arrow

लोप हुँदै परम्परागत घरेलु प्रविधि

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७४ फागुन २० आइतबार
dhiki.JPG

पाल्पा। आधुनिक प्रविधिसँगै जिल्लाका ग्रामीण क्षेत्रमा परम्परागत घरेलु प्रविधि लोप हुन थालेका छन् ।  धान, मकै कुट्न, पिस्न प्रयोग हुने ढिकी–जाँतो,ओखल, उखु पेलेर खुदोँ निकाल्ने, अमिलो पेलेर चुक बनाउने, तोरीबाट तेल निकाल्न प्रयोग गरिने कोल हराउदैं गएका छन् । पछिल्लो  समय नयाँ प्रविधिको मेसिन प्रयोगमा आएपछि परम्परागत मेसिन लोप भएको हो ।

माथागढी गाउँपालिका  झडेवाकी ७८ वर्षी विष्णुमाया घर्ती दशक अघिसम्म विहानै भालेको डाको सँगै अन्न कुटानी पिसानीका लागि ढिकी र जाँतो प्रयोग गर्ने गर्थिन् । जाँतो र ढिकीमा अन्न पिस्नु र कुट्नु उनको दिनचर्या नै थियो । अन्न कुट्न तथा फल्नको लागि घरमै ढिकी राखेकी थिइन्, तर अवस्था अहिले आएर फेरिएको छ । कुटानी पिसनीका लागि उनले अहिले ढिकी जाँतो प्रयोग गर्नु परेको छैन । गाँउमै मिल भएपछि ढिकीबाट कुटेको चामल उपयोग गर्नु नपरेको हो । गा्रमीण भेगमै आधुनिक मिल सञ्चालन भएपछि आम सर्वसाधारणले अहिले सहज महसुस गरेका छन् ।

अर्की एक स्थानीय ७८ वर्षीय इश्वरी घर्तीको परिवार संयुक्त रहँदा सम्म ढिकीमा धान कुट्ने र जाँतोमा मकै पिसने नियमित काम नै हुने गर्दथ्यो । पछिल्लो समयमा घर्तीले पनि मिलमा पिसनी कुटनी गरेको धानको चामल, मकैको पिठो प्रयोग गर्छिन । उनले ढिकी र जाँतोमा कुटेको अन्न स्वादिलो हुने बताउँछिन् । ‘कुटानी र पिसानीका लागि मिल सञ्चालन भएपछि ढिकी जाँतो लोप हुने अवस्थामा रहेको छ,’ घर्ती भन्छिन्, ‘कुटानी र पिसानी सहज भएकोले मिलमा धेरैको आकर्षण छ’ ।

 दशकअघि पाल्पाका विभिन्न ठाउँहरुमा ढिकी, जाँतो र ओखल भेटिने गरे पनि अहिले प्राय: ठाउँहरुमा देख्न सकिदैन । पहिला स्थानीय स्तरमा परम्परागत प्रविधिको प्रयोग गर्दा कृषक स्वयमले निर्माण गर्थे, खर्च धेरै हुन्थ्यो । आधुनिक मेसिन छिटो र सजिलो भए पनि यसमा जोखिम हुनुको साथै सवैको पहुँज नहुदाँ समस्या हुने गरेको छ । दैनिक प्रयोगका विभिन्न आधुनिक मेसिन भित्रिए पनि यस क्षेत्रका घरेलु मेसिनको आफ्नै खाले विशेषता रहेको स्थानीय बासिन्दा बताउन्छन् ।

 घरेलु तथा साना उद्योग कार्यलयको तथ्याङ्क अनुसार जिल्लाको ८ गाँउपालिका  र २ नगरपालिका मा दुई सय भन्दा बढी धान कुट्ने मिल दर्ता भएका छन् । आधुनिक मिल सञ्चालन भए सँगै कुटानी र पिसानीमा प्रयोग हुने परम्परागत सामाग्री हराउने अवस्थामा पुगेका छन् ।  जिल्लामा परम्परागत सामाग्री लोप हुने अवस्थामा पुगेपछि सर्वसाधारण चिन्तित बनेका छन् । कुटानी र पिसानीका लागि मिलबाट सहज हुने भएकाले  परम्परागत घरेलु प्रविधि लोप हुने अवस्थामा पुगेको स्थानीयको भनाई रहेको छ ।

 स्थानीयका अनुसार परम्परागत सामाग्रीबाट कुटानी पिसानी गर्न लामो  समय लाग्ने र झन्झटिलो हुने गरेको बताउँछन् । परम्परागत सामाग्रीबाट उत्पादित खाद्यान्न स्वास्थ्यका लागि समेत फाइदाजनक भएकाले यस्ता सामाग्रीहरुको संरक्षणका लागि आगामी दिनमा गाँउपालिकाले निती तथा कार्यक्रम बनाई अगाडी बढ्ने माथागढी गाउँपलिकाका अध्क्षय सन्तोष थापाले बताए । उनले भने ‘ स्थानीय प्रविधि लोप हुँदै जाँदा कतिपयको रोजगारी समेत गुमेकाले यस तर्फ गाउँपालिकाले ध्यान दिने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ