- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
प्रजातान्त्रिक व्यवस्था भनेको नैतिकता मूल्य, मान्यता र आदर्शमा चल्छ । दुर्भाग्य मल्लकालीन जयप्रकाश मल्लको भारदार हुन सुहाउनेहरुको हातमा यो देशको शासन पुगेपछि न्यायलयबारे बहस गर्नुपर्ने बाध्यता आइलागेको प्राध्यापक डा. सुरेन्द्र केसी बताउँछन् । विश्वविद्यालयको भिसीमाथि, प्रधानन्यायाधीशमाथि भ्रष्टाचारको आरोप लागेको छ । राजनीतिक दलका नेतामाथि पनि आरोप छ, तर उनीहरुलाई लाज लाग्दैन । यसको घानमा हामी पर्यौं, मूल्य निर्माण गर्न सकेनौं । हाम्रो देशको नागरिक समाज, बौद्धिक वर्ग, सञ्चारमाध्यम सबै दलगत राजनीतिमा होमिएको भनाइ प्राध्यापक केसीको छ । यिनै विषयमा चन्द्र धामीले प्राध्यापक डा. केसीसँग गरेको कुराकानी ।
० अहिले न्यायलयमा देखिएको विवाद के हो ?
– यो पैसाको खेल हो, आर्थिक चक्कर हो ।
० न्याय किनबेच हुन्छ ?
– फेरि मलाई पनि लगेर थुन्लान्, विश्वविद्यालयमा एक महिनाको जागीर बाँकी छ । यो एक महिनाभित्र यस्ता प्रश्नको जवाफ दिनुपरोस् भन्दै आएको छु । तर यी कुरा बजारमा सर्वत्र छन् ।
० नेपालकाे न्यायिक इतिहासमा डा. केसीलाई पक्राउ गर्ने आदेश पहिलो हो ?
– प्रधानन्यायाधीश नै क्लाइन्टविरुद्ध उत्रिएको पहिलो पटक हो ।
० यस्तो कुनै प्रधानन्यायधीशको कार्यकालमा भएको छैन ?
– अहिले सम्म भएको छैन ।
० कानुनी शिक्षामा केही प्रगति भएको हो ?
– शिक्षा भनेको समाज परिवर्तनको माध्यम हो । त्यस हिसाबले हाम्रो देशमा केही सुरुवात भएको छैन । राजनीति, अर्थनीति पनि त्यो कोणबाट गएको छैन । त्यो सबै कुराको बाइ प्रोडक्ट कानुन हो । ती कुरालाई व्यवस्थित गर्ने कुरा कानुन हुन्छ । त्यसको अन्तिम व्याख्याता सर्वोच्च अदालत नै हुन्छ । हिजो न्यायाधीशहरु ब्रिलियन्ट हुन्थे, प्रजातन्त्रमा त्यो प्रवृत्ति कमजोर भएर गयो । यो नेपाल न्याय प्रणालीको दुःखद् पाटो हो ।
० न्यायलय कि न्यायमूर्ति असक्षम ?
– समग्र न्याय भनेको न्यायलय हो, त्यो न्यायको व्यक्त रुप भनेको चाहिँ न्यायाधीशहरु हुन्, तिनीहरुका बीचमा अन्योन्यश्रित सम्बन्ध हुन्छ । एकलाई अर्कोबाट छुटाएर हेर्न सकिँदैन । पात्र मात्र भएर हुँदैन, पात्राता पनि चाहिन्छ । कुनै एक देशमा राजदूत नियुक्त भएर जानु मात्रै पर्याप्त हुँदैन । त्यो व्यक्ति राजदूत हुन लाहेक हो कि होइन भन्ने कुरा पनि त्यतिकै महत्वपूर्ण हुन्छ । मन्त्रीको हकमा पनि यही हुन्छ । विश्वविद्यालयको हकमा पनि यही हुन्छ । सञ्चारको हकमा पनि । गोरखापत्र भन्नु पर्याप्त भएन, गोरखापत्रको सम्पादक को हो भन्ने कुराले त्यसको गरिमाको आँकलन गर्छ । तल्लो दर्जाको व्यक्ति नेतृत्वमा पुग्यो भने फलानो त प्रधानन्यायाधीश छ, राजदूत छ भनेर नाक खुम्च्याउने अवस्थाहरु आउँछन् ।
० डा. गोविन्द केसीले न्यायलयविरुद्ध बोलेको होइन, गोपाल पराजुलीको कार्यशैली विरुद्ध बाेलेकाे हुँ भन्नुभयो ? यसबाट हामीले बुझ्ने के हो ?
– त्योभन्दा माथिल्लो तहको कुरा म सुनाउँछु । देशका प्रधानमन्त्रीले समेत गोविन्द केसीलाई कसरी पक्राउ गरियो मलाई थाहा भएन भने, यसलाई के भन्ने ? प्रधानमन्त्री देउवा अल्कोहलिक मान्छे भएको हुनाले सायद उहाँ मातेको हुनुपर्छ वा निन्द्रामा हुनुपर्छ । आरजु देउवाको कुरा बिक्छ, आरजुसँग कुरा मिलाएर प्रहरीले यस्तो गरेको हुनुपर्छ । किनभने नेपाल प्रहरीले प्रधानमन्त्रीलाई इग्नोर गरेर केही गर्न सक्छ भन्ने कुरा कसैले पत्याउँदैन । कसलाई सोधेर गर्यो होला प्रहरी प्रमुखले यो काम ? शेरबहादुरको आनीबानी थाहा पाएको हुनाले अल्कोअलको प्रभाव हुनुपर्छ भन्ने मेरो अनुमान हो ।
मलाई मानहानी नलागोस् रामचन्द्र पौडेलले भनेको एउटा कुरा दोहोर्याउँछु । सर्वोच्च अदालत भनेको क्लिन चिट दिने संस्थाजस्तो भयो । मानहानी लागे पनि एक महिनापछि लागोस्, किनभने म एक महिनापछि अवकास पाउँदैछु । एक महिनापछि पूराका पूरा जेलमा लेखेर बस्छु केही छैन । रामचन्द्र पौडेललाई पनि मानहानी लाग्यो । विशेष अदालत र अख्तियारले भ्रष्टहरुको प्रकृया अगाडि बढाउने, भर्खर दुई खरदार सुब्बाको केसमा सर्वोच्चले क्लिन चिट दियो । चुडामणी शर्मा, गोपाल खड्काको केस हाम्रो अगाडि छ । सबैभन्दा भ्रष्ट र नालायक भनिएका साझा प्रकाशनका महाप्रबन्धकको केस हाम्रो अगाडि छ । के हो यो अदालत भनेको ? यसले जे जे गर्छ, त्यो मान्दै जाँदा उसको मान हुन्छ ।
पहिले प्रकाश वस्तीलाई न्यायलयबाट जसरी लखेटियो । त्यही बेला उहाँले भन्नु भएको थियो । अब हेर नेपालको अदालतमा के–के निर्णय हुन्छ भनेर । अहिले जुन एउटा घटना घटेको छ डा. शशि शर्मा, खेलो फड्कोमा डिन बनाइएको थियो आइओएममा । त्यसपछि अनेक उठापटकहरु भए । मुद्दा मामिला भए । तीन वर्ष पछाडि ३०औँ पटकको पेशीमा रिटार्यड हुनुभन्दा ६ दिन अगाडि उहाँलाई पुनःवहाली गरिएको छ । सर्वोच्चमा यस्तो कुरा पहिलो पटक मात्रै भएको छैन । पार्वती थापाको त्यस्तै भयो । अच्यूतकृष्ण खरेलको पुर्नवहाली भइसकेपछि पुनःस्थापना गरेको थियो अदालतले । डिआइजी सिलवालको मुद्दामा कति हतारो गरे । सिलवालले पद मात्रै त्यागेनन् निर्वाचनमा जानु पर्ने अवस्था आयो । मलाई मानहानी नलागोस्, लागेपनि एक महिनापछि लागोस् ।
० प्रधानन्यायाधीशले राजीनामा नै गर्नुपर्ने अवस्था आएको हो र ?
– विचारा गोविन्द केसी राजीनामाकै कुरा गर्छन् । कहिले भिसीको, कहिले अख्तियार प्रमुखको कहिले प्रधानन्यायाधीशको राजीनामा माग्छन् । अरन्य रोधनजस्तो हुन्छ, बगरेको अगाडि रोगो रुनेजस्तो भयो । बगरेले नकाटी छोड्दैन किनभने उसको व्यवसाय नै त्यही हो । प्रजातान्त्रिक व्यवस्था भनेको नैतिकता मूल्य, मान्यता र आदर्शमा चल्छ । दुर्भाग्य मल्लकालीन जयप्रकाश मल्लको भारदार हुन सुहाउनेहरुको हातमा यो देशको शासन रह्यो । हेर्नुस् विश्वविद्यालयको भिसीमाथि के के आरोप छन् । अहिले प्रधानन्यायाधीशमाथि के के आरोप छन् ? राजनीतिक दलका नेतामाथि पनि आरोप छ, तर उनीहरुलाई लाज लाग्दैन । यसको घानमा हामी पर्यौं, मूल्य निर्माण गर्न सकेनौं । हाम्रो देशको नागरिक समाज, बौद्धिक वर्ग, सञ्चारमाध्यम सबै दलगत राजनीतिमा होमिए । कसैले भनेको कोही पनि पत्याउँदैन ।
० सफल प्रधानन्यायाधीश भन्थ्यौ हामी हरिप्रसाद प्रधान, उहाँलाई विस्थापित गरेर ‘प्रधान न्यायालय’लाई सर्वोच्च अदालत नामाकरण गरियो, जसलाई दरबारिया स्वार्थ पनि भनियो, २०१३ सालमा ३२ वर्षका अनिरुद्रप्रसाद सिंह प्रधानन्यायाधीश हुनु भयो, अक्षम भर्तिको श्रृंखला त दरबारियाहरुबाटै सुरु भए छ नि होइन ?
–दरबार त झन खतरा थियो नि त ! तर, उसले विधि भने पुर्याउँथ्यो । विधि पुर्याएर सर्वोच्च अदालत ऐन ल्याउने नाममा हरिप्रसादलाई डाँडा कटाइदियो । मैले हरिप्रसादबारे सानो खोज गरेको थिए । नेपालको अदालतको जग नै हरिप्रसादले बसाल्नु भएको रहेछ । उनी वीपी कोइरालाका साथी थिए । कानुनको भ्याल्यूबाट स्कुलिङ थिए हरिप्रसाद । उहाँबारे पढ्दा मेरो आँखाबाट आँशु खसेको थियो । यस्ता मान्छेहरु पनि अदालतमा आएका रहेछन् भनेर म रोएको थिए ।
० अनि वीपी कोइरालाले चारपासे प्रधानन्यायाधीशबाट सपथ लिन्न भन्नु भो, ३२ वर्षका अनिरुद्रप्रसाद सिंह प्रधानन्यायाधीश थिए, पछि २०१६ सालमा लोकसेवा आयोगको अध्यक्ष पनि हुनु भयो, तर, वीपीले सपथ लिन्न भन्नु भयाे ? यस्तो पनि भएछ हैन ?
–बीएलसम्म गरेको व्यक्तिलाई त्यस्तो भन्नु सुहाउने हो त । यस्तो पनि नेताहरुले गर्छन् है, पछि कान्छा कोइरालाले सर्वोच्च अदालत दरबारमा लगेर राखियो भन्नु भयो । हामी अहिले मानहानीकै कुरा गरिरहेका छौँ । त्यो मानहानी भएन फेरि । जान्न म बयानै दिन जान्न भन्नु भो उहाँले, त्यतिबेला मानहानी भएन । अहिले विचरा लुरे डाक्टरको पछाडी कोही छैन भन्दैमा यो जाडोमा यिनीहरुले गरेको हेर्नुस् त । वृद्ध डाक्टरलाई जो, हाम्रो लागि लडिरहेको छ । लाज हुनु पर्ने हो नि यिनीहरुलाई । आफु केही नगर्ने देश र जनताको लागि । जसले देश र जनताको लागि कही न कहीबाट आवाज दिन्छ । सारा राज्य लागेर मारिदिने, यो कुनै धर्म हो । यो कुनै न्याय, आदर्श हो ।
० २०६३को अन्तरिम संविधानपछि अदालतमा अझ बढी विकृति सुरु भएको हो ?
–जति लोकतन्त्र त्यति विकृति भयो हाम्रो देशमा । जति लोकतन्त्र त्यतिनै आदर्श र मानकहरु बन्दै जानु पर्ने । ति मानकको आधारमा कार्यप्रणालीहरु अघि बढ्नु पर्ने । विश्वविद्यालयमै पहिले त्यस्तै खालमा मान्छेहरु भीसी हुन्थे । तर, ती मानिसहरुले पदको मर्यादा व्यवस्थापन गर्थे । म यत्रो वर्ष जागिर खाए, विश्वविद्यालयका प्राध्यापकहरु, पूर्वपदाधिकारीहरु सम्झदा मलाई अहिले पनि गौरव लाग्छ । जुन दिन यो देशमा लोकतन्त्र आयो त्यो दिनबाट यो देशमा भाँडभैलो पस्यो ।
० अदालतबारे बाेल्न पाइँदैन अनि, गोविन्द केसीले बोलेको तरिका ठीक छ त ?
– अदालतविरुद्ध त्यो शैली र भाषामा बोल्न पाइँदैन । त्यो कुरा सत्य हो । तर, प्रश्न आयो कहिलेसम्म हामी चुप लाग्ने ? दोहोरो हुन्छ । अदालतले पनि आफ्नो मर्यादालाई निभाएको हुनु पर्छ । न्याय गरेर मात्रै हुँदैन । न्याय गरेको पनि देखिनु पर्दछ । उहाँहरु जे–जे फैसला गर्नु हुन्छ प्रत्येक फैसलाहरु विवादित छन् । एनसेलमा जानुस् त्यही हुन्छ, चुडामणिमा जानुस्, गोपाल खड्कामा जानुस् त्यही हुन्छ । साझाको डोलिन्द्र शर्मातिर जानुस् त्यही छ । के गरेको यस्तो, नबोल्ने त हामीले ? व्यक्तिगत रुपमा ति जम्मै मेरा मित्र हुन् । बोल्ने समय आइसक्यो नि त । मानहानी गर्ने मलाई ? कहिलेसम्म चुप लागेर बस्ने त ? त्यसकारण अदालतको न्याय अन्याय भन्दा पनि गोविन्द केसीको प्रतिउत्तर मलाई ठिकै लाग्यो । न्यायलयविरुद्ध होइन, गोपाल पराजुलीको हर्कतको विरुद्ध भनेपछि मैले देखेको न्यायको व्याख्या गर्ने ठाउँ सर्वोच्च अदालत हो । डा. सुरेन्द्र भण्डारीले यो मुद्दा लिनु भएको छ । उहाँ पढेको र जानेको मान्छे हो । त्यसकारण हाम्रो बोल्ने समय आयो र हामी बोल्ने ठाउँमा उभिएका छौँ । हेर्नु होला म एक महिनापछि रिटायर्ड हुँदैछु । सुरेन्द्र केसी खरो बोल्छ भन्छन् । यो राष्ट्रले सुन्नेछ सुरेन्द्र केसी बोलेको । एक महिना त पर्खियोस् यो देशले त्यसपछि हामी देखाइदिन्छौँ । भ्रष्टहरुको ठाउँ कहाँ हो र हाम्रो ठाउँ कहाँ हो ।