- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेताका लागि मतदान भइरहँदा संसदीय दलको बैठक पनि तय भएको छ ।
बैठक सोमबार दिउँसो २ः३० बजे काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ ।
बैठकले नयाँ संसदीय दलको नेतालाई बधाइ दिनुका साथै नेताले पदभारसमेत ग्रहण गर्ने कार्यक्रम छ ।
बैठकमा संसदमा प्रतिपक्षीको हैसियतमा कसरी प्रस्तुत हुने भन्नेबारे समेत छलफल हुनेछ ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाको पहिलो बैठक सोमबारै अपरान्ह ४ बजे बस्दैछ ।
बैठकमा अनिवार्य उपस्थितिका लागि सांसदहरुलाई सूचना समेत जारी गरिएको छ ।
यतिबेला भने नेपाली कांग्रेस संसदीय दलको नेताका लागि मतदान भइरहेको छ ।
मतदान तीव्रगतिमा भइरहेको हो । सोमबारै संघीय संसदको बैठक बस्ने भएकाले पनि नेताहरु छिटोछिटो आफ्नो संसदीय दलको नेता छान्न उत्साही देखिएका छन् ।
निर्वाचन समितिले बिहान १० बजेदेखि मतदान सुरु भएको जनाएको छ ।
५० मिनेटको अवधिमै ३३ मत खसिसकेको छ ।
मतदानको समय दिउँसो १ बजेसम्मलाई रहे पनि छिट्टै सतप्रतिशत मतदान भए तत्कालै गणना गरिने भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री प्रकाशमान सिंहबीच प्रतिस्पर्धा चलिरहेको छ ।
संसदीय दलको नेताका लागि सोमबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मतदान हुँदैछ ।
पहिलो मतदान भने सिंहले गरेका छन् ।
सर्वसम्मतिको प्रयास असफल भएपछि दुवैबीच प्रतिस्पर्धा भइरहेको हो । सिंहलाई वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र देउवालाई आफ्नै
पक्षको समर्थन छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाकोे समूह भने दुवैतिर बाँडिएको बुझिएको छ ।
सिटौलाबाट पनि भीमसेन दास प्रधान खुलेर देउवातिर लाग्दा गगन थापाको समर्थन भने सिंहलाई रहेको छ ।
यसले पनि भिडन्त अझै रोचक हुने देखिएको छ ।
प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद छन् । अंकगणितीय हिसाबले देउवा अगाडि रहेका छन् । उनी बहुमतप्राप्त छन् ।
देउवाका ६३ मध्ये ४० भन्दा बढी सांसद रहेको दाबी गरिएको छ ।
देउवाले यही दाबीलाई आधार मानेर आफूलाई सर्वसम्मत गर्न पौडल पक्षसँग आग्रह गरेका थिए । तर त्यो प्रयास सफल हुन सकेन ।
काँग्रेसभित्र परिवर्तन खोजिएकाले निर्वाचनमा बेहोरेको हारलाई आत्मसात गर्दै देउवाले ठाउँ खाली गरिदिनुपर्ने तर्क गरिएको थियो ।
त्यसैगरी पाँच वर्षसम्म देउवा पुनः प्रधानमन्त्री बन्ने सम्भावना नभएकाले संसदीय दलको नेतामा अरुलाई ठाउँ दिन आग्रह गरिएको थियो ।
देउवा पक्ष भने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीको हारको जिम्मा एक्लै सभापतिले किन लिने रु भन्दै आएको छ ।
दलको नेतामा सर्वसम्मत नभएपछि भने महामन्त्री डा सशांक कोइराला ब्याक बसेका छन् ।