स्याङ्जाका मुख्य बजारमा अनुगमन, व्यापारीको कालोबजारी छ्याप्छ्याप्ती
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ जेठ ११ शुक्रबार
357
Shares
स्याङ्जा । स्याङ्जाका मुख्य बजारमा गुणस्तर तथा नाप तौल कार्यालय पोखराले अनुगमन गरेको छ । जिल्ला सदरमुकाम पुतलीबजार र जिल्लाको मुख्य व्यपारीक केन्द्र वालिङमा अनुगमन गरिएको हो । गुणस्तर तथा नाप तौल कार्यालयको सहित प्रशासन, नगरपालिका, उद्योग वाणिज्य संघ, पत्रकार र नागरिक समाज सहितको टोलीले दुई मुख्य बजारमा अनुगमन गरेको हो ।
अनुगमनका क्रममा विभिन्न प्रकृतिका ५ पसल अनुगमन गरेको थियो । टोलीले हार्डवयर, सुनचाँदी, पेट्रोल पम्प, भाडा तथा ग्यास र खाद्यन्न पसलहरुमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा पुतलीबजारमा म्याद गुज्रिएको कोल्डड्रिक ठुलोमात्रमा नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालय स्याङ्जालाई बुझाएको बताएको छ । यता जिल्लाकै मुख्य व्यापारीक केन्द्र वालिङमा हार्डवयर र खाद्यन्नबाट ठुलो परिणामको म्याद गुज्रेको पेन्ट र खाद्यन्न नियन्त्रणमा लिएको छ ।
मौसमी अनुगमनले गर्दा व्यापारीले कालोबजारीको मौका पाएको स्थानीय उपभोक्तहरुको भनाई छ । हार्डवयर पसलहरुमा म्याद गुज्रेका पेन्ट, डिजिटल व्यालेन्स(काटा) समेत तलमाथी भएको फेला पारेको छ । फलामका डण्डीको तौल कमी, सिमेन्टको क्वालिटी र तौलमा समेत फरक देखिएकाले सबै नियन्त्रणमा लिएर तत्काल विक्रि वितरण नगर्ने गरी ७ दिनभित्र कार्यालयमा हाजिर हुन पुर्जि समेत थमाएको छ ।
सिमित कर्मचारी र बढ्दो बजारीकरणले अनुगमन गर्न कठिनाईले व्यापारीले कालोबजारी गर्न तल्लिन भएको गुणस्तर तथा नाप तौल विभाग पोखराका प्रमुख मनोजकुमार पोखरेलले स्विकार गरेका छन् । उपभोक्त पनि चनाखो बनेर कालोधन्दा रोक्न आग्रह गर्दै पोखरेलले भने यो अनुगमन एउटा सिम्पल मात्र हो । अर्कोपटक यस्ता घट्नाहरु दोहोरीएमा पसलनै बन्द हुने चेतावनी दिए ।
अनुगमन टोलीले स्याङ्जाका दुईदिनमा १५ पसलमा अनुगमन गरेको थियो । सबै भन्दा बढी लापरवाहि हार्डवयर र खाद्यन्नमा हुने गरेको टोलीको ठम्याई रहेको छ । नियन्त्रणमा लिइएको सामाग्री जिल्ला प्रशासन कार्यालय स्याङ्जा र इलाका प्रशासन कार्यालय वालिङ्मा राखिएको छ । बरामद भएका सामाग्री केहीदिनमा नष्ट गर्ने इलाका प्रशासन कार्यालय वालिङका प्रमुख दामोदर शर्माले बताए । अनुगमनको मात्रै भर नपरेर सामाग्री किन्दा पनि उपभोक्ता पनि चनाखो बनिदिन शर्माले आग्रह गरेका छन् ।
उपभोक्ताले खरिद गर्दा कैफियत देखिएको सामाग्री फेला परेमा तुरुन्त प्रशासनमा खवर गर्न पनि शर्माको आग्रह छ । मौसमी अनुगमनले कालोबजारीमा मौलाउदै गएको यो अवस्थामा सामाग्री उपभोग गर्ने उपभोक्ता कति ठगिएका होलान भन्ने सिमित पसल अनुगमनले देखाएको छ । यसलाई स्थानीय स्तरबाटै भएपनि अनुगमनलाई निरन्तरता दिनुपर्ने देखिन्छ ।