arrow

ओबामाले सुधारेको सम्बन्ध किन सहज बनाउन सक्दैनन् ट्रम्प

logo
रमेश लम्साल,
प्रकाशित २०७४ पुष २९ शनिबार

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले आफ्ना क्युबाली समकक्षीसँग अङ्गालोमार्दै भनेका थिए – अमेरिका र क्यूबा एक अर्काको सहयोगी बन्नेछन् र मित्रताको व्यवहार गर्नेछन् ।

आफ्नो आठवर्षे कार्यकालको उत्तरार्धमा सम्बन्ध सुधारको महत्वपूर्ण लक्ष्यका साथ ओबामाले आफ्ना समकक्षी राहुल क्यास्ट्रोसँग गम्भीर विषयमा वार्ता र सम्वाद मात्रै गरेनन्  ५० वर्षभन्दा लामो समयदेखि बन्द रहेको एक अर्काको दूतावास खोल्ने समेत सम्झौता भयो ।

हवानाको सडकमा अमेरिका र क्युबाका झण्डा फहराउँदा दुई मुलुकबीच मैत्रीसम्बन्ध नयाँ दिशामा पुगेको अनुमान गरिएको थियो । तर एकाध महिनापछि अमेरिकी सर्वोच्च निकायमा आइपुगेका ओबामाका उत्तराधिकारी डोनाल्ड ट्रम्पले ह्वाइट हाउसको सत्ता सम्हाल्दा नसम्हाल्दै क्युबासँगको सम्बन्ध अगाडि बढ्न नसक्ने घोषणा गरिदिए ।

धेरै मानिसहरुले सोचेको भन्दा फरकरुपमा ट्रम्प प्रस्तुत भएपछि ओबामाले सुरु गरेको सम्बन्ध सुधारको यात्रामा गत्यावरोध पैदा भएको छ । अमेरिका र दक्षिणी मुलुकको सम्बन्धलाई नजिकबाट नियाल्ने हो भने ट्रम्पको पछिल्लो कदमलाई सकारात्मक कदमको रुपमा लिन नसकिने अन्तरराष्ट्रिय सञ्चार माध्यमको टिप्पणी छ ।

ओबामाले हवानामा भनेका थिए – मेरो महत्वपूर्ण भ्रमण भएको छ र यसबाट अमेरिका र क्युबाबीच दशकौँदेखि देखिँदै आएको शीतयुद्धको अवशेष अन्त्य हुने विश्वास छ । उनले क्युबाली जनतालाई अमेरिकाले पछिल्लो समय विश्वास लिएर अघि बढेको बताएका थिए ।

राष्ट्रपति बाराक ओबामाका विदेशमामिलासम्बन्धी सल्लाहकार बेन रोड्सले यो भ्रमणलाई सार्थक तुल्याउन तथा क्युबाली नागरिकसँगको प्रत्यक्ष सम्पर्क र सम्बन्ध बढाउनका लागि भ्रमण सबैभन्दा महत्वपूर्ण अवसर भएको त्यतिबेला बताएका थिए । तर दुःखद पक्ष त के भयो भने ट्रम्पको उदयपछि ओबामाले सुरु गरेको यस्तो महत्वपूर्ण सम्बन्ध विस्तारको यात्रामा पूर्णविराम लागेजस्तै भएको छ ।

कम्तीमा पनि ८८ वर्षपछि क्युबाको औपचारिक भ्रमण गर्ने ओबामा पहिलो राष्ट्रपति हुन्। विगतका तिता अनुभवलाई पखाल्ने र आगामी दिनलाई थप सुमधुर बनाउन सघाउने लक्ष्यका साथ सम्बन्ध विस्तारको अध्याय सुरु भएको थियो ।

क्युबाको राजधानी हवानामा दुवै देशको झण्डा उठाएर सम्बन्धमा नयाँपनको सन्देश दिइएको थियो । अमेरिकी राष्ट्रपतिका रुपमा उनको यो भ्रमण सन् १९२८ पछि पहिलो पटक भएको थियो । आधा शताब्दिभन्दा पनि लामो समयपछि भएको उनको यो भ्रमणका क्रममा महत्वपूर्ण विषयमा छलफल वा सम्झौताभन्दा पनि सम्बन्धको सुधारका क्षेत्रमा प्रगति हुने अपेक्षा थियो ।

सन् २०१४ को डिसेम्बरमा अमेरिकी राष्ट्रपति ओबामा र क्युबाली राष्ट्रपति क्यास्त्रोबीच सम्बन्धको सुधार गर्ने विषयमा सहमति भएको थियो । तर ट्रम्पले पूर्व राष्ट्रपति ओबामा र क्युबा सरकारबीच भएको केही सम्झौता रद्द गरिदिएका छन् ।  उनले क्युबाप्रतिको आफ्नो प्रशासनको नयाँ नीति अघि सारे । त्यसमा कम्युनिस्ट नेतृत्वको टापू मुलुक क्युबासँग द्विपक्षीय आदान प्रदानसम्बन्धी ओबामा प्रशासनले लागू गरेका नीतिका केही महत्वपूर्ण पक्ष ट्रम्प प्रशासनले उल्ट्याएको छ ।

यो कुरा पहिल्यैदेखि स्पष्ट थियो कि राष्ट्रपति ट्रम्पले आफ्ना पूर्ववर्ती ओबामाको तुलनामा क्युबाली सरकारसँग अझबढी आक्रामक नीति अवलम्बन गर्न चाहिरहेका छन् ।  मायामीको एक समारोहमा उनले भनेका थिए  ओबामा प्रशासनले क्युबासँग गरेको पूर्णतः एकतर्फी सम्झौता तत्काल लागू हुनेगरी मैले रद्द गर्दैछु । ओबामा प्रशासनले खुकुलो पारेको यात्रा प्रतिबन्ध र व्यापारमाथिको कडाइको अवस्थालाई ट्रम्पले यथास्थितिमा फर्काए  । यद्यपि कडा कदम चालिएपनि क्युबासँगको द्विपक्षीय आदानप्रदानको नीतिलाई चाहिँ पूर्णरुपमा उल्ट्याइएको छैन् हालसम्म ।

क्युबा भ्रमणमा जाने अमेरिकीले त्यहाँको यात्रामा जानुपर्ने उद्देश्यबारे थप प्रश्नको सामना गर्नु परिरहेको छ । पछिल्ला दुई वर्षमा कीर्तिमानी संख्यामा अमेरिकी नागरिकले क्युबाको यात्रा गरेका थिए । ट्रम्पको घोषणापछि व्यक्तिगतरुपमा भन्दा संगठित समूहमा अमेरिकीहरु क्युबाको भ्रमणमा जानुपर्ने हुन्छ । अमेरीकी डलरले क्यास्ट्रो सरकारलाई सघाइरहेको भन्दै ट्रम्पले क्युबाली सेनाको व्यापारिक शाखाहरुसँग मिलेर लगानी गर्न अमेरिकी कम्पनीमाथि प्रतिवन्ध लगाएका छन् ।

अमेरिकाले गत अक्टाबेरमा आफ्ना ६० कर्मचारीलाई हवानाबाट फिर्ता बोलाएको थियो । कर्मचारी फिर्ता बोलाएको केही दिन पछि १५ क्युबाली अधिकारीलाई सातदिन भित्र अमेरिका छाडन आदेश दिएको थियो । ओबामाले सुरु गरेको सहकार्यको यात्रामा ट्रम्प प्रशासनको सो कदम एउटा खराब दिनको सुरुवाताको रुपमा अथ्र्याइएको छ ।

गत नोभेम्बरमा एक सूचनामार्फत अमेरिकी नागरिकलाई क्युबाको भ्रमण नगर्न समेत आदेश दिइयो । सन् २०१५ को जुलाइमा पुनःस्थापना भएको दूतावासमा कर्मचारी कटौती गर्नेदेखि लिएर अनेकन कदम चालेपछि शीतयुद्धकालीन अवस्थामा अमेरिका र क्युबा सम्बन्ध पुगेको छ ।

यस्तै चुनावी अभियानदेखि नै मेक्सिकोसँगको सीमाना नियमन गर्ने दावीगर्दै आएका ट्रम्पले अगाडि सारेका केही नीतिका कारण दुई देशबीच विगतको जस्तो सुमधुर सम्बन्ध रहन सकेको छैन । सन् २०१७ मा आशङ्का र विवादको वर्षको रुपमा मेक्सिकोले अमेरिकासँगको सम्बन्धलाई अथ्र्याएको छ । सीमामा लगाउने पर्खालको खर्च मेक्सिकोले तिर्नुपर्छ भनेर ट्रम्पले भाषणगर्दै हिँडेको भन्दै मेक्सिकोले आफूहरु खर्च व्यहोर्न तयार नभएको प्रतिक्रिया दिएको छ । सीमानामा बार लगाउने सम्बन्धी विवाद हालसम्म पनि यथावत् नै छ ।

राष्ट्रपति निर्वाचनको अभियानमा घोषणा गरेको वाचाअनुसार मेक्सिकोको सीमामा पर्खाल बनाउने घोषणा गरियो र सान डियागोमा निर्माणाधीन पर्खालका केही नमुना समेत केही समय पहिले सार्वजनिक गरियो । ट्रम्पको घोषणालाई कार्यान्वयन गर्नेभन्दै आठ प्रकारका नमुना सार्वजनिक गरिएको र कामसमेत सुरु भएको जनाइएको छ । मेक्सिकोले आप्रवासी पठाउन सहयोग गरेको अमेरिकी आन्तरिक सुरक्षा निकायको आरोप छ । त्यसैलाई लिएर ट्रम्पको आफ्नो घोषणा कार्यान्वयन गरेरै छाड्ने जिकिर छ ।

कार्यभार सम्हालेलगत्तै अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले छ महत्वपूर्ण आप्रवासीका नाममा आदेश जारीगर्दै मेक्सिकोसँगको सीमानामा पर्खाल लगाउने घोषणा गरेका थिए । राष्ट्रपति ट्रम्पले अमेरिकाको राष्ट्रिय सुरक्षालाई ध्यानदिँदै छ मुस्लिम राष्ट्रका आप्रवासीलाई अस्थायी प्रतिबन्ध लगाउन आदेश दिए । जुन हालसम्म पनि विवादको घेरामा परिरहेको छ ।

राष्ट्रपति ट्रम्पले ट्विटगर्दै भनेका छन् – ‘राष्ट्रिय सुरक्षाको लागि भोलि ठूलो दिन हुन्छ । यसका साथै हामी अरु कुरासँगै सीमामा पर्खाल बनाउनेछौ ।’

मेक्सिकोको सीमामा पर्खाल बनाउन अमेरिकी संघीय सरकारले रकम निकासा गर्नेछ । सीमामा पर्खाल लगाउनेबारे मेक्सिकोका राष्ट्रपति एनरिक पेना नियटोसँग पनि छलफल भएको थियो । तर कुनै निकास हालसम्म निस्किएको छैन । ट्रम्पले घोषणा गरेको मुख्य योजनाले धेरैभन्दा धेरै शरणार्थीलाई अमेरिका प्रवेशमा कठिनाई हुने सञ्चारमाध्यमले दाबी गरेका छन् । तर अमेरिका प्रवेश गर्न चाहने सयौँको संख्यामा आप्रवासी मेक्सिकोको विभिन्न सहरमा अझै पनि छन् । यस्तै अर्को दक्षिण अमेरिकी राष्ट्र भेनेजुयलासँग पनि अमेरिकी सम्बन्ध राम्रो छैन । नागरिक माथि दमन गरेको र प्रजातन्त्र हरण गरेको भन्नेजस्ता आरोप भेनेजुयलाका राष्ट्रपति निकोलस माधुरोमाथि लागेको छ ।

भेनेजुयलामा देखिएको राजनीतिक सङ्कट समाधान गर्न गतवर्ष सम्पन्न भएको संविधानसभाको निर्वाचनमा विपक्षीले बहिस्कार गरेको, २०० बढी नागरिकको प्रहरीको गोलीका कारण मृत्यु भएको, विपक्षी नेतालाई नजरबन्दमा राखिएको जस्ता आरोप लागेको छ ।

भेनेजुयलाको प्रतिपक्षी गठबन्धन समूह डेमोक्रेटिक युनिटी राउन्ड टेबल (एमयूडी)ले वर्तमान राष्ट्रपति निकोलास माडुरोले भेनेजुयलामा राजनीतिक सङ्कट चरम बन्दासमेत समाधान गर्न नसकेको तथा राजनीतिक अन्यौलका कारण आर्थिक सङ्कटसमेत चुलिएको भन्दै अमेरिकाले चासो व्यक्त मात्रै गरेन । राष्ट्रपति माधुरोलगायतको सम्पत्ति कालोसूचीमा राख्ने र यात्रामा समेत प्रतिबन्ध लगाएको छ ।

तेल निर्यातक राष्ट्रको रुपमा रहेको सो मुलुकमा विगत तीन वर्षदेखि राजनीतिक सङ्कट गहिरिदै गएको छ । तर राष्ट्रपति माधुरोले भने अन्तरराष्ट्रिय मञ्चमा अमेरिकाले आफ्नो मुलुकमा हिंसा भडकाएको आरोप लगाएका छन् ।

माडुरोले राजनीतिक सङ्कटलाई निकास नदिएको र प्रतिपक्षी दलको भावनाविपरित अघि बढेको भन्दै अन्तरराष्ट्रिय समुदायबाट समेत निर्वाचनको आलोचना भएको छ । उक्त आलोचना गर्नेमा अमेरिका र ट्रम्प प्रशासन नै अग्रपंक्तिमा रहेको छ । माडुरोले संविधानसभाको निर्वाचन गराएरै छाड्ने अठोट लिएको भनी निर्वाचन प्रक्रियाप्रति आलोचना व्यक्त गरिको हो ।

कुल ५४५ सदस्यीय संविधानसभाका लागि छ हजारभन्दा बढी उम्मेदवार मैदानमा खडा भएपनि एकजना पनि उम्मेदवारले विपक्षी दलको तर्फबाट भाग नलिएको भन्दै अमेरिकाले उक्त निर्वाचनलाई अवैध घोषणा गरेपछि अमेरिकाले भेनेजुयला विरुद्ध प्रतिबन्धसम्म लगाउने कदम चालेको हो । ट्रम्पका पूर्ववर्ती ओबामाले क्षेत्रीय शान्तिका लागि भन्दै दक्षिण अमेरिकी मुलुकसँगको सम्बन्ध विस्तारका लागि चालेका सबै कदमहरु अहिले निस्क्रिय भएका छन् ।

ट्रम्प प्रशासनसँग सम्बन्ध सुधारको प्रतिक्षामा रहेका दक्षिण अमेरिकी अन्य मुलुक पनि क्युबा, भेनेजुयला, मेक्सिकोसँगको खराब सम्बन्धका कारण दुखित छन् । ब्राजिलले भने क्षेत्रीय शान्ति र स्थिरताका लागि अमेरिकासँग मिलेर काम गर्ने प्रतिवद्धता सन् २०१८ को सुरुवातीसँगै जनाएको छ । अर्जेन्टिनासँग पनि सुमधुर सम्बन्ध नभएको टिप्पणी प्रकासमा आइरहेकै छन् । क्यानडा र भेनेजुयलाको सम्बन्ध पनि खराब अवस्थामा रहेको छ । एक अर्काका कूटनीतिक अधिकारीको देश निकालाको घोषणाले यो अवस्था देखाउँदछ ।

अमेरिका पहिला’ नीतिमा अगाडि बढेका ट्रम्पका कारण खराब दिन सुरु भएको भेनेजुआली राष्ट्रपति माडुरोको प्रतिक्रिया रहेको छ । गत वर्षको जनवरी २० मा शक्तिशाली मुलुकको बागडोर सम्हालेपछि सम्बन्ध सुधारको प्रतिक्षामा रहेका मुलुक पनि उनका दोहोरो अर्थ लाग्ने खालका ट्वीट र आक्रोशयुक्त अभिव्यक्तिका कारण चिढिएको उनका आलोचकहरुको टिप्पणी छ ।

सन् २०१७ भर नै विवादको घेरामा रहेका शक्तिशाली देशका शक्तिशाली कार्यकारी प्रमुखलाई अहिले देशभित्रै सोधिने धेरै प्रश्नमध्ये एक हो मेक्सिकोको सीमामा पर्खाल कहिले र कताबाट बन्दैछ ? तर उत्तर भने उनले दिइसकेका छैनन् । विवाद, संशय र अविश्वासको घेरामा उनको प्रशासन र दक्षिणी अमेरिकी राष्ट्रहरु परिरहेका छन् । यसबाट पार पाउन उनले आगामी दिनमा कस्तो कदम चाल्नुहुने हो भन्ने प्रतिक्षा भने अझै सकिएको छैन । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ