arrow

मधेस–पहाड छुट्याउने चलखेल सफल हुँदैन :प्रधानमन्त्री ओली

‘काँग्रेसले धोका दियो’

logo
(रमेश गिरी)
प्रकाशित २०७२ माघ ७ बिहिबार
kp ili.jpg.jpeg
भक्तपुर । राष्ट्रियताका पक्षमा स्पष्ट अडान राख्दै आएका प्रधानमन्त्री केपी ओलीले मधेस र पहाड छुट्याउन ‘चलखेल’ भइरहेको भन्दै सरकारले त्यसलाई कुनै हालतमा सफल हुन नदिने दृढता व्यक्त गरेका हुन् । नेकपा (एमाले) काठमाडौँ जिल्ला सङ्गठन कमिटीले विहीबार बोडेमा आयोजना गरेको प्रथम बैठक तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालीको अस्तित्व र एकतालाई तलमाथि पर्न नदिने प्रतिबद्धता व्यक्त गरेका हुन् । 
 
एमालेका अध्यक्ष समेत रहनुभएका उहाँले आफूले देशले झुक्ने गरी कुनै कदम नचाल्ने बताउँदै दुनियाँका अरु मुलुक उपनिवेश हुँदा पनि नेपाल स्वतन्त्र रहेको  बताए । देशको स्वतन्त्रता, स्वाधीनता, सार्वभौमिकता र अखण्डताविरुद्व कुनै सम्झौता नगर्ने र अरु कसैलाई गर्न पनि नदिने ओलीले बताए । प्रधानमन्त्री ओलीले जनताद्वारा निर्वाचित दुई तिहाइ संविधानसभा सदस्यले बनाएको र पारित गरेको संविधान परिवर्तन गर्न असम्भव रहेको बताए । 
 
देशलाई अगाडि बढ्न नदिने र परिवर्तन संस्थागत हुन नदिने प्रयास चौतर्फी रुपमा उठे पनि देश परिवर्तनको गतिमा अघि बढिसकेको बताउँदै उहाँले संविधानको कार्यान्वयन गर्दै सरकार आत्मनिर्भरताको बाटोमा अघि बढ्ने बताए ।  प्रधानमन्त्री ओलीले देशमा विद्यमान भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् । प्रधानमन्त्री ओलीले आफ्ना अभिव्यक्तिलाई हावादारी भन्ने नै हावादारी भएको उल्लेख गर्दै तीन महिनामा यो सरकारले उल्लेख्य काम गरिसकेको र पुनःनिर्माणको महाअभियानसमेत शुभारम्भ भइसकेको बताए ।  सामाजिक सञ्जालमा सुनियोजित रुपमा आफ्नो विरोध भइरहेकाले त्यसको पछि नलाग्न ओलीले आग्रह गर्नुभयो । यो सरकारलाई देश र जनताको पक्षमा काम गर्न नदिने षड्यन्त्रसमेत भइरहेको उनले भने । 
 
सरकारले एक सय दिन पूरा गरिरहँदा उल्लेख्य काम गरेकैले प्रतिपक्षीले यो सरकारले केही गर्छ कि भनेर डराएको बताउँदै उनले सरकारले दुई वर्षमात्रै काम गर्न पाए मुलुकको कायापलट हुने बताए । ओलीले आफू सिंहदरबारमा फोटो झुन्ड्याउन प्रधानमन्त्री नभएको उल्लेख गर्दै मुलुकका लागि केही गरेर देखाउने दाबी गरे ।उनले काँग्रेसले यो सरकारलाई सहयोग नगरेर धोका र बेइमानी गरेको उल्लेख गर्दै सरकारलाई अप्ठ्यारो पार्न काँग्रेस पनि लागिपरेको बताए । 
 
तराईका केही स्थानमा अराजक समूहले परिस्थिति बिगार्ने कार्य गरिरहेकाले त्यसतर्फ सबै सचेत रहनुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले छिमेकीसँग सुमधुर सम्बन्ध कायम राख्र्दै राष्ट्रिय स्वाभिमानलाई बलियो बनाउने उल्लेख गरे । मुलुकलाई विद्युत् भार कटौती मुक्त, तुइन मुक्त, कृषिमा आधुनिकीकरण, शिक्षा र स्वास्थ्यमा राष्ट्र अनुकूलको व्यवस्था आवश्यक भएकाले सरकारको ध्यान त्यसतर्फ केन्द्रित हुने बताए । 
 
लगानीलाई सहज र फराकिलो बनाएर मुलुकलाई आत्मनिर्भरता, आधुनिकता र विकासतर्फ सरकार अघि बढ्ने उहाँको दाबी गरे । सबै नगरपालिका तथा गाविसमा हेलिप्याड निर्माण गरिनेसमेत योजना सरकारको रहेको प्रम ओलीको भनाइ थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ