काठमाडौं। धितोपत्र सार्वजनिक निष्काशन प्रणालीलाई थप व्यवस्थित र सर्वसूलभ बनाउन सिडिएस एण्ड क्लियरिङ लिले शुक्रबारदेखि केन्द्रीकृत आश्वा प्रणाली (सि–आश्वा) प्रणाली लागू गरिने जनाएको छ। फाराम बोकेर घन्टौँसम्म लाइनमा बसी धितोपत्र खरिद गर्नुपर्ने अवस्था अब अन्त्य हुनेछ। लिमिटेडका अध्यक्ष एवं नेपाल स्टक एक्स्चेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले रसुवागढी र साञ्जेनको सीमित साधारण शेयरको बिक्री शुरु गर्न लागिएकै समयमा सि–आश्वा प्रणाली लागू गर्न लागिएको जानकारी दिए।
उनले सि–आश्वाको कार्यान्वयनसँगै लगानीकर्ताले घरमै बसेर आवेदन दिने र हप्ता दिनभित्रै शेयर बाँडफाँट गरी लगानीको प्रतिफल प्राप्त गर्ने वातावरण तयार भएको बताए। रसुवागढी र साञ्जेनको साधारण शेयर खरिदका लागि भने विशिष्ट अवस्था भएकाले बैंक तथा वित्तीय संस्थामा नै जानुपर्नेछ।
सि–आश्वा प्रणालीमा हालसम्म ६० बैंक तथा वित्तीय संस्था आबद्ध छन्। सो प्रणालीमा आबद्ध भई हालसम्म एक लाख ३९ हजार ५०२ जनाले विशेष नं ‘सिआरएन’लिइसकेका छन्। बैंक तथा वित्तीय संस्थामा आबद्ध लगानीकर्ताले आफ्नो खातामा रहेको बैंक तथा वित्तीय संस्थाको जुनसुकै शाखामा गएर सजिलैसँग सिआरएन नम्बर लिन सक्नेछ।
साञ्जेन जलविद्युत् आयोजनाका लागि सात लाख २९ हजार ७६१ तथा रसुवागढीमा आठ लाख ६८ हजार ३९५ सञ्चयकर्ताले आवेदन दिन पाउनेछन्। साञ्जेन आयोजनाका लागि साधारण शेयर भर्न गत मंसिर २६ गतेसम्मका सञ्चयकोषका सञ्चयकर्ता र रसुवागढीका हकमा गत पुस २० गतेसम्मका सञ्चयकर्ताले पाउनेछन्। रासस