arrow

किम-ट्रम्प वार्ताबारे प्योङयाङको मौनता : कतै आँधीअघिको सन्नाटा त होइन ? 

logo
प्रकाशित २०७४ फागुन २९ मंगलबार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच हुने भनिएको भेटवार्तालाई ऐतिहासिक भनिएको छ । एउटै जंगलका दुई शेरझैं देखिएका यी दुई नेता भेट भएमा सायद इतिहास पनि बन्नेछ, चाहे नतिजा सकारात्मक वा नकारात्मक जेसुकै आओस् । पछिल्लो केही महिनाभित्र यी दुई मुलुवीचको घटनाक्रममा एकपछि अर्को रुपमा विकास हुँदै गएको पनि छ ।

आणविक विकासको होडमा लागेका यी दुई मुलुकले एकले अर्काको देश सिध्याइदिन सक्ने बमको स्वीच आफ्नो टेवलमा छ भनेर धम्की पनि दिए । तर, पछिल्लो समय दक्षिण कोरियाको सक्रियतामा यिनै दुई देशका शीर्ष नेता आमुन्ने–सामुन्ने बस्न तयार भएको खबरले विश्व समुदयलाई नै झड्का दिने तरंग ल्यायो ।

हिजोसम्म उत्तर कोरियाले आफ्ना नेता किमले ट्रम्पसँग भेटेर वार्ता गर्नेबारे एक शब्द चुहाएको छैन । एकदम चुपचाप बसेको र मौनता साँधेको छ । राज्यद्वारा संचालित सञ्चार माध्यमले केही सूचना चुहाएका छैनन् । 

गएको एक महिनायता उत्तर कोरियाले कुनै पनि विदेशी संचार माध्यमलाई ढिम्किन दिएको पनि छैन । दक्षिण कोरियाली अधिकारीहरुले पनि, प्योङयाङले सबै कुरा अँध्यारोमै राख्न थाल्यो भन्न थालेका छन् ।

उत्तर कारिया अमेरिकावीच हुने भनिएको शिखर वार्ताबारे प्योङयाङले आधिकारिक रुपमा केही पनि बोलेको छैन । दक्षिण कोरियाली एकीकरण मन्त्रालयका प्रवक्ता बाइक ताए ह्यूनले हिजै मात्र भने – ‘‘यी सबै कुरा विचार गर्दा प्योङयाङले यो विषयलाई अति साबधानीपूर्वक विचार गरिरहेको र आफ्नाे अडान संगठित गर्नका लागि समय पर्खिरहेको जस्तो देखिन्छ’’।  

सरकारी खबर सार्वजनिक गर्न उत्तर कोरियाली मिडियाले समय लगाउने कुरा खासमा नौलो कुरा होइन । किनकी उत्तर कोरियाी मिडिया राज्यद्धारा संचालित र नियन्त्रित छन्, सबै अखबार, रेडियो, टेलिभिजन प्रसारण र आधिकारिक समाचार एजेन्सी सूचनाको मामलामा विफल पनि हुँदैनन् । दक्षिण कोरियाली एकीकरण मन्त्रालयका प्रवक्ता बाइक भन्छन, ‘‘ती माध्यमलाई सूचना के हुनुपर्छ र के दिनुपर्छ भन्ने निक्र्यौल गर्नै कुनै बेला केही समय लाग्नेगर्छ’’ । 

अर्को कुरा उत्तर कोरिया सरकारले यो अर्थमा पनि ट्रम्पसँगको शिखर वार्ताबारे नबोलेको हुन सक्छ कि शिखर वार्ताको प्रस्ताव फेल खान पनि सक्छ भन्ने लागेको होला । यदि त्यस्तो भएमा उसलाई आफ्नै जनतालाई प्रस्ताव फेल खाएको बुझाउन कठिन पर्नसक्छ । हिजोको दिनसम्म उत्तरकोरियाली सत्तारुढ पार्टीबाट संचालित मुख्य अखबार रोदोङ सिनमूनले, ट्रम्पसँगको शिखर वार्ताका लागि क्षेप्यास्त्र र आणविक परीक्षण रोकनुपर्छ भनेर दक्षिण कोरियाले प्रस्ताव राखेको हो, भनेको छ । यो पत्रिकाले दक्षिण कोरियाली अधिकारीहरुले गएको हप्ता उत्तर कोरिया भ्रमण गरेको विषयलाई खासै भाउ पनि दिएको छैन, केही अनुच्छेद मात्रै लेखेको छ । 

यो अखबारमा नेता किम र ट्रम्पवीच शिखर वार्ता हुने भन्नेबारे केही पनि उल्लेख गरेको छैन। अनि नेता किमले आणविक हतियार त्याग्ने सोचाइ राखेको बारेपनि एक शब्द लेखेको छैन । तर गएको साता प्योङयाङमा भएको भेटवार्तालाई ठूलै घटना हो चाहिँ भनेको छ । 

गएको हप्ता दक्षिण कोरियाली अधिकारीहरुसँग प्योङयाङमा भएको वार्ताबाटै नेता किम र दक्षिण कोरियाली राष्ट्रपति मून जाए इनबीच अर्को महिना (अप्रिल) शिखर वार्ता हुने तय भएको छ । त्यही बैठकमा सहभागी दक्षिण कोरियाली अधिकारीहरु नेता किमको चाहना यो छ है भन्दै वासिङ्टन पुगे र अमेरिकी राष्ट्रपति ट्रम्पले किमसँगको भेटवार्ता तत्कालै स्वीकारे पनि । 

ट्रम्प– किम शिखर वार्ता मे महिनासम्म हुनसक्छ भनिएको छ । तर यो शिखर वार्ताबारे प्योङयाङ चुपचाप बसिदिँदा सिउल र वासिडटनले नेता किमको नियत के होला भन्नेबारे कति ठीक विश्लेषण गरेका होलान् भन्नेमा चाहिँ संशय पैदा भएको छ । 

ट्रम्पसँगको वार्ताबारे प्योङयाङको मौनता यो अर्थमा पनि उदेकलाग्दो छ कि उत्तरले ओलम्पिक कुटनीतिलाई गजबले प्रयोग गरेको थियो । त्यो बेला नेता किमले राष्ट्रव्यापी रुपमा टेलिभिजन माार्फत नयाँ वर्षको सन्देश दिँदै प्योङचाङ ओलम्पिकको शुभकामना सहित सन् २०१८ दुई कोरियाका लागि ऐतिहासिक वर्ष हुनेछ भने ।   

त्यसपछि भएको हिउँदे ओलम्पकिमा उत्तर कोरियाले संसारकै ध्यान खिच्यो । महिला चियर लिडरहरु, पाप गायकगायिका र नेता किमकै वहिनीले पाउनुसम्मको चर्चा पाए । दक्षिण कोरियाली राष्ट्रपति मूनसँगको किमकी बहिनीको फोटो त कोरियाली अखबारमा पहिलो पानामै छापिए । तर उत्तर कोरियाली खेलाडीको प्रदर्शन भने न कुनै पत्रपत्रिकाले छापे न त कुनै माध्यमले प्रशारण गरे । उत्तर कोरियाली खेलाडीको सबैभन्दा ठूलो उपलब्धी भनेको स्केटिङको यूगल प्रतिष्र्धामा तेह्रौं भएका थिए । आफु पछाडी पर्दा उत्तर कोरियाले जनतालाई गुमराहमै राख्ने गरेका कैयौं उदाहरण छन् । यसपाली ट्रम्पसँग हुने भनिएको शिखर वार्ताबारे चुपचाप बस्नु पनि रहस्यमय विषय बनेको छ । कतै आँधी त ल्याउँदैछैन उत्तर कोरियाले ? एजेन्सीहरुको सहयोगमा  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ