उखुको प्रबर्द्धन गर्न कृषि यन्त्र र उन्नत बीउ बाँड्दै भागेश्वर
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ असोज ५ बिहिबार
560
Shares
पुनर्बास । सुदूरपश्चिम स्थित कञ्चनपुर स्थित पुनर्वासमा स्थापित ठूलो भागेश्वर सुगर एण्ड केमिकल्स इन्डष्ट्रीज प्रा लि ले उखुको उत्पादन वृद्धि र खेतिको प्रबर्द्धनका लागि कृषियंत्र र उन्नत बीउ बितरण अभियान थालेको छ ।
पश्चिम नेपालमै ठूलो क्षमताको सुगर मिलले कृषकहरुलाई उखु खेतिको प्रबर्द्धन र बिस्तारमा सहयोग जुटाउन उन्नत जातको बीउ, प्राविधिक सेवाका साथै कृषियन्त्र वितरण गर्न शुरु गरेको भागेश्वर सुगर एण्ड केमिकल इन्डष्ट्रीजका उखु महाशाखाका प्रबन्धक सन्तोष कुमार मिश्रले बताए ।
उखु कृषकहरुले बालीबाट बढी आम्दानी लिन कार्तिक महिनामा उखु रोप्दा लाभदायक भएकाले इन्डष्ट्रिजले कार्तिके उखु प्रबर्धनका लागि टोलटोलमा अन्तर्क्रिया र छलफल गरी जनचेतना अभियान गरिरहेको छ । योसँगै परम्परागत र पुरानो प्रबिधिद्वारा पुनर्वास र आसपासका क्षेत्रमा हुँदै आएको खेती प्रणालीलार्इ आधुनिक र बढी उत्पादन हुने प्रविधिको बारेमा कृषकलाई सिकाउँदै आएको प्रबन्धक मिश्रले बताए ।
४ हजार ५०० बिगाहा क्षेत्रफलमा हुँदै आएको उखु खेतीको प्रबर्द्धनकालागि चिनी मिलले बेलौरीदेखि परासनसम्म ७ वटा केन्द्र बनाएको छ । १८ हजार क्विन्टल प्रतिदिन क्रसिङ क्षमता भएको भागेश्वर सुगर मिलले कृषकहरुलाई लाभान्वित बनार्इ चिनीको उत्पादन वृद्धिगर्न कारखानाले उन्नत जातका उखुका Co-०२३८, Co-०२३९, Co-०११८, Co-९८०१४, Coj-६४, Up-०५१२५, Cos-९६२६८, Cose-०३२३४, Cos-०८२७२ जातका उन्नत उखुको बीउ कृषकहरुलाई वितरण गरिरहेको प्रबन्धक मिश्रले बताए । कृषकहरुको उत्पादन बढाई आर्थिक स्तर उकास्न सघाउ पुग्ने ट्रेन्चर, एमपी प्लाउ न्यून र सहुलियत दरमा बितरण गर्दै आएको भागेश्वर चिनी कारखानाले जनाएको छ ।
उखुको उत्पादन वृद्धि गर्न कार्तिक महिनामा रोपेको उखु उत्कृष्ट देखिएकोले यसलाई अभियानकै रुपमा लगिएको बताइएको छ । उखुबालीमा देखिएको गवारो रोग नियन्त्रणमा सक्षम देखिएकाले कार्तिके उखुको प्रबर्द्धनका लागि कारखानाले जनचेतनामुलक अभियान थालेको उखु महाशाखाका प्रबन्धक मिश्रले बताए । उखु उत्पादनका हिसाबले अब्बल रहेको बेलौरी पुनर्वास क्षेत्रमा उखुको उत्पादन बढाई यस क्षेत्रको आर्थिक समृद्धि बढाउन चिनी कारखानाले हरेक गाउँ टोलमा बाली रोप्ने विधि र समयका बारेमा किसानलाई जनचेतनामुलक कार्यक्रम चलाउदै आए पछि कृषकहरुमा उत्साह बढेको छ । यो संगै मिलले उखुबालीमा देखिएको रोगको निदानका लागि जेटिए,सुपरभाइजर द्वारा किसानको बारीमै गइ परामर्श दिने ब्यबस्था मिलाएको उनले बताए ।