- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बझाङ । खेर गएको पिसाब संकलन गरी यहाँका एक कृषकले तरकारीखेती गरेका छन् । थलारा गाउँपालिका–६ का हर्कबहादुर विष्टले खेर गएको मान्छेको पिसाब संकलन गरी भाडाको जग्गामा तरकारीखेती गर्न थाखेका हुन् । मान्छेको पिसाब खेर गएको छ, खेर गएको पिसाबलाई संकलन गरेर आफूले एक वर्षदेखि संकलन गरी तरकारीमा प्रयोग गर्न थालेको उनले बताए ।
हर्कबहादुरले भने अरुले छिछी र दुर्दुर गर्छन् तर मैले विद्यालय, क्याम्पस र बैठक गोष्ठी हुने ठाउँमा पिसाब संकलन गर्ने चर्पीमा प्लाष्टिक जर्किन राख्ने गरेको छु । गाउँमा बसेर आत्मनिर्भर हुने उद्देश्यले सात वर्षदेखि सप्रोस नेपालमा जागिर गर्दै आएको भए पनि आफूले जागिर छोडेर तरकारीखेतीमा लागेको उनको भनाइ थियो ।
गाउँमा हरियो तरकारी कतै देख्न पाइँदैनथ्यो सबैले हिउँदमा हरियो तरकारीका रुपमा तोरी र सिस्नुबाहेक अरु केही लगाउँदैनथे । बर्खायाममा आलु, गाँठे मुला फर्सीमात्र लगाउने गरेको थिएँ दुई वर्षदेखि पाँच रोपनी जमिनमा वार्षिक १२ हजार भाडामा लिए र आफूले मौसमी र बेमौसमी दुवैखाले तरकारीखेती गर्न थालेको जानकारी दिंदै हर्कबहादुरले भने, मैले गाउँमा शुद्घ अर्गानिक तरकारीखेती गर्ने गरेको छु । शुरुका दिनमा मान्छेको पिसाब तरकारी बारीमा प्रयोग गरेको देखेर सबैले कुरा काट्ने गरेका थिए ।
कतिले त चर्पीमा राखेको जर्किनमा जम्मा भएको पिसाबसमेत फुटाइदिने गरेका थिए तर अहिले सबैले राम्रो काम गरेको भन्दै प्रशंसा गर्ने थालेका छन् । अरुले सार्वजनिक चर्पीमा पिसाब गरे पैसा लिन्छन् मैले स्यावास दिने गरेको छु । व्यक्तिगत चर्पीमा २० लिटर पिसाब जम्मा गरिदिनेलाई बारीमा फलेको काँक्रो, जुगेनी फसीर्, एक मुठी रायो र मुला दिने गरेको छु । तरकारीबारी नजिकै ठूलो ड्रम राखेको छु हप्ताको एकपटक चर्पीबाट ल्याएको पिसाब त्यसैमा जम्मा गरेपछि एक लिटर पिसाबमा चार लिटर पानी मिसाएर तरकारीको बोट वरिपरि राख्ने गरेको छु सबैभन्दा तरकारीका लागि पिसाब राम्रो हुन्छ ।
गैरसरकारी संस्थाको जागिर छोडेर आफूलाई पछुतो नभएको र वार्षिक तरकारीखेतीबाट रु दुई लाखभन्दा बढी घरमै बसेर आम्दानी लिने गरेको उनको भनाइ थियो ।
हर्कबहादुरले बारीमा अहिले जगुने, प्याज, टमाटर, खुर्सानी र काँक्रा लगाएका छन् । थलारा गाउँपालिकाको नमूना कृषक भएकाले आफूले तालीम र प्लाष्टिक टनेल हाउससँगै तरकारीको बीउ सहयोग गरेको ग्रामीण जलस्रोत परियोजनाले जनाएको छ । रासस