काठमाडौं। विराटनगरमा घाइते भएर उपचारकै क्रममा भारत गएका मधेशी मोर्चाको एक घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो यतिखेर भारतीय सरकारको मेजमानी पाएर
फर्केका छन्। दुई साता लामो उपचार यात्रापछि स्वदेश फर्किए लगत्तै महतोले प्रधानमन्त्रीले वार्ताका लागि बोलाएकाले काठमाडौं आएको बताए। प्रधानमन्त्री केपी ओलीले मधेसी मोर्चाका माग पूरा गर्ने बचन दिएकाले माग पूरा हुने विश्वास व्यक्त गरेका उनले प्रधानमन्त्रीले छिट्टै समस्याको समाधान हुने विश्वास दिलाएको समेत बताए।
भारतीय सरकारको मेजमानीमा भारतमा भेटघाटमा व्यस्त उनले चाहेकाजति अधिकांशसँग भेटघाट गरे। उनको भारत सरकारले मेजमानी गरिरहँदा मधेशी मोर्चाको साझा नेताको छवी वनाएका महन्थ ठाकुर उपचार कुटनीतिमा आइतवार नै
दिल्ली गए। तमलोपा अध्यक्ष महन्थ ठाकुरले दिल्लीस्थित मेदान्त अस्पतालमा खुट्टाको उपचारका लागि चिकित्सकसँग सोमबारका लागि समय लिएको बताएका छन्। उपचारबाहेक कुनै औपचारिक राजनीतिक/कूटनीतिक भेटघाट तय नगरिएको भनिएपनि दलहरु सहमति नजिक पुगेको देखिदै गर्दा ठाकुरको दिल्ली भ्रमणलाई उपचार बाहकेको राजनीतिक रुपमा पनि हेरिएको छ। महतो आउँदै गर्दा ठाकुर उपचारको नाममा किन भारत गए धेरैले प्रश्न गरेका छन्।
किन हुँदैछ सहमति?
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आन्दोलन शुरु गर्दा मधेशका प्रमुख ४ राजनीतिक दल सक्रिय थिए। आन्दोलनरत दलका सबैभन्दा उग्र रुपमा राजेन्द्र महतो देखिएका थिए भने मोर्चाभित्रै अन्य राजनीतिक दल र अन्य शक्तिकेन्द्रहरुले बुझेको मोर्चाको नेता थिए महन्थ ठाकुर। राजनीतिमा लामो अनुभवका आधारमा उनको सुझवुझपूर्ण नेतृत्वले मोर्चमा उनी अभिभावकका रुपमा थिए। उनकै कारण मोर्चामा धेरैको भरोसा थियो।
पाँच महिनाअघी आन्दोलन शुरु हुनुभन्दा पहिले मोर्चाले कसरी आफ्ना माग पुरा गराउने र सरकारलाई आफ्ना माग पुरा गराउन वाध्य पार्ने रणनीति बनाएको थियो। जुलुस धर्ना हडताल लगायतका आन्दोलनका कार्यक्रमबाट सरकार ठाउँमा नआए के गर्ने भन्नेमा मोर्चाभित्र भएको बहसपछि नाकावन्दीको कार्यक्रम ल्याउने उसको रणनीति थियो। तर सीमामा हुने नाकावन्दीमा छिमेकीले सहयोग नगरे त्यो सफल हुने थिएन। तर औपचारिक रुपमा नेपाललाई नाकावन्दी लगाउने कारण पनि भारतसँग थिएन। न उसले अन्तराष्ट्रिय कानुन अनुसार नाकावन्दी नै लगाउन सक्थ्यो। त्यसैले मोर्चाको आन्दोलनलाई समर्थन जनाउन उसले नयाँ विकल्प दियो। नाकामा मोर्चाले अवरोध गर्ने सुरक्षाको कारण देखाउँदै भारतले मुख्य नाकाहरुबाट सामान नपठाउने। तर अन्तराष्ट्रिय समुदायलाई देखाउनका लागि उसले नाकावन्दीको बेलामा पनि ५ देखि २५ प्रतिशत सामान भने पठाउने। तर उसले यो धेरै समय गर्न सक्ने अवस्था थिएन।
नाकावन्दीको योजना बनाउन बसेको वैठकमा मोर्चाका तर्फबाट भारतीय पक्षलाई के आश्वस्त पारियो भने १५ दिन नाकामा अवरोध पुग्यो भने अत्यावश्यक सामग्रीको अभावमा सरकार घुडा टेक्नेछ। भारतीय पक्षले आशंका व्यक्त गर्दै सोधिदा ठाकुर सहितका नेताहरुले १५ दिनमा सरकार आफ्ना माग पुरा गराउन सहमत हुने अवस्था आउने व्रिफिङ भयो। सो वैठकमा भएको एक स्रोत भन्छ सो जानकारी भारतीय गृह प्रसासन र विदेश मन्त्रालय र त्यहाँको नेतृत्वलाई पनि पठाइयो।
तर नाकामा केन्द्रित आन्दोलन १५ दिनभन्दा बढी समयसम्म पनि जारी रहँदा पनि न सरकार झुक्ने अवस्था भयो न आन्दोलन अझ तेज भयो। भारत विरुद्धको भावना नेपालमा डढेलो सल्के झै विस्तार भयो। जस्ले १५ दिनमा सरकार झुक्छ भनेर विश्वास दिलायो उसकै कार्यकर्ता आफै आन्दोलन तुहाउन लागे। उनीहरु स्वयं अभावको मौका उठाउँदै पेट्रोलियम पदार्थको तस्करीमा लागे। आपूर्ती असहज हुँदा सरकार विरुद्ध जनस्तरमा आक्रोश बढ्छ भन्ने आँकलन केहि सहि भएपनि सोचेजति भएन। त्यसैमा आन्दोलनकारीहरुको योजना असफल झै देखियो। नेपालमा आपूर्ती असहज हुँदा महङगी बढ्यो। सामानको अभाव भयो। कालोवजारी भयो। तर राज्य संयन्त्र ठप्प नै चाहि भएन। मधेशबाट औपचारीक रुपमा सामान नआएपनि महङगोमा भएपनि अनौपचारीक रुपमा सामान आइनै रह्यो। १५ दिनमा काठमाडौंले घुँडा टेक्छ भनेर भारतलाई दिलाइएको विश्वास त्यहि तस्करी र कालोबजारी गर्ने मधेशीहरुकै कारण सफल हुन सकेन। तस्करीमा मधेशी नेताहरु र अरु पार्टीका नेताहरुको पनि संगठीत लगानी थियो।
मधेशको राजनीतिलाई नजिकबाट बुझेकाहरु भन्छन भारत यहिबाट शसंकित भयो। त्यसमा पनि यहि अस्थिरताको फाइदा उठाउँदै सीमामा हुन सक्ने अन्य गतिविधीले पनि भारत झस्कियो। वीरगञ्ज नाका वन्द भएको बेला सीमाका कतिपय छोटी भन्सार र आवातजावत गर्न मिल्ने खुल्ला सीमाबाट सामानहरुको निर्वाध ओसारपसारमा भारतीय सीमा सुरक्षाबलको संलग्नता पनि भारतीय सुरक्षा एजेन्सीहरुको टाउको दुखाइ भयो। नेपाल प्रहरीको तर्फबाट तस्विर सहित पठाइएको एक रिपोर्टमा भारतबाट सावुनको केमिकल कसरी नेपाल प्रवेश गराइएको थियो। त्यसमा एसएसवीले कसरी सहयोग गरेको थियो भन्ने उल्लेख थियो। सो रिपोर्टपछि भारतीय सुरक्षा अधिकारीहरु हच्किए। भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलकहाँ समेत पुगेको सो रिपोर्टपछि वोर्डरमा बसेका भारतीय सुरक्षाकर्मीहरु एक ट्रक सामान पठाउन ५० हजारमा विक्छन भने केहि बढी रकम पाए भने के के निकासी पैठारीमा संलग्न हुनसक्छन भनेर चिन्ता व्यक्त गरिएको थियो। नेपाल सरकारलाई गलाउन मधेशी मोर्चालाई सहयोगमा आएको भारत एकातिर मोर्चाका कार्यकर्ताको तस्करी धन्दा र अर्कातिर आफ्नै सुरक्षाकर्मीको पैसामा बिकेको कुराले आफ्नो निर्णय गलत भयो भन्नेमा पुगेको थियो।
तरपनि राजनीतिक र कुटनीतिक रुपमा भारतमाथि परेको दवावमा उसले पनि फेस सेभिङ गर्नुपर्ने थियो। छिमेकीलाई चिढ्याएर मात्र हुन्न भन्ने ढीलो बुझेको भारतको संस्थापन पक्षले अब मोर्चालाई कसरी सहमति गर्न लगाउने र उसका कुरा बढीभन्दा बढी पुरा हुने अवस्था पनि बनाउने रणनीतिमा लागेको छ। यसैको परिणाम मोर्चाका नेताहरुलाई भारत निम्तो र भेटघाट।
भारत सधै दाहिना हुँदैन
मोर्चा आन्दोलनमा जाँदा भारतले केहि शर्त राखेको थियो। कतिदिनमा सरकार मोर्चाका माग पुरा गराउन सहमत हुन्छ। मोर्चाका नेताहरुले दिएको १५ दिनमा केहि नहुने बित्तिकै भारत रणनीति परिवर्तन गर्ने सोचमा थियो। अन्तराष्ट्रियस्तरमा भारतको छवी विग्रदै गर्दा उसले मोर्चाको आन्दोलनलाई देखाएर उम्कने गरेपनि आन्दोलनकारी नै नभएको नाकाबाट पनि सामान आपूर्ती नगर्दा भारतमाथि दवाव कायमै थियो। भलै नेपाल सरकारले आक्रामक कुटनीति नलिएपनि नेपाली डायस्पोराहरुले यो विषयलाई अन्तराष्ट्रियकरण गर्नमा मद्धत गरे। चौतर्फी घेरावन्दीमा परेको भारतले त्यसपछि मोर्चालाई पनि निकासको लागि लचक हुन सुझाएको मोर्चा स्रोतले बताएको छ। जस्को भरमा आन्दोलनलाई सफल बनाउँछु भनेर लागेका थिए उनीहरुले नै दवाव दिएपछि मोर्चाका नेताहरु पनि कसरी सेफल्यान्डिङ गर्ने भन्नेमा पुगेका थिए। मधेशका नागरिकहरुको भावना त मधेशलाई अधिकार दिलाउने भन्नेमा थियो। तर उठान गर्दा जुन सहमति भएको थियो त्यसले यो अधिकार दिलाउन केहि ढीला भयो। समानुपातिक समावेशीताको कुरा दलहरुले संविधान संसोधनको मार्फत पुरा गर्ने भएपनि सिमाङकनको कुरा केहि समयको उधारोमा नै हुने भयो। राजेन्द्र महतो विराटनगरमा घाइते भएपछि विस्तारै सेलाएको झै देखिएको आन्दोलन अब विश्राम लिने चरणमा पुगेको छ। हैन आन्दोलनलाई अगाढी बढाउनुपर्यो भन्न गएकाहरुलाई मोर्चाका भरोसायोग्य नेता ठाकुरले भने अब आन्दोलन सकियो। हामीले सकेनौ। तपाइहरुलाई हामी समर्थन गर्छौ आन्दोलन जारी राखौ भनेर गएकाहरुलाई पनि ठाकुरले भने "तपाइहरु १५ दिन आन्दोलन टिकाउ भन्नुहुन्छ तर अब १५ मिनेट पनि आन्दोलन टिक्दैन।"
भारतले प्रष्ट शब्दमा मोर्चाका नेताहरुदलाई सकेसम्म बढी उपवल्धी हासिल गर्नेगरि आन्दोलन टुङग्याउन दिएको सुझावपछि मोर्चाका नेताहरु दवावमा परेका हुन्। हुनपनि भारतमा उपचारमा गएका मोर्चा नेता महतोलाई उपचारपछि फलोअपको नाममा केहि दिन उतै राखेर भारतका विभिन्न शक्तिहरु मार्फत नेपालमा सहमतिको लागि मार्ग प्रसस्त गराएको बुझाइ मोर्चामै छ। भेटका क्रममा महतोलाई सबै नेता तथा कुटनीतिज्ञहरुले मधेश आन्दोलनका अनेक आयामका बारेमा अनेक प्रश्न गरेका थिए। भारतीय विदेश मन्त्री र गृहमन्त्रीसँग भेटेर नाकामा कडाइ गर्न आग्रह गरेका महतोलाई उनीहरुले पहिला १५ दिनमा सक्नुभएन अब सक्ने आधार के भनेर सोधेका थिए। मोर्चाका नेताहरुलाई भारतीय पक्षबाटै भारतीय गृहमन्त्री र विदेशमन्त्रीको संवादको कुरा सुनाइएको छ। 'महतोजीको अनुहार हेरेर हामीले नेपालसँगको सम्वन्ध दाउमा राखिरहन सक्दैनौ' गृहमन्त्री र विदेशमन्त्रीको संवादको अंश मोर्चाका नेताहरुलाई भारतीय पक्षले सुनाएको छ। यहि बिचमा चीनिया पक्षबाट भएको पहल र नेपालका प्रधानमन्त्रीको चीन भ्रमणको विषय अगाडी आउँदा भारत आफै पनि रक्षात्मक भयो। त्यसअघी नै भारत नेपालको सन्दर्भमा एक हुन सकेको थिएन। सरकार बाहेकको शक्ति नेपालको पक्षमा थियो। यो अवस्थामा भारतले नेपालको मामिला चाँडो समाधान होस भन्ने चाहना रा्ख्नु स्वभाविक थियो।
फेससेभिङको पथमा
नेपालको तराइ मधेशको आन्दोलनले प्रत्यक्ष अप्रत्यक्ष रुपमा भारतको चासो र चिन्ता बढाइरहँदा यो बिषय भारतीय छलफलको बियष हुनु स्वभाविक थियो। यस बिषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पनि विरोध भइरहँदा मोदी स्वयंले बोलाएको बैठकमा विदेशमन्त्री सुष्मा स्वराज, राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल, विदेश सचिव एस जयशंकर र नेपालका लागि भारतीय राजदूत रञ्जीत रे सहभागी थिए। नाकाबन्दीका कारण नेपालमा भारत विरोधी भावना बढेकोले नाकाबन्दीलाई अझ लम्बयाउन नहुने तर मधेशले केही अधिकार नपाएरै नाकाबन्दी खोल्यो भने पहाडसंगै मधेशमा पनि भारत विरोधी भावना बढ्ने खतरा रहेकोले भारतीय संस्थापन पक्षले सहमति गराउन र अधिकार प्राप्त भएको अनुभुति पनि गराउने गरि निर्णयमा पुग्न मोर्चालाई सहमति गराएको जानकारहरूको भनाई छ।
नेपालका प्रमुख दलहरु पनि केहि दिनभित्रै सहमतिमा पुग्ने तयारी गरिरहँदा मोर्चा पनि यसमा सहमति जनाउने अवस्थामा पुगेको छ। यहाँ सहमति हुने अन्तिम तयारी हुँदा मोर्चाका संयोजक ठाकुर उपचार कुटनीतिमा दिल्ली जानु र महतो प्रधानमन्त्रीले बोलाएको भन्दै टुप्लुक्क झर्नुले आन्दोलनको वैठान हुने चरणमा पुगेको मोर्चाभित्र चर्चा छ। तर एकाथरी मोर्चाका नेताहरु महतोले सहमतिको प्रयासलाई भाड्न सक्ने डरले भारतले सम्झाइ बुझाइ पठाएको र उतैबाट नेपालमा उनको भेटघाटको तालिका समेत बनाएर पठाएको बताइन्छ। सिमाङकनको बिषयमा उधारोमा सम्झौता गरेको भनेर आरोप लाग्ने डरकै कारण ठाकुर पनि उपचार कुटनीतिमा दिल्ली लागेका छन्।
केहि दिनमा संविधान संसोधन हुने
मधेशी मोर्चा लगायत मधेशी जनताको भावनाको समेत कदर गर्दै तत्कालिन शुसिल कोइरालाको नेतृत्वको सरकारले संसदमा पेश गरेको संविधान संसोधन विधेयकलाई संसदबाट थप संसोधन सहित पारित गर्ने तयारी भएको छ। समानुपातिक समावेशीताको कुरालाई तत्काल संवोधन गरेर संघीय संरचनाको सिमाङकनको विषयलाई भने राजनीतिक सहमतिको आधारमा मिलाउने गरि संविधान संसोधनको तयारी गरिएको हो। सिमाङकनको विषयलाई संवैधानिक हैसियतको राजनीतिक संयन्त्र मार्फत सम्वोधन गर्ने कुरामा मोर्चासँग दलहरु सहमत हुने भएका छन्।