arrow

काँग्रेसको सांगठनिक र सैद्धान्तिक पुनर्संरचनाको लागि हाम्रो अभियान : चन्द्र भण्डारी (अन्तर्वार्ता)

logo
प्रकाशित २०७४ पुष ६ बिहिबार
chandra-bhandari.jpg.jpeg

काठमाडौं । प्रतिनिधि तथा प्रदेश सभामा  काँग्रेस कमजोर देखिएपछि काँग्रेसका प्रभावशाली नेताहरु पार्टी पुन : निर्माण अभियानमा जुटेका छन् । उनीहरुले  छलफल आरम्भ गरिसकेका छन् । बुधवार काठमाडौंको बानेश्वरमा भएको भेलामा काँग्रेस नेताहरु चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ् र रामहरि खतिवडा एकसाथ देखिए । त्यसैगरी, नेताहरु बद्री पाण्डे, प्रदीप पौडेल, गुरु घिमिरे, महादेव गुरुङ,जीवन परियार, टेकराज पौडेल लगायत पनि एकाकार भए । उनीहरुले पार्टीलाई अब जनताले विश्वास गर्ने तहमा लैजान आवश्यक रहेको निष्कर्ष निकालेका छन् ।

काँग्रेस नेता चन्द्र भण्डारीको पहलमा भएको भेलामा काँग्रेसका जनप्रिय नेताहरु गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, रामहरि खतिवडा, प्रदीप पौडेल, गुरु घिमिरे लगायत नेताहरु सहभागी भए । विद्यार्थी नेता कुन्दन काफ्ले लगायत पनि भेलामा सहभागी भए । यसै सन्दर्भमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं अभियानका सदस्य चन्द्र भण्डारीसँग हाम्राकुरा डटकमले गरेको कुराकानी ।

काँग्रेस पुन: र्निर्माण अभियान भनेर भन्नुभयो के हो ? यो कस्तो पुनर्निर्माण हो ?

काँग्रेस आफैंमा ठूलो पाठशाला हो । यसका शिक्षकहरु वीपी, सुवर्ण, गणेशमान र कृष्णप्रसाद भट्टरार्इहरु थिए। जहाँ विचार,समर्पण र त्याग थियो । सिंगो देश परिवार थियो । त्यसैले त यिनीहरुको सम्मानमा सैद्दान्तिक घेरा छैन । तर अहिलेसम्म आउँदा काँग्रेस विचारको आधारमा त्यागको आधारमा र समर्पणको आधारमा पनि कमजोर बनेको छ । हाम्रो एउटै सिंगो परिवार छिन्न भिन्न बनेको छ र काँग्रेस कमजोर बनेको छ । यही काँग्रेसको कमजोरीलाई पुरानै विपी, सुवर्ण, गणेशमान र कृष्णप्रसादको पाठशाला तिर लैजानको लागि हाम्रो यो अभियान हो । अहिलेको अवस्थालाई परिवर्तन गरी नयाँ र सबैको साझा पार्टी बनाउने अभियान भएकोले नै यसलाई पुन: र्निर्माण अभियान भनिएको हो ।

यो अभियान नेतृत्व परिवर्तनमा केन्द्रीत हुन सुरु गरिएको अभियान हो ?

हाम्रो पार्टी अहिले पनि तदर्थवादमा चलिरहेको छ । नयाँ संविधान अनुसार हामीले मुलुलकलाई संघीय संरचनामा बदल्यौं । हामीले संघ, प्रदेश, स्थानीय तह आदिमा मुलुकलाई ढाल्यौं । तर हाम्रो पार्टीलाई त्यस अनुसार बदल्न सकेनौं । १८ महिनासम्म हामीले यसबारे केही सोच्नसम्म पनि सकेनौं । हामीले यसलाई राष्ट्रिय नीतिअनुसार पार्टी संरचना बदल्ने, भातृसंस्थाहरु सक्रिय गराउने जस्ता महत्वपूर्ण कामहरु केही पनि गर्न सकेनौं । हामी न त मुलुकको संविधान अनुसार चल्न सक्यौं न त आफ्नै विधान अनुसार चल्न सक्यौं । आफ्ना सीमित मान्छे खोज्ने तिनीहरुलाई आफूले जे भन्यो त्यसैमा हो हो गराउन लगाउने र त्यही सीमित र असक्षम मान्छेभन्दा बाहिर जानै नसक्ने । उनीहरुले जे भन्यो त्यही मान्ने अरुको कुरै नसुन्ने । यस्तो परिपार्टीका कारण काँग्रेसले अहिलेको अवस्था बेहोर्नु परेको हो । त्यसैले हामीले अब सांगठनिक रुपमा पनि पार्टीलाई पुनर्जीवन दिनुपर्छ र सैद्धान्तिक रुपमा पनि प्रतिस्पर्धीहरुसँग प्रतिस्पर्धा गर्नसक्नेगरी समयानुकूल चल्दै जानुपर्छ । हाम्रो नीति पनि राम्रो थियो, हाम्रो संगठन पनि राम्रो थियो । त्यसैले काँग्रेस सबैको साझा परिवार थियो । विश्वका चर्चित नेताहरुलाई कुन् नेता मन पर्छ भन्यो भने विपी कोइराला भन्थे, प्रचण्डले पनि कुन् नेता मन पर्छ भन्दा विपी कोइराला भन्नुभएकै हो । अहिले हामीलाई त त्यस्तो कसैले भन्दैन नि । त्यसैले त्यो इज्जत भएको पार्टीलाई त्यही अनुसार चलाउँदै लैजानु पर्यो नि । त्यसको लागि पनि पार्टीलाई पनि पुनर्संरचनामा ढाल्दै जानुपर्छ र संगठनलाई पनि क्रियाशील बनाईराख्नुपर्छ ।

तपाईंहरुले ईकित गर्न खोज्नुभएको अहिलेको नेतृत्व परिवर्तन तर्फ हो ?

राजनीतिक दलको संगठन जहिले पनि क्रियाशील हुनुपर्छ । हाम्रो दलको नेतृत्वमा बस्नुभएका आदरणीय नेताहरु उमेरका हिसावले पनि अब अभिभावक बनेर दोस्रो पुस्ताका नेताहरुलाई सुझाव र सल्लाह दिने ठाउँमा बस्नुपर्ने देखिन्छ । उमेरले नै ७० नाघिसक्नुभएका नेताहरुबाट नयाँ सिर्जनशीलताको अपेक्षा पनि धेरै गर्न सकिँदैन । पुरानै परम्परामा चल्दा अब पार्टीको अस्तित्व पनि संकटमा पर्ने देखिन्छ । त्यसैले उहाँहरुले पनि त्यो धरोहरलार्इ बचाउने समय आएकोछ । वीपीको पालाको जस्तो काँग्रेसलार्इ  सबैको परिवार र योग्य, सक्षम र समय अनुसार चल्न सक्ने शिक्षक दिने पाठशाला बनाउनु छ । हाम्रो यो अभियान कसैको विरोधमा होइन । कसैको आलोचनाको लागि होइन कि समग्र नेपाली काँग्रेसका लागि पुनर्जीवन दिनको लागि यो अभियान सञ्चालन भएको हो ।

परम्परादेखि नै युवा आवश्यकताको भजन गाउँदा परिवर्तन नभएको नेतृत्व तपाईँहरुले एउटा अभियान चलाएको भरमा सहजै परिवर्तन भएर युवा पुस्तामा हस्तान्तरण हुन्छ भन्ने लाग्छ तपाईँलाई ?

यो अभियान हो । यसले हामीलाई तत्कालै नेतृत्व परिवर्तनको नतिजा दिनुपर्छ भन्ने होईन । पार्टीमा नीतिको कुरा चल्नुपर्छ, पार्टीमा समयानुकूल सिद्धान्तको बहस हुनुपर्छ । हाम्रा भातृसंस्थाहरु सधैं सक्रिय हुनुपर्छ र हाम्रो योगदान राष्ट्र निर्माणमा महत्वपूर्ण हुनुपर्छ । अब हामी इतिहास देखाएर जनतासँग भोट माग्ने होईन । जनताको मत जितेर भोट माग्ने पार्टी बन्नु पर्छ । महाधिवेशन आउँछ । यसमा धेरै साथीहरुले सोच्नुहुन्छ । अबको महाधिवेशनमा सम्भव होला नभए अर्को महाधिवेशनमा सम्भव होला । तर, काँग्रेस देशको सबैभन्दा सम्मानित पार्टी बन्नै पर्छ । त्यतिबेला विपी गणेशमान र कृष्णप्रसादले नासोमा दिएर छाडेको काँग्रेसलाई त्यतिबेलाको जस्तै लोकप्रिय काँग्रेस बनाउने हाम्रो अभियान हो त्यो ढिलोचाँडो अवश्य सम्भव हुन्छ ।

५ नं प्रदेशको आन्दोलनको समयमा पनि तपाईले पार्टी निर्णय विपरित काम गर्दा त्यो त्यहाँका जनताको पक्षमा भएपनि कारबाही गर्ने भनेको थियो । अहिले पनि नेतृत्वको विरोध गर्दा कारबाही गर्यो पार्टीले भने भोग्न तयार हुनुहुन्छ ?

पार्टीमा पार्टीको हितमा काम गर्दा कारबाही गर्ने भन्ने कुरै हुँदैन नि । हामी कसैको विरुद्ध मोर्चाबन्दीमा उत्रिएका पनि होईनौं । हामी पार्टी र संगठनलाई समायानुकूल बनाउन मोर्चाबन्दी हुँदा पार्टीले कारबाही गर्ने भन्ने कुरै आउँदैन ।

अब अभियानले गर्ने काम चाहिँ के के हो ?

अब हामी यसको लागि एउटा छुट्टै रणनीति बनाएर अघि बढ्दै जानेछौं । हामी यसको लागि विस्तृतमा दस्तावेजहरु तयार पारेर अघि बढ्छौं । हामी काँग्रेसलाई अब सबै नेपालीले सम्मान गर्न सक्ने पार्टी बनाउनको लागि रणनीतिक रुपमा अघि बढ्दै जान्छौं । यसमा हामी युवा र बृद्ध नेताको राजनीति गर्दैनौं । हाम्रा स्पष्ट कार्ययोजनाहरु काँग्रेसको केन्द्रीय समिति बैठक र महासमिति बैठकमा प्रस्तुत गछौं । हामी अहिले यस अभियानमा सहभागी भएका सबै युवानेताहरुको केन्द्रीय समिति बैठक र महासमितिमा भएका साथीहरुले एउटै एजेण्डा र एउटै स्वर राख्ने भएका छौं । हामी काँग्रेसको यो पुनर्निर्माण अभियान सम्पन्न गरेरै छाड्छौं ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ