लोडसेडिङ मुक्त जिल्लामा बत्ति जान थालेपछि विद्यार्थी आक्रोशित, दिए तीन दिने अल्टिमेटम
रामचन्द्र रायमाझी,
प्रकाशित २०७४ भदौ २९ बिहिबार
446
Shares
पाल्पा । विद्युत अनियमित भएको भन्दै जिल्लामा क्रियाशील संयुक्त विद्यार्थी संघर्ष समिति पाल्पाले सम्बन्धीत निकायलाई ध्यानाकर्षण सहित अल्टिमेटम पनि दिएका छन् । जिल्लामा विद्युत आपूर्तिमा भएको अनियमितता, चरम लापरवाही , अवैज्ञानिक वितरण प्रणाली, आर्थिक चलखेल, कमसल उपकरण, कमिसन, प्रसारण लाईनमा भएको सेटिङ्गको चलखेल, कमभोल्टेज जस्ता कारणले दैनिक घण्टौँ समयसम्म विद्युत आउने जाने गरेको भन्दै ध्यानाकर्षण पत्र सहित तीन दिने अल्टिमेटम पनि दिईएको विद्यार्थीहरुले जनाएका छन् ।
विद्यार्थी नेता राजकुमार पन्थीको नेतृत्वमा गएको टोलीले जिल्ला विद्युत प्राधिकरण, प्रमुख जिल्ला अधिकारी, विद्युत प्राधिकरणको क्षेत्रीय कार्यालय र केन्दीय कार्यलयमा ध्यानकार्षण पत्र बुझाएका हुन् । संघर्ष समितिले लोडसेडिङ्ग मुक्त जिल्ला भएपनि अघोषित लोडसेडिङ्गले गर्दा आम सर्वसाधरण, विद्यार्थी, ब्यपारीहरुलाई मर्का परेको भन्दै तीन दिने अलटिमेटम सहित आन्दोलनका कार्यक्रम गरिने विद्यार्थी नेता पन्थीले बताए ।
अनियमित विद्युतका कारण परीक्षा दिने विद्यार्थी सबैभन्दा बढी मारमा परेका छन् । नेविसंघका केन्द्रीय सदस्य हरिबोल भट्टराइले विद्युत आपूर्तिमा देखिएको समस्याले खानेपानी उपभोक्ता, उद्योगी, ब्यवसायीहरु र विद्यार्थीहरुको प्रत्यक्ष जनजिवनमा प्रभाव पारेको भन्दै ३ दिन भित्र यो समस्या समधान नभए कडा संघर्षमा उत्रिने बताए । विद्यार्थी नेता बलु गरैले जिल्लामा भएको यस खालको बिद्युत अनियमितता अघोषीत लोडसेडिङ्ग भएको भन्दै यसको समस्या समधान गर्न जिल्ला प्राधिकरण र प्रशासनलाई जिम्मेवार बन्न आग्रह गरेका छन् ।
गैरजिम्मेवारपूर्ण हर्कत नेपाल सरकारको लोडसेडिङ्गमुक्त्त उज्यालो नेपाल निमार्ण अभियानको मर्म र भावना बिरुद्धको षडयन्त्र हो भन्ने आभाष आम जनतालाई भएको उक्त ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । जिल्लाको विद्युत आपूर्तिको समस्या ३ दिन भित्र समधान नभए जिल्लामा क्रियाशिल विद्यार्थी संगठनरुले चरणबद्ध आन्दोलन गर्ने ध्यानाकर्षण पत्रमा जनाईएको छ । आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको समधान सम्बन्धित निकाय नै हुने जनाईएको छ । ध्यानाकर्षण पत्र बुझ्दै पाल्पा वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठले आफु पाल्पामा नयाँ भएको र जिल्लाको बिद्युत समस्या समधानका लागि छिट्टै पहल थाल्ने बताए