arrow

समानुपातिक तर्फ कसको कति सिट ? यसरी तय गरिन्छ सिट संख्या (विधि सहित)

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७४ पुष १ शनिबार
samanupatik_election1.JPG

काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक तर्फको मत गणना सकिएको छ । निर्वाचन आयोगले शनिबार अपराह्न एक विज्ञप्ती जारी गर्दै मत गणना सम्पन्न भएको जानकारी दिएको हो । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत अब दुई जिल्ला सुनसरी र सर्लाहीका केही निर्वाचन क्षेत्रमा गणना जारी रहेको जनाएको हो । सुनसरीको क्षेत्र नं १ तथा सर्लाहीको क्षेत्र नं २, ३ र ४ मा मतगणना कार्य जारी रहेको छ ।  

प्रतिनिधि सभा र प्रदेश सभाको गत मंसिर १० र २१ गते दुई चरणमा भएको निर्वाचनमा शनिबार साँझसम्म ९४ लाख ९८ हजार २ सय ७१ मत गणना सकिएको निर्वाचन आयोगले जनाएको छ । अहिलेसम्मको मत परिणाम अनुसार पहिलो पार्टी बनेको नेकपा एमालेले कूल ३१ लाख ६१ हजार २ सय २३ मत ल्याएको छ भने दोस्रो हुने नेपाली काँग्रेसले ३१ लाख ११  हजार २ सय ६३ मत ल्याएको छ । यसैगरी माओवादी केन्द्रले माओवादी केन्द्र १२ लाख ९५ हजार ८ सय २० मत ल्याएको छ भने संघीय समाजवादी फोरम नेपालले ४ लाख ६८ हजार ३९९ र राष्ट्रिय जनता पार्टीले ४ लाख ६८ हजार ३४६ मत प्राप्त गरेका छन् । 

यी ५ दल बाहेक अरुले संवैधानिक व्यवस्था अनुसार ३ प्रतिशतको थ्रेसहोल्ड नकटाएका कारण उनीहरुको मत समानुपातिक निर्वाचनको सिट तय गर्ने बेलामा समावेश गरिएको छैन । प्रतिनिधि सभामा कूल ११० सिटका लागि भएको निर्वाचनमा समानुपातिक मत विभाजक सूत्र अनुसार हिसाव गर्दा ५ दल मध्ये नेकपा एमालेले सबैभन्दा बढी ४० सिट ल्याएको छ । त्यस्तै, दोस्रो ठूलो दल नेपाली काँग्रेसले ३९, तेस्रो माओवादीले १७ र चौथो र पाँचौं हुने राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले समान ७ र ७ सिट ल्याएका छन् । 

कसरी तय गरिन्छ दलहरुको सिट संख्या 
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को अनुसूची २ मा उल्लेख गरे बमोजिमको मत परिणाम विभाजक सूत्रका आधारमा सिट संख्या तय गरिने निर्वाचन आयोगले जनाएको छ । सो सूत्रका अनुसार प्रत्येक दलको लागि खसेको मतलाई भाग गर्ने पद्दतिले श्रृङ्खलावद्ध रुपमा भाग गरिनेछ । यस अनुसार प्रत्येक दलले प्राप्त गरेको मत परिणामलाई धेरै भाजकहरुले भाग गरिन्छ (उदाहरण ः १, ३, ५, ७, ९ आदि) त्यसरी भाग प्राप्त हुने नतिजालाई दलको भागफल (क्योसेन्ट) भनिन्छ । भागफल प्राप्त भएपछि सीट सङ्ख्याहरु ठूलो भागफलबाट सानोमा बाँडफाँट गर्दै सीट नसकिँदासम्म बाँडफाँट गरिनेछ । 

यसरी बाँडफाँट गर्दा कुनै दलले जतिसुकै मत प्राप्त गरेको भए तापनि त्यस्तो दलले सूचीमा सूचीकृत गरेको उम्मेदवार सङ्ख्यामा सीमित रही त्यस्तो दलले प्राप्त गर्ने सीटको बाँडफाँट गरिनेछ । 

उदाहरणको लागि तल प्रस्तुत गरिएको तालिकामा सबैभन्दा माथिको तेर्साे भागमा ५ दलले प्राप्त गरेको मत राखिएको छ । त्यसैको ठाडो भागमा मत विभाजक सूत्रले भने अनुसार विजोर संख्याले भाग गर्दा आएको भागफल राखिएको छ । यसरी राखिएको भागफलबाट सिट संख्या तय गर्दा सबैभन्दा बढी मत आएको काँग्रेस एमाले र माओवादीलाई एक एक सिट छुट्टाईन्छ । तलको तालिकामा एमालेको ३१ लाख ६१ हजार र काँग्रेसको ३१ लाख ११ हजार मत रहेको छ भने माओवादीको १२ लाख ९५ हजार मत आएको छ । यी ३ दलले यहाँ ३ सिट पाईसकेको मानिन्छ । 

त्यसपछि चौथो पार्टी राजपाको ४ लाख ७० हजार मत आएको छ । तर, एमाले र काँग्रेसको कूल मतमा ३ ले भाग गर्दा आउने भागफल पनि राजपा र फोरमले पाएको मत भन्दा बढी हुने भएकोले चौथो सिट राजपालाई नभई फेरि एमाले र काँग्रेसको नाममा गएको छ । यसरी सबै विजोर भाजकहरुले भागगर्दा आउने भागफल मध्ये जुन भागफल बढी हुन्छ त्यसैलाई क्रमशः सिट संख्यामा बढाउँदै लगिने छ । 

माथि उल्लेखित तथ्यांक २ जिल्लाको मत परिणाम आउन बाँकी हुँदैमा तयार पारिएकोले पूरा मत परिणाम आउँदा केही तलमाथि पनि हुने न्यून सम्भावना देखिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ