गौर (रौतहट)। नेपाली नक्कली रु एक हजार र रु पाँच सयका नोट बनाउने यन्त्रसहित एक सक्रिय गिरोहलाई रौतहट प्रहरीले पक्राउ गरेको छ । नक्कली नोटका कारोबारमा संलग्न भएको आरोपमा नोट बनाउने यन्त्रसहित विभिन्न स्थानबाट छ जनालाई पक्राउ गरी रौतहट प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । उनीहरुका साथबाट रु एक हजार र रु पाँच सयका गरी रु ४९ हजार पाँच सय नेपाली नक्कली नोट बरामद भएको प्रहरी उपरीक्षक डा गणेश रेग्मीले बताए ।
प्रहरीका अनुसार सखुअवा धमौरा गाविस–३ का नारायण चौधरीका घरबाट नोट छाप्ने र विभिन्न रङका कागज निकाल्ने यन्त्र तथा कागज समेत बरामद भएको छ । बिहान प्रहरीले नारायण चौधरीको घर खानतलासी गर्दा घरभित्र भयाङमुनि खाल्डो खनेर सुटकेसभित्र लुकाइएको अवस्थामा पैसा छाप्ने प्रिन्टर फेला पारेको थियो ।
पक्राउ पर्नेमा रौतहट, गौर–७ सबगढाका जुगलकिशोर कुसवाहा, गौर–९ का रामप्रवेश यादव र चन्द्रपुर –१४ बाल्चनपुरका ओसी महम्मद, धनुषा जिल्ला देउपुराका मनोजकुमार महतो र बारा छतौनाका अभय कुमार छन् ।
नक्कली नोट प्रायः गरेर जुवाको खेल, हाटबजार, ज्याला दिँदालिँदा, खसीबोका खरिद गर्दा अभियुक्तले प्रयोग गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।