arrow

मेहनत गरे बाख्रा चराएर पनि भइन्छ लखपति 

logo
लक्ष्मीप्रसाद सापकोटा 
प्रकाशित २०७४ पुष ६ बिहिबार
goat-farming.jpg

फलेवास । प्रायगरी मगर समुदायका युवा लाहुरे हुने सपना बोक्छन् । कतिपय लाहुरे हुनका लागि बेलायती सेना, भारतीय सेना र नसके नेपाली सेनामा नै भएपनि भर्ना हुने कुरालाई आफ्नो सबैभन्दा ठूलो सपना ठान्छन् । 

भर्ती नहुने युवा युरोप, हङकङलाई दोस्रो गन्तव्य बनाउँछन् भने नसके खाडी र मलेसियामा प्रशस्त पैसा कमाइ हुने आशामा विदेशिएको पनि देखिन्छ । 

तर उत्तरी पर्वतको जलजला गाउँपालिका–५ शालिजा गाउँका दुई युवाले सवै कुरा त्यागेर गाउँमै ठूलो लगानीमा बाख्रापालन व्यवसायमा लागेका छन् । रु १५ लाख लगानी गरेर साविक शालिजा गाविस–२ का बलबहादुर पुन र जितमन पुनले गाउँमै बाख्रापालन व्यवसाय शुरु गरेका हुन् ।  

विगत चार वर्षदेखि यो व्यवसायमा हात हालेका युवाले ५०० बाख्रा पाल्ने योजना बनाएका छन् । अहिले उनीहरुको फारममा १२० वटा पुगेका छन् भने ५० भन्दा बढी ब्याउने छन् । 

“सबै युवा लाहुरे हुने कुरालाई पहिलो प्राथमिकतामा राख्छन्, हामी गाउँमै राम्रो सम्भावना देखेर बाख्रापालनमा लागेका छौँ” पुनले भने “५०० बाख्रा पुर्याउने महत्वाकांक्षी योजनासहित यो पेशामा हामफालेका हौँ ।” 

गाउँमा एक दुई वटामात्रै बाख्रापाल्ने तर व्यावसायिक बन्न नसकेकाले व्यावसायिक रुपमा बाख्रापालनबाट आम्दानी हुने देखेपछि बाख्रापालनमा लागेको पुन बताउँछन् । “यो गाउँ सुहाउँदो व्यवसाय भएकाले भविश्यमा राम्रै आम्दानी हुन्छ भन्ने विश्वास लागेको छ”, उनले भने । 

अहिले बाख्रा बिक्रीभन्दा बथान बढाउने काममा लागिपरेको युवा बताउँछन् । “पाँचसय बाख्रा पुगेपछि मासिकरुपमा दुई लाखसम्म खुद नाफा कमाउने लक्ष्य हाम्रो हो”, अर्का युवा कृषक जितमन पुनले बताए । 

बाख्रापालनका लागि उनीहरुले शुरुमा रु १५ लाख लगानी गरेका थिए । बाख्रा हेर्नका लागि चारजनालाई रोजगारी पनि दिएका छन् । उनीहरुले खरी जातको बाख्रा पाल्दै आएका छन् । 

बाख्राका लागि चरन नभएकाले सामुदायिक वनलाई मासिक रु १० हजार भाडा तिरेर बाख्रा चराउँदै पनि आएका छन् । “चरनका लागि अन्य क्षेत्र नभएकाले सामुदायिक वनलाई भाडा तिरेका छौँ” जितमन पुनले भने । 

अहिलेसम्म निर्वाहमुखी रुपमा बाख्रा पाल्दै आएको गाउँमा यो व्यवसाय नमूना बन्दै गएको छ । 

बाख्रापालनसँगै उनीहरुले आलुखेती पनि थालेका छन् । बाख्राको जुतो प्रयोग गर्नका लागि साविक लेकफाँट गाविसको डाँँडाकटेरीमा जग्गा भाडामा लिएर आलुखेती गर्ने योजना रहेको जितमनले बताए । लेकफाँटको लोप्रे आलुका लागि प्रशिद्ध ठाउँ हो । 

“दोहोरो व्यवसायबाट राम्रो आम्दानी हुन्छ”, उनले भने “धन कमाउन भनेर विदेशमा जानुनै पर्दैन ।” बाख्रापालनमा लागेका यी युवालाई कुनै सरकारी निकायले सहयोग गरेका छैनन् । 

विकट गाउँमा ठूलो लगानी गरेर सञ्चालन गरेको यो व्यवसाय जिल्लाकै नमूना व्यवसायको रुपमा हेरिएको छ । 

अन्य क्षेत्रका युवा पछिल्लो समयमा विदेशबाट फर्केर कृषि तथा पशुपालन व्यवसायमा लागेपछि गाउँकै युवाले आफ्नै लगानी गरेर सञ्चालन गरेको व्यावसायिक फार्म भएकाले राज्यले पनि उनीहरुलाई विशेष प्राथमिकता दिनुपर्ने उनीहरुको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ