arrow

चीनसँगको व्यापारिक नाका रसुवागढी किन पुगे ओली ?

logo
प्रकाशित २०७४ पुष ४ मंगलबार
olis.JPG

रसुवा । आसन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा बाम गठबन्धनले बहुमत पाएसँगै  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चिनियाँ सीमा रसुवागढीको भ्रमण गरेका छन् । आइतबार उनले रसुवाको लाङटाङ र  रसुवागढीको  भ्रमण गरेका हुन् । 

अध्यक्ष ओलीले रसुवागढी–केरुङ अन्तर्राष्ट्रिय मार्गलाई व्यवस्थित गरिनुका साथै आउँदो चैत–वैशाखसम्ममा बेत्रावती–स्याँफ्रुवेंसी मार्ग सञ्चालनमा ल्याइने बताए । हाल त्यहाँ नेपाली सेनाले काम गरिरहेको छ ।

गल्छी–रसुवागढी राजमार्गलाई दुई लेनको बनाइने अध्यक्ष ओलीको भनाइ थियो । “अर्को मार्ग पनि चाँडै निर्माण गरिनेछ,” उनले भने।

रसुवा भन्सार कार्यालयको व्यवस्थापन छिट्टै गरिने तथा रसुवागढी अन्तर्राष्ट्रिय नाका व्यवस्थित गरिने अध्यक्ष ओलीले बताए । गोसाइँकुण्ड तीर्थस्थल, लाङटाङ पर्यटकीय क्षेत्रको संरक्षण गरिने उनको भनाइ थियो । उनले रसुवागढी भएर रेलमार्ग सञ्चालनमा ल्याइने बताए ।

अध्यक्ष ओलीले भूकम्पबाट क्षतिग्रस्त लाङटाङ क्षेत्रको अवलोकनपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरे गाउँ कमिटीको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नयाँ सरकार चाँडै गठन हुने बताए ।

सो अवसरमा टिमुरे गाउँ कमिटीका अध्यक्ष कामी नोर्वु तामाङले अध्यक्ष ओलीलाई मागपत्र पेश गरेका थिए ।

अध्यक्ष ओलीका साथमा एमाले महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, पार्टी स्थायी समिति सदस्य सुवास नेम्बाङ, शंकर पोखरेल, जनार्दन ढकाललगायत नेता रहेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ