- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । शब्द संघर्ष गरेर सृजनाका विविध रुप पस्किनेहरु आफैमा अद्भुद मानिन्छन् । त्यसमा पनि मन छुने सृजनाको वजन अड्कल्न सकिँदैन ।
अर्कोतिर, साहित्य समाजको ऐना हो भनिन्छ । समाजमा जे देखिन्छ, जे भोगिन्छ, त्यही नै साहित्यकारहरुले सभ्य, शिष्ट, आकर्षक भाषा र लयमा कविता, गजल, कथा, उपन्यासमा उतार्छन् । मानवीय अभिरुचिलाई पटक्कै भुल्दैनन् । त्यसैलेले साहित्यकारलाई पनि भनिएको होला अद्भुद । साहित्य सृजना गर्न न उमेरले छेक्छ, न समयले । बालक होस् वा प्रौढ उत्तिकै मार्मिक साहित्यिक सृजना गर्छन् । त्यसैको पछिल्लो उदाहरण हुन्, ‘कवि मुकुन्द पौडेल ।’ उमेरलाई अंक गणितमा ढाल्ने हो भनेपनि ६० (छ दशक) कटिसके, उनी ।
हालै दुईवटा कृति सार्वजनिक गरेका छन् । आफ्नो ३८औँ वैवाहिक वर्षगाँठको अवसर पारेर उनले (फागनु २७)गते नेपाली साहित्य भण्डारमा मझधार (कविता संग्रह) र मन सिन्धु (मुक्तक संग्रह) थपेका छन् । उनका कविता र मुक्तकमा जति प्रेम भावनाका छन् त्यत्ति नै मुलुकको चिन्ता र प्रकृति प्रेममय छन् ।
कवि पौडेलको युग नै ‘मझदार र मन सिन्धु’ हो भन्दा फरक पर्दैन । उनले आफ्नो बाल्यकालदेखि जागिरे जीवन हुँदै सेवानिवृत्त हुँदासम्म मुलुकले भोगेको अवस्था, समाजमा भएका घटना, राजनीतिक अस्थिरता, द्वन्द्व, हिंसा, असुरक्षा, संस्कृतिको नाम भएको विकृतिसँगै प्रकृतिले दिएको उपहार आफ्ना सृजनामा उतारेका छन् ।
विभिन्न छन्दलाई पछ्याए पनि स्वयम् कविता भने कुनै छन्दामा छैनन्, तर छन्दोबद्ध र लयात्मक छन् । अनुप्रास मिलेकाले सुमधुर छन् । कतै माया प्रेमका त कतै व्यंग्य पनि गरेका छन् कवि पौडेलले । मझधार र मन सिन्धु विषयका हिसाबले विविधतायुक्त कृति हुन् । विद्यार्थी जीवनमा कविताले लेखेर पुरस्कार थापेपनि जागिरे जीवनमा साहित्य सृजनामा निष्क्रिय रहेका उनले पछिल्लो तीन वर्ष यता लेखेका कविता, गीत, गजल, हाइकु र मुक्तकलाई ‘मझधार’ र ‘मन सिन्धु’मा समेटेका छन् ।
मुलुकमा पटक पटक भएका क्रान्ति र राजनीतिक उपलब्धी भएपनि जनताको समस्या समाधान नभएको तर्फ कवि पौडेलले आफ्नो कविता मार्फत असन्तुष्टि पोखेका छन् । मीठा मीठा र आकर्षक भाषण गरेर जनताको समस्या समाधान गर्न नसकेका नेताहरुप्रति भएका क्रान्तिबारे उनले प्रश्न गरेका छन् ।
खान अझै आधी पेट छ लाउन छैन बस्त्र
तै नि किन यी दुःखीलाई बनाउँदैछन् अस्त्र
मीठा मीठा सपना बाँडी छरी मन्मा भ्रान्ति
हैन अझै गर्न खोज्या हो यो कस्तो क्रान्ति ?
नेताहरुले सत्ता केन्द्रित राजनीति गर्दा जनताको समस्या समाधान नभएको कवि पौडेलको तर्क छ । यस तर्फ उनी भन्छन् :
सत्ता भन्ने चिजै यस्तै, मौरी भुले रसमा
आज आफू आफैं छैनन्, पराईको बसमा
काम गर्ने हैनन् यिन्ले , मात्रै जनता भजाई
सत्ताको नै छिनाझम्टी, अनि आफ्नो रजाईं
भाषण र बाहिरी आवरणले राजनेता नबन्ने, यसका लागि कर्म चाहिने कवि पौडेलका कवितामा भेटिन्छन् । बाहिरी आवरणले राजनेता बन्ने भए धेरै बनिसक्ने यो कवितामा भनिएको छ :
धोती लगाउँदैमा गान्धी जस्तै बन्ने भए
टोपी लगाउँदैमा सबै वी.पी. बन्ने भए
आज सबैले लगाउँदा हुन् धोती र टोपी
आदर्शवादी त्यस्तै राजनेता बन्ने भए
कविमा निराशा र असन्तुष्टि मात्रै छैनन्, आशावादी पनि देखिएका छन् । संविधान जारी भएपश्चात मुलुकमा सबै तहको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा भएको हार र जितलाई सामान्य रुपमा स्वीकारेर नेताहरुले अब मुलुकको विकास र समृद्धि गर्नुपर्ने कवि पौडेल जोड दिन्छन् । मझधार कविता संग्रहमा समेटिएको यो हाइकु :
गयो चुनाव
कहीँ हार कहीँ जित
समृद्धि देऊ