arrow

बैंकहरुको भीडमा यसरी लोकप्रिय बन्दैछ सहकारी 

logo
रामचन्द्र रायमाझी 
प्रकाशित २०७४ फागुन १६ बुधबार
tansen.jpg

पाल्पा । तानसेनको मख्खनटोल क्षेत्र बैंक तथा वित्तीय संस्थाका  लागि ‘हव’ नै मानिन्छ । यस क्षेत्रमा सवै वाणिज्य बैंकहरुका शाखा छन् । साथसाथै राष्ट्रियस्तरका विकास बैंक र फाइनान्स कम्पनिले पनि मख्खनटोलमै सेवा दिइरहेका छन् । 

बैंक तथा वित्तीय संस्थाको पहुँज रहेको उक्त क्षेत्रमा  सहकारीको पनि बाक्लो उपस्थिति छ । मख्खनटोल र आसपासका क्षेत्रमा मात्र २ दर्जन भन्दा बढी सहकारीहरुले वित्तीय कारोबार सञ्चालन गरिरहेका छन् । 

यो उदाहरणले बैंकहरुको भीडमा पनि सहकारीको कारोबार बढ्दै गएको देखाउँछ । एक पछि अर्को गर्दै सहकारी संस्थामा समस्या देखिए पनि सर्वसाधारणको सहकारी प्रतिको आकर्षण भने घटेको छैन, बरु उल्टै सहकारीको कारोबार बढिरहेको छ । यसको एउटै कारण छ ,सहकारीको सजिलो ,छिटो सेवा प्रवाह र बैंकले नपत्याएका सर्वसाधारणलाई दिने सेवा । 

तानसेन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भेषराज सुवेदी भन्छन् “ बैंकहरुले भन्दा सहकारी छिटो, छरितो रुपमा सेवा दिने भएकाले बैंकहरुको भीडमा पनि सहकारीले आफ्नो छुट्टै अस्तित्वका साथ कारोबार गरिरहेको बताउँछन् ।” सुवेदीका अनुसार “बैंक, वित्तीय संस्थामा संकलन गरेर राखेको पैसाको ब्याजबाट गुजारा गर्नुपर्नेहरुको पहिलो रोजाइ सहकारी हुने गरेको छ ।”  

त्यस्तै रारा बचत तथा ऋण सहकारी सस्थाका प्रवन्धक प्रकाश रेग्मीले बैंकहरुको तुलनामा सहकारीको निक्षेपमा व्याज  उच्च रहेकाले  मानिसहरुको सहकारी प्रति आकर्षण बढ्दो रहेको बताए ।  स साना व्यापार गर्ने व्यापारीहरुले बचत भन्दा पनि छिटो र सजिलो कारोबारका लागि सहकारी छान्ने गरेको प्रवन्धक रेग्मीको भनाइ  रहेको छ ।  

जिल्लामा २ सय ९० सहकारी संस्थाहरु रहेका छन् । बैंकहरुको भीडमा यि सहकारीको कारोबार उच्च हुनुको अर्को कारण यहाँका अधिकाँश सहकारी व्यापारीहरुले सञ्चालन गरेका छन् । व्यापारीहरुको एक आपसको चिनजानका कारण कारोबार गर्ने भएकाले वार्षिक ६०÷६५ करोडको कारोबार गर्ने सहकारी समेत तानसेनमा रहेका छन् । 

व्यापारीहरुकै बाहुल्यतामै सञ्चालनमा रहेका लक्ष्मी बचत तथा ऋण सहकारी संस्था, मणिमुकुन्द बचत तथा ऋण सहकारी संस्था,  पाल्पा रारा बचत तथा ऋण सहकारी संस्था, श्रीनगर बचत तथा ऋण सहकारी, तानसेन बचत तथा ऋण सहकारी लगाएतका सहकारीहरुले ठूलो कारोबार गरिरहेका छन् । 

भगवती टोलकी हिमा न्यौपानेले  बैंक भन्दा सहकारीमा कारोबार गर्न सजिलो भएको बताउँछिन् । “सहकारी दैनिक बचत संकलन गर्न आउँछन् ,ऋण लिन पनि छिटो र सजिलो हुन्छ ,” उनले भनिन् ,“त्यसैले ब्याज महँगो भए पनि कारोबारका लागि सहकारी नै बढी प्रयोग गर्छौं ।”

ठूलो ठूलो कर्जाका लागि बैंक जाने भए पनि सानो र छिटो कारोबारका लागि सहकारीको प्रयोग गर्ने उनको भनाइ छ । जिल्ला सहकारी संघका अध्यक्ष कृष्ण जिसिले सहकारीहरुमा अपनत्वको भावना रहेकाले सहकारी संस्थाहरु प्रभावकारी रुपमा अगाडी बढेको बताए । उनले भने ‘सहकारीको प्रभावकारी सेवाका कारण नै बैंक तथा वित्तीय संस्थाको भीड रहेको ठाउँमा पनि सहकारी टिकिरहेका छन् ।’ 

डिभिजन सहकारी कार्यलय पाल्पाका सहकारी अधिकृत कृष्ण बहादुर बोहोरा सहकारीले दिने सेवाकै कारण छुट्टै पहिचान बनाएको बताउँछन् । 

सहकारीले जस्तो बैंकहरुले सेवा दिन सक्दैनन् ,उनले भने  त्यसैले “सहकारीहरु बैंकको प्रतिस्पर्धी होइनन् ,बरु सहकारीका कारण बैंकहरुलाई भने प्रतिस्पर्धी बन्न बाध्य भएको बोहोराले बताए । ”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ