रसुवा । आसन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा बाम गठबन्धनले बहुमत पाएसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चिनियाँ सीमा रसुवागढीको भ्रमण गरेका छन् । आइतबार उनले रसुवाको लाङटाङ र रसुवागढीको भ्रमण गरेका हुन् ।
अध्यक्ष ओलीले रसुवागढी–केरुङ अन्तर्राष्ट्रिय मार्गलाई व्यवस्थित गरिनुका साथै आउँदो चैत–वैशाखसम्ममा बेत्रावती–स्याँफ्रुवेंसी मार्ग सञ्चालनमा ल्याइने बताए । हाल त्यहाँ नेपाली सेनाले काम गरिरहेको छ ।
गल्छी–रसुवागढी राजमार्गलाई दुई लेनको बनाइने अध्यक्ष ओलीको भनाइ थियो । “अर्को मार्ग पनि चाँडै निर्माण गरिनेछ,” उनले भने।
रसुवा भन्सार कार्यालयको व्यवस्थापन छिट्टै गरिने तथा रसुवागढी अन्तर्राष्ट्रिय नाका व्यवस्थित गरिने अध्यक्ष ओलीले बताए । गोसाइँकुण्ड तीर्थस्थल, लाङटाङ पर्यटकीय क्षेत्रको संरक्षण गरिने उनको भनाइ थियो । उनले रसुवागढी भएर रेलमार्ग सञ्चालनमा ल्याइने बताए ।
अध्यक्ष ओलीले भूकम्पबाट क्षतिग्रस्त लाङटाङ क्षेत्रको अवलोकनपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरे गाउँ कमिटीको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नयाँ सरकार चाँडै गठन हुने बताए ।
सो अवसरमा टिमुरे गाउँ कमिटीका अध्यक्ष कामी नोर्वु तामाङले अध्यक्ष ओलीलाई मागपत्र पेश गरेका थिए ।
अध्यक्ष ओलीका साथमा एमाले महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, पार्टी स्थायी समिति सदस्य सुवास नेम्बाङ, शंकर पोखरेल, जनार्दन ढकाललगायत नेता रहेका थिए ।