arrow

मनोनयन दर्तासँगै रुपन्देहीमा बढ्यो चुनावी माहोल

logo
भरत केसी 
प्रकाशित २०७४ कार्तिक १७ शुक्रबार
rupandehi_district_map.png

बुटवल । प्रतिनिधिसभा र प्रदेशसभाको यहि मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनको मिति नजिकिँदै जाँदा चुनावी चहलपहल बढ्न थालेको छ । 

मंसिर २१ गते दोस्रो चरणको निर्वाचन हुने रुपन्देही जिल्लामा पनि बिहीबार मनोनयन दर्तासँगै चुनावी चहलपहल बढेको हो । बिहीबार मनोनयन दर्ता गर्न पुगेका उम्मेदवारले विभिन्न किसिमले शक्ति प्रदर्शन गरेर मतदातालाई आफूप्रति आकर्षण गर्ने प्रयास गरेका थिए । निर्वाचनको माहोल र विगतका निर्वाचनमा दलहरूले पाएको मत हेर्दा यसपटक पनि मुख्य दलहरूबीच प्रतिस्पर्धा हुने देखिन्छ । यससँगै जिल्लाको दक्षिणी क्षेत्रमा मधेश केन्द्रित दलहरू पनि प्रतिस्पर्धी देखिएका छन् । 

चुनावी चहलपहलसँगै चुनावी प्रतिस्पर्धाका बारेमा आँकलनसमेत हुन थालेको छ । वाम पार्टीबीचको तालमेल सफल बनाउन जिल्लामा वाम पार्टीहरूले संयुक्त प्रचारप्रसारसमेत थालेका छन् । यो तालमेलपछि अर्को शक्ति नेपाली काँग्रेस पनि अन्य दलसित तालमेल गरेर निर्वाचनमा लागेको छ । जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाका क्षेत्रमा कुन शक्तिको कस्तो आँकलन छ त्यो धेरैको चासोको विषय बनेको छ । स्थानीय तहको चुनावपछि पनि धेरै ठाउँमा मतदाता थपिएका छन् । भर्खरै सम्पन्न स्थानीय तहको चुनावमा प्राप्त मतका आधारमा विश्लेषकहरूले चुनावी आँकलन गर्न थालेका छन् । स्थानीय तहको निर्वाचनका आधारमा जिल्लाका अधिकांश क्षेत्रमा वाम गठबन्धन बलियो देखिन्छ । 

जिल्लामा स्थानीय तहको निर्वाचनपछि भएको मतदाता नामावली संकलनबाट झण्डै ६१ हजार नयाँ मतदाता थपिएका छन् । जिल्लामा अहिले पाँच लाख २२ हजार ६०२ मतदाता छन् । यीमध्ये महिला दुई लाख ६३ हजार ८१३, पुरुष दुई लाख ५८ हजार ७८३ र छजना तेस्रोलिङ्गी मतदाता छन् । जिल्लामा आउँदो मंसिर २१ गतेको चुनावका लागि ५९८ मतदान केन्द्र र २०८ मतदानस्थल तोकिएको जिल्ला निर्वाचन अधिकारी अयोध्याप्रसाद भण्डारीले जानकारी दिए । 

जिल्लामा हालैको स्थानीय निर्वाचनमा एमाले-माओवादीले काँग्रेस-राप्रपाले भन्दा झण्डै १५ हजार मत बढी ल्याएका छन् । यहाँका १६ वटा स्थानीय तहमा प्राप्त मतलाई अहिले विभाजन भएको निर्वाचन क्षेत्रमा छुट्याएर बनाइएको तथ्यांकअनुसार जिल्लाको समग्र प्राप्त मतमध्ये एमाले-माओवादीको मत एक लाख २४ हजार ६७३ छ भने काँग्रेस-राप्रपाको मत एक लाख नौ हजार ७४४ छ । 

रुपन्देहीमा एमालेले मात्रै ९९ हजार ५६७ मत, काँग्रेसले ९१ हजार ३८ मत, माओवादी केन्द्रले २५ हजार १०६ मत र राप्रपाले १८ हजार ७०६ मत ल्याएका थिए तर यहाँ संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक, स्वतन्त्र, जनमुक्तिको समेत मत उल्लेख्य छ । संघीय समाजवादी फोरमले मात्रै २८ हजार ६४८ मत ल्याएको थियो । यो स्थानीय तहमा संख्याका आधारमा रुपन्देहीमा फोरम दोस्रो दल बन्यो । त्यस्तै फोरम लोकतान्त्रिकले १४ हजार ३९९ मत पाएको थियो । त्यस्तै स्वतन्त्रका उम्मेदवारले आठ हजार ४२० र जनमुक्तिले सात हजार ७७७ मत पाएका थिए । 

जिल्लाका १६ वटा तहमध्ये सात तहमा प्रमुख उपप्रमुखसहित बहुमत स्थानमा एमालेले जितेको छ । स्वतन्त्रका रूपमा चुनाव जितेका राजपाका नेता जितेन्द्र (बब्लु) शुक्ला हालै एमालेमा प्रवेश गरेका छन् । उनी सेमरीमाई गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ । शुक्लासहित राजपाका राष्ट्रिय उपाध्यक्ष, पूर्व सांसद ओमप्रकाश यादव गुल्जारीसहितका थुप्रै केन्द्रीय नेता एमालेमा प्रवेश गरेका छन् । यो आधारमा स्वतन्त्रका रूपमा खसेको राजपालगायतको मत अब सोही अवस्थामा अवस्था छ । एमाले-माओवादी केही कमजोर देखिएका स्थानमा राजपाका केन्द्रीय नेताहरू ठूलै शक्तिसहित एमालेमा प्रवेश गरेपछि पहिलेको आँकलन फेरिने एमाले जिल्लाका प्रचार विभाग प्रमुख तेजेन्द्र केसी दाबी गरे । 

स्थानीय तहमा प्राप्त मतअनुसार रुपन्देहीमा प्रतिनिधिसभाका लागि क्षेत्र नं १ मा एमाले-माओवादीको मत ३३ हजार ७३० छ भने काँग्रेस-राप्रपाको मत २६ हजार ७४६ छ । यही क्षेत्रमा संघीय समाजवादी फोरमले चार हजार ५८८ मत ल्याएको छ । यो क्षेत्रमा एक लाख १२ हजार १३१ मतदाता छन् । यस्तै क्षेत्र नं २ मा एमाले-माओवादीको मत ३६ हजार २७९ रहेको छ भने काँग्रेस-राप्रपाको २१ हजार ५४१ मत छ । जनमुक्तिले दुई हजार ७४५ मत ल्याएको यो क्षेत्रमा एक लाख पाँच हजार २०६ मतदाता छन् । 

क्षेत्र नं ३ मा एमाले-माओवादीको मत २९ हजार २८५, काँग्रेस-राप्रपाको २७ हजार ९३३ छ । यहाँ संघीय समाजवादी फोरमले चार हजार १९७ र फोरम लोकतान्त्रिकले दुई हजार २०९ मत ल्याएका थिए । यो क्षेत्रमा एक लाख नौ हजार २७८ मतदाता छन् । यसैगरी क्षेत्र नं ४ मा एमाले-माओवादीको मत धेरै कम छ । यो क्षेत्रमा हालै राजपा, स्वतन्त्र, संघीय समाजवादी फोरमलगायतका विभिन्न दलबाट एमालेमा प्रवेश गरेकाहरूको उल्लेख्य संख्या रहेकाले यो मत बढ्ने निश्चित छ । यो क्षेत्रमा एमाले-माओवादीको मतमात्रै चार हजार २१७ आएको थियो भने, काँग्रेस-राप्रपाको मत १२ हजार २९१ छ । यो क्षेत्रमा संघीय समाजवादी फोरमले नौ हजार ३४०, फोरम लोकतान्त्रिकले छ हजार ९७८ र स्वतन्त्रका रूपमा सात हजार ४५७ मत आएको थियो । यो क्षेत्रमा ८९ हजार ८३५ मतदाता छन् । 

क्षेत्र नं ५ मा एमाले-माओवादीभन्दा काँग्रेस-राप्रपामात्र ७१ मतले अगाडि छ । यो क्षेत्रमा एमाले-माओवादीको मत २१ हजार १६२ छ भने काँग्रेस-राप्रपाको मत २१ हजार २३३ छ । यहाँ संघीय समाजवादी फोरमले १० हजार ९२ मत ल्याएको थियो भने फोरम लोकतान्त्रिकले तीन हजार ८०७ मत । क्षेत्र नं ५ मा एक लाख छ हजार १५३ मतदाता छन् । रुपन्देहीको १० वटा प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये छ वटामा वाम गठबन्धन धेरै मतले अगाडि देखिन्छ । बाँकी चार प्रदेशसभाका क्षेत्रमा काँग्रेस-राप्रपा अगाडि छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ