arrow

गणपति भण्डारीद्वारा आश्रमलाई आर्थिक सहयोग

logo
प्रकाशित २०७४ असोज ३१ मंगलबार
money-e1434183175402.jpeg

बागलुङ ।  मानवसेवा आश्रम, बागलुङ शाखालाई नेपाली सेनाको अर्जुनवाण गणका गणपति प्रमुख सेनानी अच्युतम भण्डारीले ५० हजार व्यक्तिगत सहयोग प्रदान गरेका छन्  । 

सोमबार प्रमुख सेनानी भण्डारीले सहयोग रकमको चेक आश्रमका अध्यक्ष मनिष रायमाझीलाई हस्तान्तरण गरे । सोही अवसरमा अर्जुनवाण गणको तर्फबाट आश्रमलाई खाद्यान्न लगायतका सामग्री समेत प्रदान गरिएको थियो । 

सहयोग हस्तान्तरणपछि प्रमुख सेनानी भण्डारीले मानिसले अरुका लागि बाँच्न सक्नुपर्ने धारणा राखे । ‘मानवीय सेवा नै सार्थक जीवनको कडी हो’, प्रमुख सेनानी भण्डारीले भने, “आफ्ना लागि सबै बाँचेकै हुन्छन्, अरुका लागि बाँच्नु ठूलो कुरा हो ।” उनले देश र नागरिकको हितमा जस्तोसुकै काम गर्न पनि नेपाली सेना तयार रहेको बताए। 

सेनाले आफ्नो मूल दायित्वका अतिरिक्त मानवीय सेवाका क्षेत्रमा सधैँ काम गर्दै आएको उनको भनाइ थियो । 

उनले विभिन्न कारणले सडकमा दुःखको दैनिकी काटिरहेका मानिसलाई सहारा दिएर आश्रमले उदाहरणीय काम गरेको प्रतिक्रिया दिए । आश्रमका अध्यक्ष मनिष रायमाझीले आश्रम स्थापनाको चरणदेखि नै नेपाली सेनाले सहयोग गर्दै आएको स्मरण गरे । 

गतवर्ष स्थापना भएको आश्रममा अहिले बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म १८ जनाले आश्रय लिएका छन् । 

सडक पेटीमा जीवन गुजारिरहेका सहाराविहीन व्यक्तिको जीवनयापनमा सघाउन आश्रम स्थापना गरिएको हो । आश्रममा रहेका अधिकांश व्यक्तिमा मानसिक समस्या देखिएको आश्रम व्यवस्थापनले जनाएको छ । 

खानपान, आवास, औषधोपचार, मनोरञ्जन लगायतका सेवा आश्रमभित्रै उपलब्ध गराउने गरिएको छ । शारीरिक र मानसिकरुपमा अशक्त, मनोरोगी, अनाथ, अपांगता भएर सडकमा अलपत्र परेका व्यक्तिलाई उद्धार गरी आश्रममा राख्ने गरिएको छ । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ