arrow

फेरिँदै सरकारी मर्यादाक्रम : महानगरका मेयर नेपाल सरकारको सचिवभन्दा माथि

logo
प्रकाशित २०७४ पुष २७ बिहिबार
mayor_chair.png

काठमाडौं । सरकारले नेपाल सरकारको सचिवलाई मर्यादाक्रममा महानगरपालिकाको मेयर भन्दा तल राख्ने तयारी गरेको छ । स्थानीय तहको निर्वाचन, प्रदेशको व्यवस्था लगायत नयाँ संरचनालाई समेत समेटेर तयार पार्न लागेको नयाँ सरकारी मर्यादाक्रम अनुसार सरकारले नेपाल सरकारको सचिवलाई महानगरपालिकाको मेयर भन्दा तल्लो पदमा राख्ने विषयमा पटक पटक छलफल गरिरहेको छ । 

संघीय मामला तथा स्थानीय विकास मन्त्रालयले तयार पार्न लागेको काठमाडौं महानगरपालिकाको कार्यकारी प्रमुखमा नेपाल सरकारका सचिवलाई पठाउने नयाँ व्यवस्थाको मस्यौदा तयार पार्नुअघि पुरानो मर्यादाक्रमको विषयमा छलफल भएको थियो । जसमा नेपाल सरकारका राजपत्राङ्कित विशिष्ठ श्रेणीका सचिवलाई महानगरपालिकाको मेयर भन्दा तल राख्ने मोटामोटी सहमति भएपछि काठमाडौं महानगरपालिकामा कार्यकारी प्रमुखको रुपमा मेयरलाई पठाउने तयारी अघि बढेको स्थानीय विकास मन्त्रालयका एक अधिकारीले जानकारी दिए । 

पछिल्लो पटक गत जेठ २४ गते जारी गरेको नयाँ सूचना अनुसार पुरानै संरचनाको मर्यादाक्रममा नेपाल सरकारका सचिव महानगरपालिकाका मेयर भन्दा माथि थिए । यस अघिको मर्यादाक्रममा काठमाडौं महानगरपालिकाका मेयरको भन्दा अगाडि ५० वटा पद रहेको छ । मर्यादा क्रमको सूचीमा भने महानगरपालिका मेयर १८ औं स्थानमा राखिएको थियो । 

कस्तो थियो पुरानो मर्यादाक्रम ?

मन्त्रालयले दिएको जानकारी अनुसार महानगरपालिकाका मेयरहरु सरकारको मर्यादा क्रममा नेपाल सरकारका सचिव एवं राजपत्रांकित विशिष्ठ श्रेणीका कर्मचारीहरु भन्दा तल्लो तहमा र सहसचिव एवं राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीहरु भन्दा माथिल्लो दर्जामा महानगरपालिकाको मेयरलाई राखिएको छ । उक्त मर्यादा क्रम अनुसार सबैभन्दा माथि राष्ट्रपति रहन व्यवस्था रहेको छ । 

त्यस्तैगरी दोस्रो, तेस्रो, चौथो र पाँचौं पदमा क्रमशः उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीस र सभामुख रहने व्यवस्था गरिएको छ । पूर्वराष्ट्रपति र उपप्रधानमन्त्री छैटौं मर्यादाक्रममा रहन्छन् भने उनीहरु पछि मन्त्री व्यवस्थापिका संसद्को विपक्षी दलका नेता, पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व प्रधानन्यायाधीस, व्यवस्थापिका संसद्का उपसभामुख र पूर्व सभामुख सातौं नम्बरको मर्यादा क्रममा रहन्छन् । 

आठौं नम्बरमा राज्यमन्त्री र संविधान सभा तथा व्यवस्थापिका संसद्का विभिन्न समितिका सभापतिहरु रहन्छन् भने योजना आयोगका उपाध्यक्ष र प्रज्ञा प्रतिष्ठानका कूलपति नबौं नम्वरमा रहने गृह मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै, दशौं नम्बरमा सर्वोच्च अदालतका न्यायाधीस र न्याय परिषद्का सदस्य तथा ११ औं र १२ औं नम्बरमा क्रमशः सहायक मन्त्री र संसद्का सदस्यहरु रहन्छन् । 

मर्यादाक्रमको १३ औं नम्बरमा संबैधानिक निकायका प्रमुख, महान्यायाधीवक्ता, नेपाल सरकारका मुख्य सचिव, प्रधानसेनापति, संसद् सचिवालयका महासचिव, १४ औं नम्बरमा उच्च अदालतका मुख्य न्यायाधीश, राष्ट्रिय योजना आयोगका सदस्य, स‌वैधानिक निकायका पदाधिकारीहरु, नेपाल राष्ट्रबैंकका गभर्नर प्रज्ञा प्रतिष्ठानका उपकूलपति र विश्वविद्यालयका उपकूलपति रहनेछन् । 

त्यस्तै १५ औ नम्वरमा नेपाल सरकारका सचिव नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी र नेपालि स्थित विदेशी राजदूत, सार्कका महासचिव, नेपाली राजदूत , सर्वोच्च अदालतका रजिष्ट्रार, नायब महान्यायाधिवक्ता, उच्चअदालतका न्यायाधीश  रहनेछन् भने रथी, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, मुख्य अनुसन्धान निर्देशक ९राष्ट्रिय अनुसन्धान विभाग० र नेपालस्थित संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका आवासीय संयोजक १६ औ मर्यादा क्रममा रहने गरेका छन् । 

त्यस्तै महानगरका मेयर भन्दा अघिल्लो मर्यादा क्रममा उपरथी, प्रहरी अतिरिक्त महानिरीक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक रहेका छन् । मर्यादा क्रमको १८ औ नम्बरमा मात्रै महानगरपालिकाका मेयरको मर्यादा रहेको छ । त्यस्तै, नगरपालिका र उपमहानगरपालिका प्रमुखहरु १९ औं नम्बरमा पर्दछन् । उनीहरुसँगै नेपाल सरकारका सहसचिवहरु समेत रहने पनि मन्त्रालयले जनाएको छ । तर गाउँपालिकाका अध्यक्षहरु २५ औं नम्बरको मर्यादा क्रममा पर्दछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ