arrow

'प्रकाश प्रचण्डपुत्र मात्रै होइन, कम्ब्याट लगाएर बन्दुक बोकेको योद्धा हो' (अन्तर्वार्ता)

logo
प्रकाशित २०७४ मंसिर ३ आइतबार
prakash.jpg

माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको असामयिक निधनपछि हामीले माओवादी निकट, अखिल क्रान्तिकारी पूर्व अध्यक्ष, नरेन्द्र न्यौपानेलाई प्रकाशसँगको भेट र अनुभवबारे जिज्ञासा राखेका छौँ ।  

प्रकाश दाहाललाई तपाई कति नजिकबाट चिन्नु हुन्छ ?
–हामी अत्यन्तै दुःखद घडिमा छौँ । अकल्पनीय घटना घट्न गएको छ । प्रकाश दाहाललाई म नजिकबाटै चिन्छु । युद्धको समयमा हामी फरक–फरक कार्यक्षेत्रमा काम गर्थ्यौँ । उहाँले हेडक्वार्टरमा काम गर्नु हुन्थ्यो । हामी बाहिरी क्षेत्रमा काम गर्थ्यौँ । त्यति वेला हाम्रो जजिकबाट चिनजान, देख भेट खासै हुन सकेको थिएन । नामले चिन्ने कुरा भयो । शान्तिप्रक्रिया प्रारम्भ भएपछि हामीले नजिकबाट चिन्ने र सहकार्य गर्ने मौका मिल्यो । अत्यन्तै मिलनसार र कुशल नेता तथा कुशल व्यवस्थापक हुनुहुन्थ्यो । सोच्नै नसकिने यो घटनाले अत्यन्तै पीडाको अनुभूति भएको छ ।

द्वन्द्वकालमा तपाईहरुको भेट हुन्थ्यो ?
–द्वन्द्वकालको अवधिभर हाम्रो भेट भएन । उहाँले हेडक्वार्टरमा काम गर्नु हुन्थ्यो । अध्यक्षसँग भेट भएको बेलामा पनि भेट भए नभएको खासै याद गरिएन ।

उहाँसँग राम्ररी भेट, अर्थात् सँगै बस्ने र खाने अवसर कहिले जुट्यो ?
–२०६३ पछि शान्ति प्रक्रिया सुरु भयो । जतिवेला अध्यक्ष हाम्रो कार्यक्रममा आउनु हुन्थ्यो । विद्यार्थीको कार्यक्रममा आउनु हुन्थ्यो । हामी पश्चिमतिर रहँदा खेरी । पश्चिमतिर बढी काम गरे मैले । पश्चिमतिर अध्यक्ष आउँदा खेरी २०६३–०६४ पछि सँगै खाने र सँगै बस्ने अवसर मिल्यो । कार्यक्रम विशेषमा भेट हुन्थ्यो ।

द्वन्द्वकालमा भेट्न खोज्यो भने सजिलै भेटिन्थ्यो कि ?
–त्यो बेला भेटेर बस्ने समय नै कहाँ हुन्थ्यो र ? सबै आ–आफ्नै काममा तल्लिन हुन्थ्यौँ । उहाँ हेडक्वार्टरमा भएकाले भेट्न सकिँदैन थियो । शान्ति प्रक्रियामा आएपछि सहज भयो । त्यसपछि उहाँलाई सजिलै भेटिन्थ्यो ।

प्रकाश दाहालको स्वभावलाई लिएर कतिपयलाई अनौठो लाग्थ्यो, तपाईहरुलाई उहाँको स्वभावलाई लिएर अचम्मित बनाएको कुनै क्षण छ ?
–हामीलाई त्यस्तो आश्चर्य लागेको घटनाक्रम नहोला । मलाई कस्तो लाग्थ्यो भने, अत्यन्तै मिजासिलो, हँसिलो, साथीहरुसँग अतिनै मिल्ने मिलनसार हुनुहुन्थ्यो । ठट्टा पनि गर्नु हुन्थ्यो । उहाँसँग बस्दा गरेका गफहरु अहिले पनि सम्झना आउँछ । खासगरी उहाँको सरलता सरल स्वभावले उहाँ सबैलाई मन पर्ने व्यक्ति हो । त्यो तह, भूमिकामा रहेको व्यक्ति अलिक अफ्ठ्यारो पो छन् कि भन्ने कसैलाई अनुभूति भएन । एकदमै सरल र सजिलो हुनुहुन्थ्यो । त्यो स्वभाव अविस्मरणीय हो ।

छोरो भएको नाताले मात्र नभई भूमिकाको हिसावले अध्यक्ष प्रचण्डको सबैभन्दा नजिकको व्यक्ति प्रकाश नै हुनुहुन्थ्यो, प्रचण्ड प्रधानमन्त्री हुँदा सँगै काम गर्ने माैका मिल्यो ?
–निरन्तर लामो बसाई त्यसरी भएन । म विद्यार्थीको अध्यक्ष भएको हिसावले प्रचण्ड पछिल्लो पटक प्रधानमन्त्री हुँदा भेट बाक्लो नै थियो । निर्वाचनमा नजिक भएर काम पनि गरियो । सरसल्लाह गर्न प्राय गइरहनु पर्ने भएकाले नजिकबाट छलफल भइरहन्थ्यो । त्यो अवस्थामा पनि उहाँमा त्यस्तो कुनै घमण्ड थिएन । उहाँले समाधान दिनु हुन्थ्यो । छोरालाई आफु नजिक राखेर नातावादलाई बढावा दिएको भनेर जतिप नि बाहिर कुराहरु आउँथे तर प्रकाश दाहालले कुशल कमाण्डरको भूमिका निर्वाह गरेका थिए । उहाँले आफु पढ्नेदेखि अन्य कयौँ नीजि कामहरु गर्न सक्नु हुन्थ्यो । अरु कुनै सहयोगीलाई काम दिएर पनि आफु आफ्नै तरिकाले चल्न सक्नु हुन्थ्यो तर, उहाँ आफै काममा लाग्नु हुन्थ्यो । यो अचम्म नै थियो । मिडियालाई सूचना सम्प्रेषण समेत आफैले गर्नु हुन्थ्यो । व्यवस्थापन पुरै ढुक्कनै थियो । समस्याको समाधान पनि उहाँले नै निकाल्नु हुन्थ्यो । यो सबै आफै गरेको देख्दा अद्भुदै क्षमता भएको व्यक्ति हो, भन्ने लाग्थ्यो ।

प्रकाश दाहाल हामीमाझ रहनु भएन, उहाँबारे अब धेरै सोच्नु उपयुक्त हुँदैन, एउटा वृत्तमा प्रचण्डले आफ्नै छोरा च्याप्यो भन्ने चर्चा हुन्थ्यो, त्यति बेला तपाईहरुलाई कस्तो लाग्थ्यो ? तपाईहरु चैँ के सोच्नु हुन्थ्यो ?
–हामीलाई के लाग्थ्यो भने, प्रचण्डको पुत्रको रुपमा उहाँले जन्म लिएको स्थिति मात्रै होइन, भूमिकाका हिसाबले उहाँ एउटा कार्यकर्ता र उहाँ एउटा कुशल कमाण्डर पनि हो । जनयुद्धपनि लडेको हो ।  कम्ब्याट लगाएर, बन्दुक बोकेर हिँडेको एउटा योद्धा हो । हामी अरु कार्यकर्तालाई मूल्याङ्कन गर्ने र उहाँलाई मूल्याङ्कन गर्ने एउटै तराजुमा राख्ने हो भने, उतैतिर भारी हुन्छ । उहाँ प्रचण्डको छोराको रुपमा जन्म लिनुको मूल्याङ्न नगर्ने हो भने उहाँनै ओजिलो हुनुहुन्थ्यो । माओवादीको हेडक्वार्टरमा दिइएको जिम्मेवारी इमानदारी पूर्वक निर्वाह गर्ने कुशल नेता पनि हो । त्यसलाई फरक अर्थले अथ्र्याउनु जरुरी छैन भनेर भन्ने गर्दछौँ । हाम्रो बुझाई नै त्यही थियो ।

उहाँको खानपान अलिक अचाक्ली थियो भन्ने चर्चा हुन्छ, तपाईले नजिकबाट हेर्दा खानपानबारे केही बुझ्ने मौका पाउनु भयो ?
–मैले त त्यो देखिन । उहाँको खानपानबारे त्यस्तो खासै केही फरक देखिन । बाहिर आएका चर्चा परिचर्चा एक ठाउँमा होलान् । पछिल्लो समय उहाँले आफ्नो खानपानलाई पनि सुधार गर्नु भएको हामीलाई जानकारी छ । खासगरी स्वास्थ्य, परिवार र समाज सुहाउँदो नै थियो भनौ । उहाँले पार्टीको जिम्मेवारी र आफ्नो भूमिकालाई ख्याल गरेर उहाँले त्यसलाई निकै व्यवस्थिति बनाउनु भएको थियो । व्यवहारमै त्यो कुरा झल्किन्छ । तपाईहरु आफैले पनि देख्नु भयो होला । खानपान बाहिर चर्चा भएजस्तो थिएन । मानवीय हिसावले केही कमिकमजोरी हुन्छन् । मानवीय समस्याहरु कतै देखिन्छन् नै । देखिँदैनन् भन्ने होइन । उमेर र सँगतका हिसाबले कहिलेकाँही देखिने समस्या स्वभाविक हुन् ।

खानपानमा सौखिन हुनुहुन्थ्यो भनिन्छ, जसको कारण स्वास्थ्य समस्या आएको भन्ने एउटा आँकलन छ, त्यो कति सत्य हो ?

–आँकलन जे पनि गर्न सकिएला । यो आँकलन घटना भइसकेपछि गर्ने आँकलन हो । सामान्य खानपान गर्ने र सामान्य जनजीवनमा बाँच्ने मान्छे नै हो उहाँ पनि । खानपानले मात्रै प्रभाव पार्ने भन्ने कुरा होइन । अन्य स्वास्थ्य समस्या पनि हुन सक्छन् ।

उहाँले एउटा उदाहरण प्रस्तुत गर्नु भएको थियो, ठूलो सानो भन्ने हुँदैन, वर्ग हुँदैन, क्रान्ति उत्पादनबाट मात्रै सम्भव छ भन्ने ध्येयले गाई फर्म पनि चलाउनु भयो, उहाँको निधनले युवा प्रेरणामा क्षति पुग्थ्यो भन्न मिल्छ ?
–स्वभाविकै भन्न सकिन्छ । उहाँले पहिले बंगुरपालन सुरु भो, त्यसपछि गाई फर्म सुरु गर्नु भो । माओवादी आन्दोलनभित्रै पनि अब उत्पादनमा जोड दिनुपर्छ भन्ने उहाँको दृढता थियो । उत्पादन संघर्षको माध्यमबाट क्रान्ति सम्भव छ, मुलुकको आर्थिक विकास हुन्छ र युवा पीडिलाई उत्पादनमा आकर्षित गर्नुपर्छ भन्ने उहाँको अभियान नै थियो । हाम्रो पार्टीले नीति नै बनाएको थियो । पार्टीको नीति कार्यान्वयन गर्ने क्रममा उहाँले व्यक्तिगत रुपमै भएपनि अभियान नै थाल्नु भएको थियो । सबैका लागि त्यो अनुकरणीय नै थियो । देशभित्रै युवा पीडिले केही गर्नु पर्छ भन्ने उदाहरण थियो । राजनीतिमा मात्रै भन्दा पनि एउटा कुशल व्यवस्थापक पनि भएर देखाउनु पर्दछ भन्ने भावना उहाँमा थियो । समाजिक क्षेत्र र व्यवहारिक क्षेत्रमा लागू हुने अभ्यास उहाँले व्यवहारतः नै देखाउनु भयो । त्यसैले उहाँको निधनले युवा पीडिमा कहीँ न कँही प्रभाव पार्छ नै ।

नीजि जीवनलाई लिएर हुने टिकाटिप्पणीलाई प्रकाशका पछिल्ला अभ्यासहरुले मेटायो भनौ ?
–धेरै कुरा हामीले हेर्नु पर्छ । कि सुरुवातमा थोरै समस्या र केही कमिकमजोरीहरु छन् र थिए भन्ने कुरालाई हाइलाइट गरिने टिकाटिप्पणी गलत हुन्छ । त्यसलाई सुधार गरेर जीवन व्यवहारमा सकारात्मक सन्देश दिएन जानसक्नु महत्वपूर्ण हो । एउटा रत्नकार डाँकु पछि गएर वाल्मिकि बन्ने सक्छन् भने, त्यो कुरालाई हामीले हेर्न सक्नु पर्दछ कि प्रकाश जीले यो अवस्थासम्म आइपुग्दा जे कुशलता प्रस्तुत गर्न सक्नु भो त्यो नै अहम छ । एक कुशल व्यवस्थापकका रुपमा पार्टीका निम्ति र युवा पीडिका निम्ति जुन भूमिका खेल्नु भो, उहाँको निधनले अपुरणीय क्षति पुगेको छ । त्यो कभर गर्न हामीले सकौँला या नसकौँला तर, यो ठूलो क्षति हो ।



नयाँ