तिखेढुंगा–भुरूङ तातोपानी सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिने
प्रकाशित २०७५ वैशाख २१ शुक्रबार
890
Shares
बेनी, म्याग्दी। कास्कीको तिखेढुङ्गाबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिकासम्म सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिने भएको छ। छिमेकी राष्ट्र भारत र चीन जोड्ने अन्तरदेशीय सञ्जालअन्तर्गत व्यापारिक दृष्टिकोणले महत्वपूर्ण मानिएको तिखेढुंगा–भुरूङ तातोपानी सुरुङ मार्गको चालू आर्थिक वर्षभित्र सम्भाव्यता अध्ययत पूरा गर्ने गरी बजेटमा प्राथमिकता दिइएको छ।
प्रदेश नं ४ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरूङले बुधबार प्रस्तुत गर्नुभएको आव २०७४-७५ को बजेटमा दुई जिल्लालाई छोटो दूरीमा जोड्ने सुरूङ मार्गको सम्भाव्यता अध्ययन सकिएपछि प्राथमिक योजनामा राख्ने पहल भइरहेको जानकारी दिए।
कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुंगाबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानी जोड्ने सुरूङमार्गले चीनको तिब्बतबाट सिधा भारतको सुस्तासम्म जोड्ने बेनी–जोमसोम–कोरला नाकाको मात्र विकल्प नभई तिब्बतबाट नेपाल र भारतका लागि लोड गरिएका कन्टेनरका लागिमात्रै प्रयोग गरिने गरी प्रस्ताव भएको कास्की अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बताए।
“यो सडक सञ्जालको विकल्प होइन्, दुई छिमेकी देश जोड्ने गौरवको आयोजना हुनेछ”, कुँवरले भने। उनले तिब्बतको कोरला नाका खुलेपछि चीन जोड्ने अन्य नाकाभन्दा पनि कोरला नाकालाई प्रभाबकारी बनाउनसमेत सुरुङमार्ग महत्वपूर्ण हुने बताए।
सुरुङ मार्गबाट यात्रुको आवतजावतमा कम प्राथमिकता दिनुपर्नेमा जोड दिंदै उनले कन्टेनरलाई छोटो दूरीको मार्ग प्रयोग गर्दा अन्तर्राष्ट्रिय व्यापारी र लगानीकर्तासमेत आकर्षित हुने बताउँदै कास्की, पर्वत, बागलुङ र म्याग्दीलाई सुरुङ मार्गको विस्तारबाट लगानी भित्र्याउनसमेत सहज हुन्छ बताए । हाल करीब ६७ किलोमिटर दूरी रहेको तिखेढुंगा–तातोपानीको दूरीलाई सुरुङ मार्गले सात किलोमिटरमा समेट्ने छ। रासस