काबेली करिडोर निर्माणको अब म्याद थपिंदैन : कुलमान घिसिङ
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ फागुन २५ शुक्रबार
198
Shares
पाँचथर । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १ सय ३२ केबिए विद्युत प्रशारण लाईन काबेली करिडोर निर्माणको म्याद अब नथपिने बताएको छ । करिडोरको काममा आएका समस्याबारे बुझ्न फिल्डमा निस्किएका घिसिङले शुक्रबार फिदिममा पत्रकारहरु सँग कुराकानी गर्दै आयोजनालाई दोस्रोपटक थपिएको समयभित्रै काम सिध्याउन भनेको बताए । निर्माण कम्पनिले समयमै काम नगरेकाले धेरै समस्या आएको उल्लेख गर्दै घिसिङले भने– ‘यसपल्ट पनि समयमै काम सकेन भने त्यसको जिम्मा उसैले लिनुपर्छ ।’
कार्यकारी निर्देशक घिसिङ सहितको टोलि करिडोरका खास समस्या बुझ्न फिल्डमा निस्केको हो । सो क्रममा शुक्रबार पाँचथरका बिषयगत कार्यालयका प्रमुख, जनप्रतिनिधि र सरोकारवाला सँग घिसिङले कुराकानी गरेका छन् । करिडोरको निर्माण कार्य चाँडै सक्नुपर्छ भन्नेमा सबै सकारात्मक रहेको घिसिङले बताए ।
पत्रकारहरु सँग कुराकानी गर्दै घिसिङले इलाम, पाँचथर र ताप्लेजुङका ३७ साबिकका गाविसलाई बिद्युतको पहुँचमा जोड्न ग्रामीण विद्युतीकरणका लागि एक अर्ब २० करोड रकम बिनियोजन गरिएको बताए । त्यस्तै राष्ट्रिय गौरवको तमोर जलाशययुक्त जलबिद्युत आयोजनाको लागि आफूले गर्नुपर्ने काम सबै गरिसकेको बताए ।
घिसिङले करिडोरको फिदिम–४, थापाटार स्थित सवस्टेशन र निर्माणको अन्तिम चरणमा रहेको तल्लो हेंवा जलविद्युत आयोजनाको अवलोकन गरेका छन् ।