प्रादेशिक व्यापार मेला तथा १४ औं लेखनाथ महोत्सव शुरु, २२ गतेसम्म के के हुन्छ मेलामा ?
सरिता तिम्सिना पगेनि
प्रकाशित २०७४ माघ १२ शुक्रबार
398
Shares
पोखरा । लेखनाथ उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा बिहिवारदेखि पोखरा–लेखनाथ महानगरपालिकाको तालचोकमा प्रादेशिक औद्योगिक व्यापार मेला तथा लेखनाथ महोत्सव शुरु भएको छ ।
“ लेखनाथको संस्कृति, स्थानीय उत्पादन ,विकास र सम्वृद्धि “ भन्ने मूल नाराका साथ शुरु गरिएको महोत्सवमा कृषि, हस्तकला, मेशिनरी, कर्पोरेट,अटो, जनरल,फेन्सी, गार्मेन्ट, डेरी लगायतका करिव तिन सय ५० वटा स्टल रहेका छन् ।
औद्योगिक उत्पादन ,घरेलु तथा साना उद्योग र हस्तकलाका वस्तुहरुको वजार प्रवद्र्धन, स्थानीय उत्पादन, आवश्यक ज्ञान, उद्यमशीलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाको वजारीकरण गर्ने महोत्सवको मूल उद्धेश्य रहेको छ ।
महोत्सवको थप आकर्षणका रुपमा वाल उद्यान,खाना महोत्सव म्यूजिक कन्सर्ट, राष्ट्रिय लोक दोहारी कार्यक्रम, शैक्षिक गतिविधिहरुको प्रस्तुती, रितिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम,विद्यालयका छात्र छात्राहरुको नृत्य र गायन जस्ता कार्यक्रम राखिएका छन् ।
महोत्सव अवधिभरी तीन लाख दर्शकहरुले अवलोकन गर्ने र करिव १५ देखि २० करोड वरावरको आर्थिक कारोवार हुने अपेक्षा गरिएको छ ।
महोत्सवमा करीव रु एक करोड आम्दानी र ८० लाख खर्च भई रु ।२० लाख वचत हुने अनुमान गरिएको छ । महोत्सवको उद्घाटन गर्दै प्रतिनिधिसभाका सदस्य एवं पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले राजनैतिक क्रान्ति सकिएकोले अब सबै दलहरु आर्थिक सम्वृद्धि र विकासतर्फ अग्रसर हुनु पर्नेमा जोडएका थिए ।
अब बन्ने नयां सरकारले परिवर्तनको महशूस हुने गरि काम गर्ने विश्वास व्यक्त गर्दै साविक लेखनाथ नगरपालिकामा प्रादेशिक सभाहल बनाउन आफुले प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
संघका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेशसभाका सदस्य दीपक कोइराला, विन्दुकुमार थापा, व्यापार तथा निकासी केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणा प्रदेश नं ४ को उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जीव वहादुर कोइराला, नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसी, तनहुँ उद्योग बाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठ, बुद्धिकुमारी थापा मगर, लगायतका वक्ताहरुले महोत्सवको बिषयमा बोलेका थिए।