बुटवल । कृषि प्रयोजनका लागि नेपाल भित्राइने ट्रयाक्टरमा भन्सार कार्यालयले मूल्य अभिवृद्धि कर (भ्याट) मा वृद्धि गरेपछि रुपन्देहीमा ट्रयाक्टर विक्रीमा कमी आएको छ । गत आर्थिक वर्ष २०७३–०७४ बाट भारत हुँदै नेपाल भित्राइने ट्रयाक्टरको भ्याटमा वृद्धि भएको थियो ।
भ्याटमा वृद्धि भएसंगै ट्रयाक्टरको विक्रीमा कमी आएको व्यवसायीले बताएका छन् । अहिले कृषकले ट्रयाक्टर खरिद गर्दा १ देखि २ लाख रुपैंया सम्म बढी मुल्य पर्न थालेको छ ।
नेपालमा भित्रिने अधिकाशं ट्रयाक्टर कृषि प्रयोजनका लागि मात्र प्रयोग हुने गरेका छन् । सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) लागु गर्ने निर्णय गरे संगै नेपालमा कृषकहरुले मात्र खरिद गर्ने हुँदा ट्रयाक्टरमा भ्याट वृद्धि गर्न नहुने भन्दै व्यवसायीहरुले केही समय भन्सारमा आएका ट्रयाक्टर नेपाल प्रवेश नगराई आन्दोलनमा उत्रिएका थिए ।
तर सरकारले भ्याट हटाउन कुनै प्रयास नगरे पछि व्यवसायीहरुले ट्रयाक्टर नेपाल भित्राएका हुन् ।
गत आर्थिक वर्ष सम्म भैरहवा भन्सार कार्यालयमा १ प्रतिशत भ्याट र ५ प्रतिशत भन्सार महसुल रहेकोमा सरकारले चालु आर्थिक वर्ष देखि ५ प्रतिशत भन्सार महशुल र १३ प्रतिशत भ्याट लिने निर्णय गरेको थियो । भन्सार कार्यालयमा भन्सार शुल्क बढे पनि व्यवसाय भने घटेको व्यवसायीहरु बताउँछन् ।
गत वर्षसम्म साविक लुम्बिनी अञ्चलमा मात्र वार्षिक १२ सय भन्दा बढीको संख्यामा ट्रयाक्टर विक्री हुँदै आएको तर यस वर्षमा २५ प्रतिशत सम्म विक्रीमा कमी आउने लुम्बिनी ट्रयाक्टर व्यवसायी संघका उपाध्यक्ष तथा अम्बु मार्केटिङ्ग भैरहवाका निर्देशक परशुराम पराजुलीले बताए ।
भन्सारमा आयात भन्दा राजस्व बढी भएको र गत आर्थिक वर्षको विक्रीको आधारमा भारतमा अर्डर गर्ने भएकाले यस वर्ष विक्रीमा कमी आए पनि आयात भने नघटेको हुन सक्ने पराजुलीले जानकारी दिए ।
व्यवसाय सञ्चालनको लागि बैंकबाट लिइएको ऋण र गोदाममा ट्रयाक्टर थन्किदा व्यवसाय सञ्चालन गर्न निकै नै गाह्रो भएको उनले बताए ।
चालु आर्थिक वर्षमा भ्याटमा वृद्धि भएसंगै भैहवा भन्सार कार्यालयबाट नेपाल भित्राइने ट्रयाक्टरमा कमी आएको भैरहवा भन्सार कार्यालयका सुचना अधिकृत कलिराम पौडेलले बताए ।
गत आर्थिक वर्षको तुलनामा राजस्व संकलमा वृद्धि भए पनि ट्रयाक्टरको आयातमा कमि भएको उल्लेख गरे । भैरहवा भन्सार कार्यालय बेलहिया हुँदै गत वर्ष २ हजार ५ सय ९३ वटा ट्रयाक्टर नेपाल भित्रदा भन्सार कार्यालयमा ९ करोड ७९ लाख राजस्व संकलन भएको थियो ।
चालु आर्थिक वर्षमा भने १७ सय ९२ वटा ट्क्यटर नेपाल भित्रिएका छन्, जसबाट ३० करोड १९ लाख राजश्व संकलन भएको छ ।
नेपालमा महिन्द्रा, सोनालिका, सोराज, न्यू होलान, र फार्मट्रयाक लगायतका ट्रयाक्टरको विक्री वितरण हुँदै आएको छ ।