arrow

विद्युत शवदाहबाट लास जलाउन सुरु

logo
प्रकाशित २०७२ माघ १० आइतबार
12645123_10207705578573662_8790877755746769034_n.jpg.jpeg
काठमाडौं। पशुपति क्षेत्र विकास कोषद्वारा सञ्चालित विद्युत् शवदाह भवनको औपचारिक उद्घाटन भई सञ्चालनमा आएको छ ।  कोषले आयोजना गरेको कार्यक्रममा विद्युत् शवदाह भवनको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरलले उद्घाटन गरेका हुन् । विश्वका हिन्दूहरुको आस्थाको केन्द्र पशुपतिनाथलाई प्रदूषणरहित बनाई कार्बनरहित बनाउन विद्युतीय शवदाह भवनले सहयोग पुग्नुकासाथै सस्तो र वातावरणमैत्री पनि हुने विश्वास व्यक्त गरे ।
 
परम्परागत रुपमा शवको अन्तिम संस्कार गर्दा धुवाँ पशुपतिमा धेरै हुने र गन्ध आउने भएको भन्दै उहाँले पशुपतिलाई पूर्णरुपमा आध्यात्मिक केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिए । पशुपतिमा दर्शन गर्न आउने विशिष्ट पाहुनालाई बस्ने स्थानको कमी भएको भन्दै मन्त्री पोखरेलले भने “भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पशुपतिमा आएर तीन घन्टा बस्नुभयो तर विशिष्ट अतिथि कक्ष नहुँदा उहाँलाई राम्रोसँग राख्न सकिएन ।” 
 
उनले आगामी आर्थिक वर्षमा विशिष्ट पाहुना राख्ने भवन निर्माणका लागि बजेट विनियोजन गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । पशुपतिमा बालाचतुर्दशीमा जताततै सतबीज छर्दा फोहर हुने भएकाले निश्चित स्थानको व्यवस्था गर्नुपर्ने जरुरी भएको भन्दै विद्युतीय शवदाह भवनसम्म शव ल्याउनका लागि पनि विद्युतीय सवारीसाधन ल्याउने व्यवस्था विस्तारै गर्नुपर्ने बताए । 
 
विद्युतीय शवदाहबाट शवदहन गर्दा सर्वसाधारणलाई पनि सस्तो, वातावरण पनि राम्रो, जताजतै सुगन्ध आउने फूलका बास्नायुक्त उद्यान निर्माणगर्नेसमेत आफ्नो योजना रहेको मन्त्री पोखरेलले भने । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टण्डनले ३३ वर्षको लामो सङ्घर्षपछि सो भवनको निर्माण गर्न सफल भएकोमा खुसी व्यक्त गर्दै सुरुमा छ महिनासम्म २४ घन्टै सो सेवा सञ्चालन गर्ने तयारी रहेको जानकारी दिए ।
 
आदर्श निर्माण मन्दिर र मारवाडी सेवा समितिले बेवारिसे शवको पैसा दिएर सहयोग गर्ने आजै घोषणा गरेको छ । सरकारले पशुपतिका साथै ललितपुर, बल्खुलगायतका स्थानमा शवदाह विस्तार गर्ने तयारीसमेत रहेको छ । विद्युतीय शवदाह भवनमा दैनिक ४० शव जलाउन सकिन्छ । विद्युतीय मेसिनबाट एक शव जलाउन ४५ मिनेटको समय लाग्छ । परम्परागत दाउराबाट शव जलाउन चार÷पाँच घन्टा लाग्दथ्यो ।
 
अहिले विद्युतीय शवदाह मेसिन दुई वटा रहेका छन् । यो सस्तो पनि छ । परम्परागतरुपमा रु आठ हजारदेखि १० हजारसम्म लाग्नेमा विद्युत्बाट रु तीन हजार लाग्छ । नेपाल सरकारको अनुदानमा पशुपति क्षेत्र विकास कोषले विद्युतीय शवदाह भवन निर्माण गरेको हो । रु ११ करोडको लागतमा सम्पूर्ण कार्य पूरा भएको कोषका सदस्य सचिव टण्डनले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ