arrow

अर्ध–सामन्तवाद र अर्ध–पुँजीवादको डेराबाट साम्यवादको सपना बाँड्दै दाहाल

सहयात्राको ३० वर्ष पछि : एउटा समाजवादी, अर्को पुँजीवादी

logo
प्रकाशित २०७२ पुष २९ बुधबार
Dahal-&-Baburam.jpg.jpeg
काठमाडौं । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई पछिल्लो समय समाजवादको भूतले सताउन थालेको छ । बाबुराम भट्टराईले पार्टी छाडेपछि संकटमा परेका दाहाल भट्टराईको समुन्नत नेपालको अभियानलाई बारम्बार चुनौती दिइरहेका छन् । दाहालले नेपाली समाज वैधानिक रुपमा नै समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेको उक्ति लादेर ३० वर्ष संगै सहयात्रा गरेका बाबुरामको पुँजीवादी अभियानलाई चुनौती दिँदैछन् । 
 
दाहाल पछिल्लो समय सार्वजनिक कार्यक्रम होस् वा पार्टी कार्यकर्तासंगको भेटघाट, समाजवादको नारा झिकिहाल्छन् । उनी कार्यकर्तालाई कम्युनिष्ट वर्ग त्यागेका भट्टराईप्रति भ्रम नपाल्न बारम्बार सुझाइरहेका छन् । दाहालले स्वाधीनताका लागि सबैभन्दा भरपर्दो शक्ति एमाओवादी नै रहेको जिकिर गर्न छाडेका छैनन् 
 
अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय समितिको पूर्ण बैठकमा समेत दाहालले समाजवादी क्रान्तिको कुरा झिके । उनले भने, ‘यो समाजवादी क्रान्ति गर्न लायक पार्टी निर्माण गर्ने बेला हो । गलत विचारको भण्डाफोर गर्दै संगठन सुदृढ गर्ने अभियानमा जोडदार रुपले लाग्नुपर्दछ । बाबुरामजीले पार्टी मात्र त्याग गर्नुभएको होइन, उहाँले माक्सवाद, जनयुद्ध, सहिद, बेपत्ता योद्धा र कम्युनिष्ट वर्गलाई नै त्याग्नु भएको छ । यी सबैप्रति घात गर्नुभएको छ ।’ 
 
विगतमा संविधान निर्माण गर्ने कामलाई पहिलो प्राथमिकता दिनु परेकैले  संगठनात्मक कामले गति लिन नसकेको दाहालको तर्क छ ।  दाहालले विचार, रणनीति, कार्यनीतिबारे पार्टीमा स्पष्टता आएको बताउँदै त्यसै अनुरुप संगठनलाई व्यवस्थित गर्न ३ महिने संगठन सुद्धिकरण अभियान संचालन गरिएको बताए । आउँदो २ वर्षमा पार्टी ट्रेड यूनियनलाई सबैभन्दा शक्तिशाली र क्रान्तिकारी ट्रेड यूनियन बनाउनु पर्ने भन्दै दाहालले मजदूर किसानहरुले स्थानिय स्तरबाटै समाजवादका भ्रुणहरु विकास गर्दै लैजान निर्देश गरे । 
 
दाहाल पछिल्लो समय किन समाजवादको नारा बेच्दैछन् ? पुँजीपति वर्गसंग बढी साँठगाँठ भएका दाहाललाई समाजवादको भूत चढ्नु र समाजवादी क्रान्तिको ढर्रा पिट्नु आश्चर्य नभएपनि रहस्यमय रहेको विश्लेषण भइरहेको छ । विश्लेषकहरुका अनुसार दाहाल या पार्टी समाप्त हुने ठूलो भयमा छन्, या समाजवादकै अस्त्रबाट विजय प्राप्ति खोज्दैछन् । आफुहरुको लडाँई नसकिएको बताउँदै आएका दाहाल सत्ता कब्जाको रणनीतिबाट फेल भएपछि सुरिक्षित बाटो खोजिरहेका छन् । जनमतले दाहाललाई साईमा ल्याएको प्रस्ट भइसकेको छ । 
 
दाहाल पुँजीवादबाट माथि उठेकै हुन् त ? 
नयाँ संविधानमा समाजवाद शब्दावलीको प्रयोगकै आधारमा दाहालले समाजवादी क्रान्तिको उर्दी लगाउन थालेका हुन् । दाहालले नेपाली समाज समाजवाद उन्मुख भएको भन्नु स्वभाविकै मानिएला । तर, समाजवाद उन्मुख हुनु अघि पुँजीवाद पूर्ण हुनुपर्ने विषयलाई दाहालले भूले वा हेरेका छैनन् । यसअघि, दाहाल समाजवाद अघिनै साम्यवादका कोरा सपना देखिरहेका थिए । ता कि युद्धमा थिए । शान्तिप्रक्रियामा आएपछि दाहाल शामन्त शाहीशासनको समाजमा छिरे ।
 
अहिले अर्ध–सामन्ती तथा अर्ध–पुँजीवादी समाजमै दाहाल जिविकोपार्जन गरिरहेका छन् । मुलुक समाजवाद उन्मुख भएको जिकिर गरिरहेका उनले पुँजीपतिहरुको राज चिर्न सकेका छैनन् । सर्वहाराको नाउमा राजनीति गरेका दाललको पार्टी पटक–पटक सरकारमा गएपनि समाजवादी क्रान्तिको आरम्भ गर्न सकेन । यसअर्थ कि दाहालले अहिले समाजवादको भु्रण उत्पादन गर्न निर्देश गरिरहेका छन् । अर्ध–सामन्तवाद र अर्ध–पुँजीवादको डेराबाट बाहिर निस्कन नसकेका दाहाल राजनीतिक शक्ति केन्द्रमा छन् । तर, उनलाई समाजवादको भूतले सताइरहेको छ ।
 
दाहालले माओकै सपना बाँडिरहेका छन् । ‘मानिसद्वारा मान्छेको शोषणबाट समाजमा विषमता वा असमानता उत्पन्न भयो । यस अप्राकृतिक लूट वा अमानवीय शोषणलाई समाप्त गर्नको लागि पहिले ‘समाजवाद’ को स्थापाना गर्ने र त्यस पछि विस्तारै साम्यवादमा परिवर्तित गर्ने वामपन्ती नेताहरुको लक्ष्य हो ।’ यो माओको साम्यवादी विचारधारा हो । दाहालले यसैको सपनालाई टेकेर समाजवादको वकालत गरे वा पार्टी जोगाउन र फेरि पनि भ्रमको खेती गर्न समाजवादी क्रान्तिको वकालत गरे–प्रष्ट हुन बाँकी छ । कुनै दिन दाहाल यसबारे बोल्ने छन् । 
 
माओको क्रान्तिपछि आफुलाई समाजवादी भनिसकेको चाइना फेरि पुँजीवादमा फर्किएको इतिहास दाहालले राम्ररी बुझेका छन् । कम्युनिष्टहरुका भगवान् लेनिन विरामी हुँदा स्टालिनले मनलागि गरेको रोचक इतिहास समेत दाहालाई राम्ररी थाहा छ । स्टालिनले विरामी लेनिनले नभनेका कुरा समेत बाहिर आएर लादे । जुन ताका दोस्रो लेनिन स्टालिन नै थिए । ता कि स्टालिनले मात्रै भेट्न सक्थे लेनिनलाई ।  
 
के हो समाजवाद ? 
“समाजवाद“ एउटा यस्तो आर्थिक व्यवस्था हो, जहाँ देशको सम्पूर्ण अर्थतन्त्रको स्वामित्व पूर्णतया सरकारमा निहित हुन्छ । जसलाई सामाजिक स्वामित्व पनि भनिन्छ । यस्तो आर्थिक राजनैतिक व्यवस्था अंगिकार गर्ने राष्ट्रलाई समाजवादी राष्ट्र भन्ने गरिन्छ । स्वामित्व भन्नाले वस्तुको उत्पादन, नियन्त्रण र व्यवस्थापनलगायत पर्दछन् । सामाजिक स्वामित्वका पनि विभिन्न प्रकारहरू हुन्छन् । जस्तै, साझा स्वामित्व, सहकारी संस्थान, प्रत्यक्ष सार्वजनिक स्वामित्व र राज्यद्वारा संचालित स्वतन्त्र संस्थान आदी ।  यद्यपि, समाजवादको निश्चित परिभाषा यीनै स्वामित्वका प्रकारहरूमा फरक–फरक हुनसक्छ ।
 
हाल विश्वमा समाजवादी व्यवस्था भएका देशहरू चीन, क्युवा, लाओस र भियतनाम हुन् । यी राष्ट्रहरूलाई कम्युनिष्ट राज्य समेत भनिन्छ । जहाँ कम्युनिष्ट पार्टीहरूको एकदलीय शासन छ । उनीहरूले मार्क्सवाद–लेनिनवाद मान्दछन् र आफैंलाई समाजवादी घोषणा गरेका छन् । 
 
साम्यवाद ?  
साम्यवाद एउटा सामाजिक–आर्थिक संरचना एवं राजनैतिक विचारधारा हो । साम्यवादी व्यवस्थामा समतावादी, वर्गहिन समाजको स्थापना हुन्छ । यस व्यवस्थामा सवै उत्पादनका साधन एवं सम्पत्तिमा सम्पूर्ण समाजको स्वामित्व हुन्छ । साम्यवाद, समाजवादको एउटा शाखा मानिन्छ । साम्यवादमा कुनै पनि सम्पतिमा कसैको व्यक्तिगत स्वामित्व हुँदैन । तर, व्यक्तिले आफ्नो आवस्यकता अनुसार भोगचलन गर्न भने पाउँदछ ।
 
साम्यवाद त्यो सामाजिक अवस्था हो, जसमा प्रत्येकलाई उसको क्षमतानुसार वा प्रत्येकलाई उसको आवश्यकतानुसार कार्य वा उसको प्रतिफल उपलब्ध गराइन्छ । तर, साम्यवादसम्म पुग्न सामन्तवाद, पुँजीवाद र समाजवाद पूर्ण सिंगो समाजको आवश्यकता हुन्छ । सोझै हाम फाल्न सकिँदैन । यति सम्म कि, कतिपयले साम्यवाद कोरो कल्पना मात्रै हो–भनेका छन् ।    
 



नयाँ