arrow

दासबाट माथि उठ्न नसकेको कार्यकर्ता तह, कसरी जोगिएला लोकतन्त्र?

logo
प्रगतिमान रञ्जित,
प्रकाशित २०७४ माघ १४ आइतबार
pragatiman_-ranjit.jpg

जव राजनीतिक रुपमा केहि उथलपुथल हुन्छ तब नयाँ नयाँ चर्चाहरु हुन्छन। यसो गर्ने उसो गर्ने भनिन्छ तर समयक्रममा ति त्यतिकै सेलाएर जान्छ। कमै मात्र उठान भएका विषयको मात्र सम्वोधन भएका छन्। खासगरि नेतृत्वले सुन्ने गरि कार्यकर्ताले आवाजहरु उठाइरहने परिस्थिति नवन्दा धेरै कुरा बिचमै तुहिने गरेका छन्। यसका पछाडी पराधिन कार्यकर्ता पङति र मालिक हैसियतको नेतृत्व पङतिको मनोविज्ञानले काम गरेको छ। कार्यकर्ताहरू नेताहरूले गरेको गल्तीलाई आँखा चिम्लिएर आस, लोभ र त्रासमा झुण्डिएर बसुन्जेल नेताहरूले न त सुध्रिने प्रयास गर्नेछन् न निरकुंश बन्न छोड्छन्। तत्कालिन काँग्रेसका नेताहरु वीपी कोइराला गणेशमान सिंह कृष्णप्रसाद भट्टराई सुवर्ण शमशेर लगायतका नेताहरुको अगुवाइमा भएको सात सालको ऐतिहासिक जनआन्दोलनले नेपालीलाई रैतिबाट नागरिक बनायो। तर आज फर्उकेर हेर्दा हामीहरू नागरिक भएको यति लामो समय वितिसक्दा हामीहरु अझै पनि दलका नेताको दासबाट कार्यकर्ता बन्न अझै सकेका छैनौं।

सबै दलका नेताहरू आआफ्नो दलका महाराजा बनिरहँदा ती दलका तल्लो तहका नेतादेखि कार्यकर्तासम्म भजनमण्डली बाहेक केहि बन्न देखिदैन्। हरेक क्षेत्र र निकायमा खुलेआम भ्रष्टाचार छ। हरेक नियुक्ति र सरूवा बढुवामा पैसाको चलखेल र राजनीति छ। सक्षम युवाहरू विरक्तिएर बिदेश भासिने क्रम बढेको बढ्यै छ। प्रजातन्त्र स्थापना पश्चात सुनौलो भबिष्यको आशाका साथ प्रजातन्त्र स्थापनाका लागि सघर्ष गरेका साथीहरू आफ्नो सर्टिफिकेट स्वदेशमा बेच्न नसकेर बिदेशमा बेच्न बाध्य भएका छन्। स्वदेशमा श्रम गर्न नपाएर बिदेशमा श्रम गर्न बाध्य भईरहेका छन्। पसिना बगाएर काम गर्नेहरूको आर्थिक अवस्था दयनीय हुँदै गईरहेको छ भने चाकरी र चाप्लुसी गर्न जान्ने चाटुकारहरू जादुगरले जस्तै रातारात अरबपती भएका छन्। गरिब नागरिकहरू १७ सय रूपैयाँको औषधोपचार गर्न नसकेर आत्महत्या गर्नुपरेका समाचारहरु आएका छन् भने नेताहरू १७ करोड खर्च गरेर उपचारका लागि राज्यको ढुकुटी दोहन गर्दै बिदेशमा उपचार र शयर गरिरहेका छन्। अनि हामी दलका कार्यकर्ताहरू अझै पनि केहि पाइएला, कहिँ नियुक्ति देला भन्ने लोभमा यी सबै कुकृत्यलाई मौन समर्थन जनाइरहेका छौं।  

लोकतन्त्रको सुन्दर पक्ष भनेको निर्वाचन हो र निर्वाचनले चुनिने जनप्रतिनिधिहरू यसका मेरूदण्ड। तर अहिले कसरी र कस्ता ब्यक्तिहरू दलका उम्मेदवार चुनिए र बिजयी भए हामीले देखिआयौ। एउटा वडा अध्यक्षले ५० लाखदेखि १ करोड खर्च गरेका छन् भने ३ करोड देखि २० करोड सम्म खर्च गरेर सांसद भएका धेरै छन्। यसरी खर्च गरेर आएका जनप्रतिनिधिहरूबाट कस्तो आशा गर्न सक्छौ ? प्रजातन्त्रका लागि आफ्नो ज्यान अर्पण गर्न तयार भएर आफ्नो सम्पूर्ण समय पढाइ र राजनैतिक आन्दोलन तथा समाजसेवामा समर्पित गरेकाहरू समेत अहिले बाटो विराएको अवस्थामा भेटिन्छन। ऐन मौकामा आफूले लडेको मूल्य र मान्यता भन्दा पैसालाई महत्व दिने भएपछि तब तिनीहरूको अवस्था के हुन्छ? लोकतन्त्रमा ज्ञान, सिप र क्षमताको कदर हुनुपर्छ र मौका पनि यिनै गुण भएकाहरुले पाउनुपर्छ तर जब यी सबैलाई उछिनेर बिभिन्न काला कर्तुत गरी धन आर्जन गरेका ब्यक्तिहरूले धनको भरमा महत्व पाउँछ तब लोकतन्त्र दुर्बल हुँदै जान्छ र लुटतन्त्रको राज हुँदै जान्छ। यो अवस्थामा ज्ञान,शिप र क्षमता भएका सबै नागरिकहरू बिदेश पलायन भए भने भने हाम्रो देश कस्ता ब्यक्तिहरूले बनाउने? 

हामीले सोचेको खोजेको र रगत पसिना बगाएर ल्याएको लोकतन्त्र,गणतन्त्र यहि हो त ? यसरी लोकतन्त्र बलियो र दिगो हुन्छ? आज दलका नेताहरुमा देखिएको आशक्ति र लोभतन्त्र नै लोकतन्त्रको दुश्मन भएको छ। लोभतन्त्र र लोकतन्त्र एकै ठाउँमा धेरै समयसम्म रहि रहन सक्दैन। लोकतन्त्रमा क्षमताको कदर हुन्छ भने लोभतन्त्रमा माफियाहरूको उच्च मुल्याङ्कन। कार्यपालिका, न्यायपालिका,सैनिक, प्रहरी लगायत सबै निकायहरू भ्रष्टाचारबाट मुक्त हुन सकेको छैन। हरेक निकायका प्रमुखहरू बिबादबाट मुक्त छैनन्। अनि सबै ठाउँमा भागवण्डाको राजनैतिक नियुक्ति। यी सबै कमजोरीबाट राजनैतिक नेताहरूले जिम्मा लिने कि नलिने? राजनीतिमा हरेक घटना र परिघटनाको समय सिमा र हद हुने गर्छ। समयमै यसको मुल्याङ्कन र सुधार गर्न सकिएन भने ढीलोचाँडो बिष्फोट हुने कुरालाई कसैले पनि रोक्न सक्वदैन। जसरी पूर्व राजा ज्ञानेन्द्रले आफ्नो अहंमलाई सीमामा राख्न नसक्दा भोग्नु पर्यो र भोगिरहेका छन्।

यो तितोसत्यलाई हामी सबैले हैन भन्न सक्दैनौ। तर पनि यो पढिरहँदा खुलेर प्रतिक्रिया दिन समेत हामी डराउने अवस्थामा पुगेका छौं। जसरी राजतन्त्रमा राजासँग पञ्चहरू डराउने गर्थे। पञ्चायतमा राजाले गरेका गलत कामहरूलाई पनि उनका भारदारहरूले गज्जब सरकार भन्दै उक्साउने गर्दथे जसको परिणाम २०४६मा पञ्चायत पछि २०६३मा राजतन्त्रकै अन्त्य हुनपुग्यो। कतै हामी पनि त्यहि बाटोतिर त छैनौ? यसतर्फ कम्तीमा लोकतन्त्रवादीहरुको ध्यान जानुपर्ने हो तर अझै देख्न सकिएको छैन। 

यी पङतिहरु कसैका विरोधका लागि खर्चिएका शब्दहरु पनि हैनन। यो आम प्रवृतीको एउटा दृष्टान्त मात्र हो। यो त अहिले मौलाउँदै गईरहेको गलत प्रबृत्ति र शैली मन नपराउनेहरुको बिरोधको आवाज हो। हिजो एउटा सुन्दर भबिष्यको आशा लिएर प्रजातन्त्र प्राप्तिका लागि लडेको ब्यक्तिहरुमा देखिएको निराशाको आवाज हो। आज पनि हजारौ लाखौ युवाहरू अझै केहि राम्रो होला भन्ने आशा लिएर बसिनै रहेका छन् तर हरदिन निराशाको खाडल बढेको बढ्यै छ। घुस बिना सानोतिनो काम नै नहुने अवस्था, जताततै कालोबजारी, छाडापन मौलाएको छ। नियमन, नियन्त्रण र सजाय तोक्ने सबै निकायहरू नै भ्रष्टाचारमा लिप्त छन्। अनि यस्तो अवस्थामा लोकतन्त्र कति समय टिकिरहन सक्ला? हामी सचेत नहुने हो र लोभ तथा आशमै झुन्डिरहने हो भने लोकतन्त्र जोगाउन पनि गाह्रो हुने अवस्था आउँछ। लोकतन्त्र जोगाउन हाम्रो सोचमा परिवर्तन गर्नै जरुरी छ। यदि हामी परिवर्तन हुन सकेनौ भने लोकतन्त्र रहला नरहला भन्न सकिन्न तर देशका नवयुवा,सक्षम शिक्षित युवा,ईमान्दार श्रमिक युवाहरू यो देशमा रहन सक्दैन यो भने पक्का हो।



नयाँ