भनाईबाट प्रष्ट हुन्छ ।
राज्यको भूमिका कमजोर
अखिल नेपाल फुटबलसंघ एन्फाले वर्षमा एउटा लिग संचालन गर्दछ । तर, मोफसलमा थुप्रै टुनामेन्ट हुन्छन् । जसले खेलाडी पालेको छ । खड्कीले भने,‘राज्यले लगानी गर्नु पर्दछ ।’ लगानी कोचमा मात्रै छ, खेलाडीमा छैन । मोफसलका केही प्रतियोगिताको स्तरवृद्धि भएपछि बल्ल एन्फाले वर्गिकरणको अनुगमन थालेको छ । लगानी शून्य छ । एन्फा आन्तरिक विवादमा फसिरहेको छ । जिल्ला खेलकुद विकास समिति औपचारिकता मात्रै हो । एउटा बल किन्ने सामथ्र्य जिल्ला खेलकुद विकास समितिसंग छैन । खेलकुद विकास समिति राजनीतिक नियुक्तिका लागिमात्रै बनेको संयन्त्र जस्तो छ ।
आयोजकले खेलाडी बाहिरबाट किनेर ल्याउने परम्परा अन्त्य
मोफसल होस् वा राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजकले खेलाडी बाहिरबाट किन्ने परम्परा छ । तर, इलाममा सो परम्परा अन्त्य गर्न यसपटक स्थानीय स्तरबाटै विभिन्न चरणमा खेलाडी छनोट गरिएको छ । एक सय ८० खेलाडीबाट विभिन्न चरणमा २० जना खेलाडी छनोट भएका छन् । उनीहरु हाल बन्द प्रशिक्षणमा छन् । पाँच लाख बढी प्रशिक्षण खर्च मात्रै छुट्याइएको खड्गीले बताए । इलामबाटै करिअर सुरु गरेका दुई खेलाडी यसै वर्ष राष्ट्रिय टोलीमा परेका छन् । नवयुग श्रेष्ठ र छिरिङ गुरुङले यस वर्षको साफ च्याम्पियनसिप समेत खेलिसकेका छन् । अन्य खेलाडी समेत राष्ट्रिय खेलाडीको लाइनमा छन् ।
खेल पर्यटन एक लक्ष्य
चन्दा उठाएर जोगाएको फुटबल खेलको स्तरोन्नतिका लागि खेल पर्यटनको लक्ष्य इलामेलीहरुले लिएका छन् । राष्ट्रिय खेलकुद परिषद् र एन्फाको फाट्ट–फुट्ट गतिविधि बाहेक राज्यको लगानी कमजोर छ । फुटबलको पुनःसंरचना हुनु पर्दछ । फुटबल संघहरुमा पारदर्शीता हुनै पर्दछ । जस्तो इलाम जिल्ला फुटबलसंघमा खर्चको एकद्वार प्रणाली छ । नयाँ पुस्ताले विगतका अनियमिततालाई रोक्नै पर्दछ । लगानी गर्नेको जमात बढेको छ । खड्गीले गत वर्षको खेल संचालनले इलामको व्यसायिक कारोबारको पारो बढेको सुनाए । जसले खेल पर्यटनको निकै सम्भावना रहेको उनले बताए । खेल पर्यटनका लागि विदेशी नै आउनु पर्दछ भन्ने छैन । गत वर्षको कारोबारलाई हेर्दा, आन्तिरिक खेल प्रेमीलाई नै आकर्षण गर्न सके खेल पर्यटन फस्टाउने खड्गीको बुझाई छ । यस्तै, माइभ्याली फुटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङले समेत आफुहरुको मुख्य उद्देश्य खेल पर्यटन रहेको बताए ।
चुनौतीकाबीच प्रतियोगिता
खड्गीले कुरा टुंग्याउँदा मुलुकको राष्ट्रिय संकटकाबीच प्रतियोगिता हुन लागेको कुरा महत्वपूर्ण हो–भने । सोही विषयलाई माइभ्याली फुटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङले समेत चुनौतीकाबीच प्रतियोगिता गर्न लागेकाले यसपटक केही कम प्रतिफल आउने सुनाए । उनले भने,‘प्रतियोगिताको लागि प्रायोजकको आवश्यकता छ, प्रायोजकको उत्पादन छैन, प्रायोजक बन्द र नाकाबन्दीले खुम्चिएका छन् ।’ राज्यको लगानी छैन । चुनौती रहेपनि आफुहरु घाटामा नजाने चेम्जोङको दृढता छ । गत वर्ष २२ लाख फाइदा भएकामा यस वर्ष त्यति नहोला तर, हामी घाटामा जाँदैनौं–उनले भने । गत वर्ष सहयोग गर्न नसकेको एन्फाले समेत यस वर्ष सहयोग गर्ने बचन दिएको छ ।
आम्दानी घटेपनि फुटबलको उत्साह नघट्ने चेम्जोङको भनाई छ । गत वर्ष फाइनल खेलमा दर्शकको भिड थाम्न नसकेर १२ बजेपछी टिकट बन्द गरिएको चेम्जोङले सुनाए । फाइनल खेलको दिन मात्र टिकटबाट ८ लाख ६० हजार संकलन भएको जेम्जोङले बताए । उनले भने,‘यस वर्ष पनि दर्शक घट्दैनन् । घाटा हुँदैन ।’