कलंकी–नागढुंगा सडक निर्माणमा भएको लापर्बाहीको छानबिन हुन्छ : गृहमन्त्री
प्रकाशित २०७५ जेठ १४ सोमबार
340
Shares
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले कलंकी–नागढुंगा सडक निर्माणमा भएको लापर्बाहीको छानबिन हुने बताएका छन् ।
सोमवार यहाँ चन्द्रागिरि नगरपालिकाले आयोजना गरेको कार्यक्रमका सहभागीले सो सडक निर्माणमा भएको ढिलाइका कारण विभिन्न समस्या भोग्नुपरेको बताएपछि गृहमन्त्रीले छानविनपछि दोषी देखिए ठेकेदारलाई कारबाही हुने बताएका हुन् ।
गृहमन्त्री थापाले समयमा विकास निर्माणको काम सम्पन्न नगर्नु भ्रष्टाचार गरेको सरह नै भएको उल्लेख गर्दै यो कुरा सरकारलाई स्वीकार्य नहुने स्पष्ट पारे। गृहमन्त्रालयले देशभरबाट विकास निर्माणमा भइरहेको ढिलाइको विवरण संकलन गरिरहेको छ, उनले भने, “प्राप्त विवरणका आधारमा छानबिन गरी दोषीमाथि कारबाही गरिनेछ ।”
सो अवसरमा गृहमन्त्री थापाले चन्द्रागिरि नगरपालिका वडा नं २ लाई निःशुल्क वाइफाइ क्षेत्र घोषणा गरिनुका साथै सो वडामा स्वास्थ्य चौकी भवनको शिलान्यास गरे। यसैगरी उनले सो वडामा आयोजित महिलाका लागि शीपमूलक तथा आयमूलक तालीम कार्यक्रममको पनि आजै उद्घाटन गरे। रासस