arrow

बिश्व उच्च रक्तचाप दिवसः सुषुप्त हत्यारा रोगका रुपमा बढ्दै

हरेक ३ बयस्क मध्ये एकजनामा उच्चरक्तचाप

logo
प्रकाशित २०७५ जेठ ३ बिहिबार
blood-pressure.JPG

काठमाडौं । बिहिवार बिश्व उच्च रक्तचाप अर्थात् हाई ब्लडप्रेसर दिवस मनाइदैछ । मुटुसँग सम्बन्धित उच्च रक्तचाप विश्वकै समस्या हो । यो रोग आधुनिक सभ्यताका कारण मानसिक तनाव र जीवनशैलीमा आएको परीवर्तनको नतिजा हो । उच्च रक्तचापसम्बन्धी जनचेतना जगाउने उद्देश्यले हरेक वर्ष १७ मे का दिन विश्व उच्च रक्तचाप दिवस मनाइन्छ । बिश्वका जनसंख्यामा उच्चरक्तचापबारे जनचेतना जगाउदै आफनो रक्तचापबारे थाहा पाउ भन्ने यस बर्षको  नारा तय गरिएको छ।

यो दिवसको मुख्य उद्देश्य रोगबारे जनचेतना अभिवृद्धि गराई उच्च रक्तचाप रोकथाम, परीक्षण र उपचारका लागि अभिप्रेरति गर्नु तथा त्यसका कारण हुनसक्ने मस्तिष्कघात, पक्षघात,ह्दयाघात र मृगौलाको खराबीजस्ता रोगहरूको रोकथाम गर्नु हो ।

करीब ५० प्रतिशत व्यक्तिहरूमा उच्च रक्तचापको लक्षण नदेखिने भएकाले तथा पछि ह्दयाघात, पक्षघात, मृगौला फेलरजस्ता गम्भीर असर गर्ने भएकाले यो रोगलाई सुषुप्त हत्यारा अर्थात् ’साइलेन्ट किलर का रूपमा लिइन्छ। मुटु तथा रक्तनलीका विभिन्न रोगहरूमध्ये उच्च रक्तचाप संसारमा नै सबैभन्दा बढी देखिएको समस्या हो। उच्च रक्तचाप मुटु, रक्तनली , ह्दयाघात तथा मृगौला फेलरको प्रमुख कारक हो। त्यस्तै यो रोग कम उमेरमा हुने मृत्यु र अचानक हुने मृत्युको प्रमुख कारक तत्व हो।

विश्वमा पौने २ अर्ब अर्थात् २५ प्रतिशत जनसंख्या उच्च रक्तचापले ग्रस्त छन भने उच्च रक्तचापका कारण वाषिर्क ७२ लाखको मृत्यु भइरहेको छ।  विश्व स्वास्थ्य संगठनका अनुसार, सन् २०२५ सम्म प्रत्येक पाँचमा एक जनालाई उच्च रक्तचाप हुनेछ। विकसित देशमा ३० प्रतिशतलाई यो रोग लागेको थाहा छैन भने १५ प्रतिशतले थाहा भए पनि उपचार गरेका छैनन भने २५ प्रतिशतले उपचार गरे पनि रक्तचाप नियन्त्रणमा छैन र ३० प्रतिशतले मात्र यसको सही उपचार लिइरहेका छन्।

नेपालमा सन् १९८१ मा काठमाडौंमा गरिएको एक अध्ययनमा उच्च रक्तचाप ६ प्रतिशतमा देखिएको थियो ।हालका वर्षहरूमा गरिएका उच्च रक्तचापसम्बन्धी अध्ययनहरूअनुसार हाम्रो देशमा १८ वर्षभन्दा माथिका वयस्कहरूमा २० प्रतिशतभन्दा बढीलाई उच्च रक्तचापको समस्या देखिएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक तीन जना मध्ये एक जना वयष्क मानिसमा उच्च रक्तचापको समस्या छ । हरेक १० जनामा एक जनालाई २० देखि ३० वर्षमा तथा हरेक १० मा पाँच जनालाई ५० वर्षमा उच्च रक्तचापको समस्या देखापर्छ । नेपालको कुल जनसंख्याको २० देखि ३० प्रतिशतमा उच्च रक्तचापको समस्या रहेको छ । आधुनिक जीवनशैलीमा बढ्दो मानसिक तनाव, कम शारीरिक परिश्रम, मध्यपान, धुमपान, नूनको अत्यधीक प्रयोग लगायतका कारण उच्च रक्तचापको समस्या बढ्दै गएको चिकित्सकहरुले बताएका छन् ।

सामान्यतः कुनै लक्षण नदेखिने उच्च रक्तचाप आफैमा रोग नभएपनि यसका कारण ह्रदयाघात, मष्तिष्कघात, मृगौला फेल हुने, दृष्टि गुम्ने जस्ता जोखिम उत्पन्न हुने गर्छ । त्यसैले न्यूनतम वर्षमा दुई पल्ट र अधिकतम पाँच पल्ट सम्म रक्तचाप जाँच गर्ने, जीवनशैलीमा सुधार गर्ने हो भने उच्च रक्तचापको जोखिमबाट जोगिन सकिने चिकित्सकको सुझाव छ । उच्चरक्तचाप भएकाहरुले भने समयमै औषधी सेवन गरी पटक पटक परिक्षण गर्नुपर्ने चिकित्सकको जोड छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ